Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

अदालतबाट संविधानलाई जीवित अर्थमा व्याख्या हुन सकेन : प्रधानमन्त्री

१८ जेष्ठ २०७८, मंगलवार ०१:४९

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक अदालतलाई दबाव दिनका लागि गरिएका राजनीतिक सभा र जुलुसहरूका कारणले कोरोना फैलन मद्दत गरेको बताएका छन् । त्यसका साथै भारतमा भएको कुभ्म मेला, बोर्डरको गतिविधि र देशभित्र भएका जात्रा पर्वहरुका कारणले पनि कोरोना फैलिएको बताएका छन् ।

तर, सरकारले प्रभावकारी काम गरेकाले अब कोरोना नियन्त्रणको दिशातिर अघि बढेको प्रधानमन्त्रीको दाबी छ ।

सोमबार आयोजित राष्ट्रिय युवा संघको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना र राजनीतिलाई एकै ठाउँ मिसाएर सम्वोधन गरे । सरकारविरुद्ध भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका विरुद्ध विस्तारित भएर लड्न आग्रह गरे । विगतमा प्रधानमन्त्रीले युवाहरुलाई यसै गरी अरिंगाल भएर जाइलाग्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा आफूले संसद विघटन गर्दा सर्वोच्च अदालतबाट संविधानलाई जीवित अर्थमा हेरेर बुझ्ने र व्याख्या गर्ने काम हुन नसकेको भन्दै असन्तुष्टिसमेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले युवाहरुलाई गरेको सम्वोधनको एक अंश जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ–

अदालतलाई दबाव दिन खोज्दा कोरोना फैलियो

केही राजनीतिक शक्तिहरूका अदालतलाई दबाव दिने, जनशक्ति प्रदर्शनद्वारा अदालतलाई दबाव दिने खालका मनोवृत्तिहरु र अदालतलाई धम्क्याउनका लागि, अदालतलाई प्रभाव पार्नका लागि अनेक अस्त्रहरु चालिए । भूतपूर्वहरुका क्लब, स्थायी एउटा पक्षधरताका साथ र एउटा पूर्वनिर्धारित उद्देश्यका साथ न्यायको चर्चा गर्न खोज्ने र आफ्नो पूर्वको हैसियत, पूर्व भन्ने हैसियत, भूतपूर्व हैसियतको दुरुपयोग गरेर जनतामा भ्रम छर्ने र न्यायालयलाई दबाव दिने । प्रभावित पनि गर्न खोज्ने र दबाव पनि दिने । जनतामा भ्रम फिँजाउने । यस्ता प्रयासहरु पनि भए । भूतपूर्व, थुप्रै प्रकारका भूतपूर्वहरु त्यसै गरेर बसे ।

यसै प्रशंगमा राजनीतिक दलहरु अदालतलाई दबाव दिनका लागि ठूला–ठूला र्याली सभा अनुशासनको पालना नगरिकन गर्ने एउटा दौड चलाउने । त्यस दौडले अरुलाई पनि तान्दै, आकर्षित गर्दै, बाध्य पार्दै लाने खालको परिस्थिति निर्माण गर्ने यी कुराहरु भए । जसले गर्दा पनि कोभिड फैलिन सहयोग ग¥यो ।

अर्कातिर कोही कुम्भ जाने र सारेर आउने, कोही खुल्ला बोर्डरको कारणले सर्ने, कोही छँदै थियो, देशभित्रै पनि । त्यसलाई अनुशासनहीनताले सार्ने । अनेकप्रकारका कमीकमजोरी, अन्धविश्वास, जात्रा पर्वजस्ता कुराहरूबाट यो फैलिन सहज भो ।

हामीलाई थाहा छ, महामारी भन्ने कुरा पूर्वसूचना गरेर पनि आउँदैन । महामारीको जस्ता कुराको पूर्वतयारी पनि कसैले गरेको हुँदैन । गर्न सम्भव पनि छैन । के महामारी आउँछ, केको तयारी गर्नु ? त्यसकारण महामारी जतिबेला आउँछ, त्यसलाई सुरुदेखि नै नियन्त्रण गर्न र त्यसको सामना गर्न तयार हुनुपर्छ ।

हामीले केही दिन समस्या झेले पनि अब हामी नियन्त्रणतर्फ नियन्त्रणतर्फ लागेका छौं अक्सिजन सिलिन्डर, भेन्टिलेटर, आइसीयु, बेडजस्ता सबै कुरामा रहेका अपर्याप्तताहरु अब हामीले पर्याप्त बनाइसकेका छौं । अब हामीलाई भ्याक्सिन चाहिएको छ । सरकार भ्याक्सिन ल्याउने प्रयत्नमा लागिरहेको छ र केही समयभित्रै भ्याक्सिन ल्याउँछ । र, भ्याक्सिन लगाउँछ । नेपालीस् जनतालाई सुरक्षित बनाउँछ ।

