बजेट कार्यान्वयनको अभियान तीव्र बनाउँछौं : अर्थमन्त्री पौडेल


काठमाडौं । अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८र०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए । मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । उनले भने, ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा द्विविधा राख्नुपर्ने छैन ।’

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पुर्ण सामथ्र्य परिचालन गरिने पनि बताए । सरकारले महामारी नविर्सिएको र मुख्य चुनौतिको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको बताए ।

सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली जनतालाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढंगले सरकारले काम गर्ने प्रतिवद्धता जनाए । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट पारे । उनले सरकारले मतदाता प्रभावित पार्न नभई अभिभारा पुरा गर्न बजेट ल्याएको बताए ।

संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछिपनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए । उनले बजेटले वर्तमान चुनौतिहरुलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।


Loading comments...