जीडीपी वृद्धिदरबाहेक अर्थतन्त्रका सबै सूचक राम्रो रहेको सरकारको दावी


काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदरबाहेक अर्थतन्त्रका बाँकी सबै सूचक सकारात्मक रहेको दावी गरेको छ ।

शुक्रबार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राखेको करिब ४ प्रतिशतको संशोधित आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने बताए ।

तर आर्थिक वृद्धिदरबाहेक मुुलुकको समग्र अर्थतन्त्र भने गतवर्षको तुलनामा ‘संयमित र सन्तोषजनक’ अवस्थामा रहेको उनको दावी छ ।

सोही कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुंगानाले कोभिड १९ महामारीको दोस्रो लहरका कारण अर्थतन्त्रमा केही चाप तथा चुनौती थपिए पनि गतवर्षको जस्तो गम्भीर संकुचन नदेखिने बताए ।

‘हामीले जीडीपीको वृद्धिदर लक्ष्य ७ प्रतिशत राखेकामा त्यो लक्ष्य नभेटिने हुँदा त्यसमा मात्रै हामी पछाडि छौं । अर्थतन्त्रका अरु सूचकहरुमा हामी कम्र्फटेबल जोन मै छौं,’ सचिव ढुंगानाले भने ।

सचिव ढुंगानाले विदेशी विनिमयको सञ्चिति सबल रहेको, मुद्रास्फिती नियन्त्रित अवस्थामा रहेको, वैदेशिक व्यापारमा परिसूचकहरु सकारात्मक रहेको, वैशाखसम्मको राजस्व संकलन लक्ष्य अनुरुप नै रहेको, रेमिट्यान्स बढेको र बजेट खर्च पनि गतवर्षको तुलनामा केही बढेका कारण अर्थतन्त्रमा ठूलो असर नदेखिने दावी गरे ।

त्यस्तै सरकारको चालु खाता घाटा बढेको भएपनि नियन्त्रित सीमाभित्रै रहेको अर्थसचिव ढुंगानाको भनाइ छ ।

‘चालु खाता घाटा नियन्त्रित अवस्थामै छ । हाम्रा रियालबल कार्यक्रमहरु सञ्चालन गर्नका लागि केही असर गर्न सक्ने अवस्था छैन,’ सचिव ढुंगानाले भने, ‘यसको अर्थ के हो भने यसबाट सिर्जना हुने प्रतिकुलतालाई व्यवस्थापन गर्ने सकिने गरी निजी क्षेत्रको विश्वास आर्जन गर्न सक्ने गरी र अर्थतन्त्रमा पार्न सक्ने थप चापलाई व्यवस्थापन गर्न सक्ने अवस्थामा हामी छौं ।’

चालु आर्थिक वर्षका लागि सरकारले ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने संशोधित लक्ष्य राखिएकोमा उक्त लक्ष्य हासिल गर्न भने नसकिने अर्थमन्त्री खतिवडा र अर्थसचिव ढुंगानाले स्वीकारेका छन् ।

कोभिड १९ महामारीको दोस्रो लहरका कारण अनुमानित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न गाह्रो उनीहरुको भनाइ छ ।


Loading comments...