
नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल तथा युकेजीको नाम गिनिजमा दर्ता
नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।
सर्वाधिक उचाईंको स्ट्याण्ड-अप कमेडी शो को विश्व किर्तिमान तोड्नका लागि गत बैशाख २० गते सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरी नेपग्याजमको प्राविधिक टोली कालापत्थरतर्फ प्रस्थान गरेको थियो । टोलीमा विश्व किर्तिमान कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष कुमार देवकोटा, निर्देशक ज्ञानेन्द्र मिश्र, निर्माता आशिष शाही, छायाँकार आशु बस्नेत, अल्टिच्यूड तथा ट्राभल एक्सपर्ट दिपक थापा, लोकपथ डटकमका सिइओ तथा पत्रकार रमेश जमकटेलसहितको कलाकारद्वय लेखमणी त्रिताल तथा उमेश कुमार गौतमको सहभागीता रहेको थियो ।

इटालीका हास्य कलाकार तथा रेडियोकर्मी पाउलोले उनीहरुले फ्रान्सेस्चिनीले २०१९ को अप्रिल २५ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथा आधारशिविरको ५ हजार २७० मिटरको उचाईँमा स्ट्याण्ड-अप कमेडी प्रस्तुत गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरेका थिए ।
हिजो गिनिज बुक अफ वर्ल्ड रेकर्डले आफ्नो आधिकारीक वेबसाइट मार्फत इटालियन कलाकार पाउलोले राखेको विश्व किर्तिमानको रेकर्ड तोड्दै नेपालका कलाकारद्वय लेखमणी त्रिताल तथा उमेशकुमार गौतमद्वारा नेपालको कालापत्थरमा ५ हजार ३०२ मिटरको उचाईंमा स्ट्याण्डअप गर्दै नयाँ किर्तिमान कायम गरेको आधिकारीक सामाग्री सार्वजनिक गरेको थियो ।
Highest altitude stand-up comedy gig on land
संचारकर्मी तथा नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्र मिश्रले लाइभमाण्डूसँग कुराकानीको क्रममा, “यो सफलता केवल Nep-Gasm कमेडी टोलीको मात्र हैन, यो सफलता नेपाली हास्यकलामा अहोरात्र खट्ने हाम्रा अग्रज तथा उदयीमान नयाँ कलाकारहरुको पनि हो । जसले देशको, समाजको, राजनीतिको, खुशीको तथा आँशुको कुरा हास्यविधामार्फत कहिल्यै बोल्न छाड्नुभएन । हसाउँदै बेथिती तथा भ्रष्टाचार विरुद्ध लड्ने ति तमाम हास्य कलाकारहरुप्रति यो विश्व किर्तिमान हामी समर्पण गर्न चाहन्छौं ।”
अर्का संस्थापक निर्देशक शरद श्रेष्ठ भन्नुहुन्छ, “यो उपलब्धीले हामी हौसिएका छौं, नेपाली स्ट्याण्ड-अप कमेडीलाई विश्व बजारमा चिनाउने यो एउटा उत्तम समय हो । स्वास्थ्य संकटको यस विसम परिस्थितिका बेला घरमा पारिवारिक समय बिताइरहनुभएका हाम्रा आदरणीय दर्शकहरुप्रति हामी यो समर्पण गर्दछौं । यो उपलब्धिले नेपाली स्ट्याण्ड-अप कमेडीको सामाग्री विश्व बजारमा पुर्र्याउन मद्दत गर्नेछ । हाम्रा सम्पूर्ण प्रायोजक, सह-प्रायोजक, शुभेच्छुक तथा सहयोगीमनहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।”