हाम्राविरुद्ध, हाम्रा प्रयासहरुका विरुद्ध, हाम्रा प्रयासलाई नजरअञ्दाज गर्दै, होच्याउँदै, अपमान गर्दै राजनीतिक स्वार्थको दुनो सोझ्याउन खोज्ने तत्वहरुले फिँजाएका भ्रमहरुबाट जनतालाई मुक्त गर्ने । केही मिसन मिडियाहरु यो सरकारको विरोध गर्ने वैचारिक हिसाबले नै उनीहरु पूर्वाग्रही भएर लागेका छन् । त्यस्ता मिडियाहरु मिसन मिडिया हुन् । त्यस्ता मिडियाले फिँजाउने भ्रमहरु, यी सबै कुराबाट आफ्नो सक्रियतामार्फत सही कुरा जनतामा पु¥याउने अभिभारा पूरा गर्दै युवा शक्तिले खासगरी जनतालाई भ्रममुक्त पार्ने र सचेत भएर देश विकासको महाअभियानमा संलग्न गराउने । जनताको आत्मविश्वासलाई कमी हुन नदिने । निराशा फैलाउन जुन खोजिएको छ, त्यसलाई असफल पार्ने । र, कालोलाई सेतो र सेतोलाई कालो बनाउने प्रयास भएको छ, त्यसलाई असफल पार्ने यो काम युवा संघले अगुवाइ गर्नुपर्दछ । र, अगुवाइ गरेर यसकाममा सफलता प्राप्त गर्नुपर्दछ ।

अहिले कोभिडविरुद्ध हामीले केही गरेनौं भन्ने पनि भ्रम छ । यो कुनै सरकारको कमजोरीका कारणले आएको हो र ? यो त फैलिएर विश्वका विभिन्न देशहरु हुँदै नेपालमा छिर्यो । विश्वव्यापी समस्या हो । यो सरकारको कमजोरीले होइन । सरकारले कडाइ गरेको हुनाले पहिलो चरणमा ठूलो नोक्सानी हुन पाएन । अन्यत्र ठूलो–ठूलो नोक्सानी भयो । विकसित देशहरुमा पनि ठूलो अस्तव्यस्तता सिर्जना भयो । तर, हामीले पहिलो चरणमा त्यस्तो भयावह स्थिति हुन दिएनौँ ।

दोस्रो चरण अचानक भयावहको स्थितिमा आयो । जसलाई हामीले नियन्त्रण गरेर ओरालो लगाएका छौं । मृत्युदर घटाएका छौं । सरकारले प्रभावकारी ढंगले काम गरेको छ । यसर्थ यो सबै कुराहरु जनतालाई बताउने र भ्रममा पर्न नदिने । अर्को कुरा, यो सत्य र असत्यको बहसमा, यो सच्चाइ र झूठ बीचको बहसमा, युवा शक्तिले सच्चाइको पक्ष लिएर, सत्यको पक्ष लिएर झुठ र भ्रमहरुको विरुद्ध यो मोर्चामा युवा शक्ति अग्रभागमा उभिएर लड्नुपर्छ । यस प्रचारयुद्धमा पनि । विरोधीहरुले हमला गरेका छन् । यस प्रचारयुद्धमा युवा शक्तिले एकजुट, सक्रिय, विस्तारित भएर, फैलिएर यसका विरुद्ध लड्नुपर्दछ ।

कुडा कर्कटहरु जम्मा गरेर लगेर राष्ट्रपतिकहाँ पेश गर्ने ?

राजनीतिक हिसाबले अहिले विभिन्न प्रकारका भ्रमहरु मानिसहरुले फिँजाइरहेका छन् । अहिलेको सरकार संविधान अनुसार चलेन, संविधान कुल्चियो, संविधान च्यात्यो, प्रतिगमन भयो जस्ता भ्रमपूर्ण कुराहरु गरिरहेका छन् । निर्वाचन हुनु जनतालाई राजनीतिक पार्टीका कामहरु मूल्यांकन गर्न जनतालाई दिनु र जनताले मूल्यांकन मार्फत दिएको जनादेशलाई स्वीकार्नु र त्यसअनुसार अगाडि बढ्नु लोकतन्त्र हो कि ? सरकार चलाउन पनि नदिनु, बनाउनु पनि नसक्नु, जनतामा भ्रम फिँजाएको फिँजायै गालीगलौजमा उत्रिनु, अशिष्टता, असभ्यता, अमर्यादाको खेती गर्नु यो चाहिँ संविधानसम्मत हो ?

