chaugoth

लुकाइएको ‘छाउगोठ’


सञ्जु पौडेल, अछाम । मैले सानै छँदा देखि सुदुर पश्चिमको पहाडी जिल्लामा छाउपडि प्रथाले जरा गाडेको सुन्दै आएकी थिए । छाउपडि प्रथाबाट अछाम जिल्ला पनि अछुत नरहेको भन्ने राम्ररी थाहा थियो । यसै क्रममा यस पटक विशेष कारणवश अछाम जिल्लाको पञ्चदेवल नगरपालिका स्थित लामिगाडा भन्ने गाँउको प्रत्यक्ष रुपमा अवलोकन गर्ने मौका पाए । त्यस क्षेत्रमा मैले सञ्चार माध्यममा सुनेको, पढेको जस्तो छाउपडि गोठ कहि कतै नदेख्दा छाउपडि प्रथामा सकरात्मक सुधार भएको थाहा पाउदा मनै मन धेरै खुशी लागेको थियो ।

वरिपरि ठूल ठूला पहाड, नजिकै मध्यपहाडी लोकमार्गको छेउमा रहेको लामिगाडा गाँउ जँहा सबै गाउँलेहरु आपसमा निकै मेलमिलाप तथा सौहार्दपूर्ण व्यवाहार प्रष्ट रुपमा देख्न सकिन्छ । सबैको घरमा सुन्तला, मौसमी लगायतका लटरम्म फलेका फलफुलहरु अनि गाँउको बीच बीचमा भएका सार्वजनिक धारामा आउने कलकल पानीको आवाजले यस गाँउको बाटो भएर हिड्ने जो कोहि बटुवाको पनि मन लोभिन्छ । अछाम जिल्लामा छाउपडि प्रथाको बारेमा विभिन्न नकरात्मक टिका टिप्पणी सुनिने भएता पनि सो गाउँ भरिमा कसैको घरमा पनि छाउपडि गोठ देख्न पाइदैन ।

छाउपडि कु–प्रथाले जरो गाडेको स्थानीय समाजमा मानिसहरुले छाउपडि गोठ हटाएको देख्दा निकै खुशी लागेको थियो । वर्षौ देखि छाउपडि कु–प्रथाको कारणले परिचित यस क्षेत्रमा सकरात्मक सुधार भएको आफ्नैं आँखाले प्रत्यक्ष देख्न पाएपछि खुशी नहुने त कुरै भएन । लामिगाँडामा नियमित आवत–जावत गर्ने क्रममा स्थानीय उजेली धामीले खेतमा बसेर सुख्खा रोटी खाएको देखेपछि नजिकै गएर कुराकानी गर्न मन लागेपछि पानी खाने बाहानाले उजेलीको छेउमा गएर खेतमा बसेर खाना खानुको कारण सोधे पछि उनी छाउ (महिनावारी) भएले खेतमा बसेर खाना खान खाएको कारण बताइन् । उनको कुरा सुनेपछि मैले छाउपडि प्रथा तथा गोठको बारेमा थप जानकारी लिने उद्देश्यले जिज्ञासा राखेपछि उनले आफ्नो भनाई स्थानीय भाषामा यसरी राखिन् । “हाम्रा गाँउमा कसैको घरमा पनि छाउपडि गोठ छैनन्, हामी सबै राती आफ्नै घरमा सिन्छौं । घरै सिए पनि तर त्यहि कोठामा घाँस, दाउरा राख्ने चलन छ । बाहिरका मान्छेलाई घरै सिनाछु भने पनि त्यो कोठा अघिपछि काम हुँदो नाई । म पनि भैसी गोठको पल्लो पट्टि रहेको घाँसहरु राखिएको कोठामा सिएकी छु । आज तीन दिन भयो, म अब दुई दिन पछि मेरो घर भित्र जान पाउने छु ।”

मैले जुन गाँउमा छाउपडि गोठ नभएको देख्दा हर्षित भएका थिए, उजेलीको कुरा सुने पछि छाँगाबाट झरे सरह भए । त्यस ठाँउका लागि उजेली त एउटा प्रतिनिधी पात्र मात्र थिइन् । गाँउका अधिकांश व्यक्तिहरु परिवारमा केहि साह्रो, गाह्रो भएमा, घरमा सर्प आएमा वा टोकेमा, गाई भैसीले दुध कम दिएमा लगायतका घटना आदिमा घरका महिलाले महिनावारी हुँदा लापवार्हि गरेको हुनाले त्यस किसिमको घटना भएको भन्दै महिलालाई नै दोष दिइने गरेको पनि स्थानीय रत्ना देवी धामीले बताउँदै गर्दा म भने अछामकै २४ वर्षिया गौरी बुढालाई सम्झिदैं थिए, जो आफू स्वयम् सामाजिक अभियन्ता पनि थिइन्, उनको गत वर्ष छाउपडि गोठमै मृत्यु भएको थियो । रत्ना आफ्ना भनाईलाई थप स्पष्ट पार्न यसो भन्दै थिइन् भने म चाहि चुपचाप लुकेको छाउगोठ अनि लुकाईएको छाउपडि कु–प्रथाका बारेमा रत्ना देवीको कुरा सुनिरहेकी थिए , उनी भन्दै थिइन् कि, “त्यसरी घर परिवारमा कुनै अपृय घटना घटेको खण्डमा परिवारका महिला सदस्यहरुलाई महिनावारी भएको समयमा अझ राम्ररी बार्नु, घर भित्र नजानु आदि भनि थप आदेश हुने गर्दछ ।”

शिक्षा, प्रविधिको विकास तथा समयको गतिशिलतासँगै, संसारमा धेरै विकास भइसकेको छ । कुनै पनि महिला महिनावारी हुनु भनेको उनी आमा बन्न सक्षम छिन् भन्ने प्रकृतिले दिएको प्रमाण हो । तर त्यहि प्रमाणलाई हाम्रो समाजमा व्याप्त रहेको अन्धविश्वास, अशिक्षा, चेतनाको कमि आदिका कारण अधिकांश महिलाहरुले महिनावारी भएका समयमा विभिन्न शाारिरीक तथा मानसिक यातना भोग्नु परेको तितो यथार्थता छ । सञ्चारका माध्यमको नियमित खवरदारी तथा छाउपडि गोठ भत्काउनका लागि भएका विभिन्न अभियानले छाउपडिगोठ प्रथा मानिने समाजका छाउगोठ त भत्किए तर त्यस क्षेत्रका मानिसहरुको छाउपडि प्रथाको सम्बन्धमा रहेको मानसिकतामा भने परिवर्तन हुन सकेको छैन । हामीहरुले जति नै आधुनिकताको बारेमा कुरा गरे पनि, यसबाट पनि के प्रष्ट हुन्छ भने हामी आधुनिकताको खोक्रो आडम्बरमा प्राचिन समाजलाई नै कुनै न कुनै रुपमा प्रशय दिइरहेका छौं ।

लामिगाडा क्षेत्रमा बाहिरबाट देखिनको लागि कहि कतै छाउपडि गोठ नहुँदा सञ्चारका माध्यम पनि एका तिर मौन छन् भने अर्कोतिर छाउपडि प्रथा विरोधी विभिन्न अभियानले पनि यस तर्फ उचित ध्यान दिइको भने देखिएन ।

छाउपडि गोठलाई भौतिक रुपमा भत्काउन भन्दा पनि यस क्षेत्रको बासिन्दाहरुमा छाउपडि प्रथाको सम्बन्धमा जरा गाडेको मानसिकतालाई भन्तकाउन जरुरी छ । जब सम्म लामिगाँडाबासी स्वयम्ले छाउपडि प्रथालाई नियमित प्रकृयाको रुपमा स्वीकार गरी आफ्ना घरका महिला सदस्यलाई महिनावारी भएको समयमा फरक व्यवाहार गर्न छोड्दैनन्, तब सम्म यस क्षेत्रका महिलाहरुले छाउपडि (महिनावारी) भएकै कारण मानसिक र शाारिरिक यातनाबाट उन्मुक्ती प्राप्त गर्न सक्दैनन् । महिलाहरुलाई पनि पुरुष सरह समाजमा समान रुपमा अगाडी बढाउनका लागि पनि छाउपडि प्रथामा सकरात्मक सुधार हुन जरुरी छ ।


Loading comments...