मानिसहरु झूठा, कीर्ते, दल विभाजनकारी र निर्दलीय परिपाटीमा गई… दलले दिनुपर्ने विश्वास खाली त्यो प्रधानमन्त्री बनेर चुनाव गराउने मात्रै उद्देश्य हो अहिलेका विरोधीहरुको । सरकार चलाउने उद्देश्य होइन । सरकार चलाउनलाई त उनीहरुले विश्वासको मत प्राप्त गर्ने कुनै आधारै छैन । उनीहरुसँग बेस्सरी उर्लिएर आउँदाखेरि १२४ भोट छ । कम्तिमा १३६ भोट चाहिन्छ । १२४ भोट छ भने त्यो भन्दा बढी १२ भोट कहाँबाट ल्याउने ? आकाशबाट त खस्दैन । अब बर्खा सिजन लाग्न थाल्यो, त्यसमा पनि आउने होइन । मनसुनसँग त आउँदैन सिटहरु । भने, त्यो त एमालेसँग १२१ त एक्लै छ । अनि अरु शक्तिहरु बाँकी होलान् ।

पार्टीगत रुपमा होइन, गैर पार्टीगत, अनुशासनहीन अराजक । लोकतन्त्रको विश्व इतिहासमा सबभन्दा ठूलो कालो धब्बाको रुपमा अनुशासनहीन, अराजकता, अन्तरघात, विश्वासघात, यसप्रंकारका अलोकतान्त्रिक, अमर्यादित, क्रियाकलाप । आफूले गरेका प्रतिज्ञा र आफूले खाएका सपथहरुभन्दा विपरीत लाज नमानिकन चल्नेखालका लोकतान्त्रिक मूल्य मान्यता संस्कार र आचरण विपरीतका क्रियाकलाप गरेर, पार्टीको दलीय अनुशासनभन्दा बाहिर गएर चलेका छन् । कसैको घरभित्र पसेर त्यहाँ कुना काप्चाका कुडा कर्कटहरु जम्मा गरेर लगेर राष्ट्रपतिकहाँ पेश गर्ने ? त्यो पनि कुनै सिलसिलेबार निवेदन छैन । म सुन्छु कुनै एउटा पातामा दुईजनाको नाम, अर्को पातामा पाँचजनाको नाम । न माथि छ, न सिरान छ, न टुप्पो छ । पुलिस्केपका पातामा टिपेक्स लाएर केरमेट गरेका । प्रमाणित पनि छैनन् । राष्ट्रपतिकहाँ जाँदा १४९ छ भनेर जाने, अदालतमा जाँदा १४६ छौं भन्ने, त्यहीँ देखियो नि ।

राष्ट्रपतिकहाँ वहाँहरु जानेवित्तिकै बजारमा वक्तव्यको लस्कर चल्यो, लाइन चल्यो कि मेरो हस्ताक्षर छैन, यस प्रयोजनमा मैले गरेको होइन । त्यहीँ खण्डित भयो । तेस्रो दिनमा अदालत जाँदा तीनजना घटिसकेका छन् । दिनको एकजना घटे । अदालत गएका दिनदेखि अहिलेसम्म दिनको एकजनाका दरले घट्दा कति घटे होला ? यस्ता फर्जी कुराहरु लिएर अदालत जाने ।

दलीय लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने निर्दलीय आचरणको प्र्रतिनिधित्व गर्ने वकालत गर्दै त्यसको सम्वाहक शक्तिका रुपमा, लोकतन्त्रविरोधी सम्वाहक शक्तिका रुपमा अदालत जाने । राष्ट्रपतिकहाँ जाने । र, भ्रम फिँजाउने, सरकार संवैधानिक हिसाबले छैन । यी कुराहरुको खण्डन हाम्रा युवाहरुले गर्नुपर्दछ । युवा संघले संगठित ढंगले यसको नेतृत्व गर्नुपर्दछ ।

अहिले कोभिड महामारीका बेला कसरी निर्वाचन गर्ने ? निर्वाचन घोषणा गर्नैहुन्नथ्यो भन्ने कुप्रचार गरिराखेका छन् । यो कुप्रचारको जवाफ युवा संघले गाउँ गाउँमा गएर दिनुपर्छ । यतिबेला कोभिड– १९ ले मोबिलिटीलाई रोकेको छ । धेरै मोबिलिटी गर्नुपर्दैन, तपाईहरु टेलिफोनबाट बताउन सक्नुहुन्छ । सोसल डिस्ट्यान्स कायम गरेर, मास्क लगाएर, दुई मिटरको दुरी कायम राखेर तपाईहरु वल्लो घर पल्लोघरमा कुरा गर्न सक्नुहुन्छ । खासगरी सामाजिक सञ्जालको मार्फत, एसएमएस गरेर, ट्विट गरेर, लाइक गरेर, लेख लेखेर त्यसलाई प्रकाशित गरेर, यस्ता थुप्रै माध्यमहरु छन् ।

एउटा पुरानो गीत छ– गाउँ गाउँबाट उठ । …. हातमा कलम हुनेहरु कलम लिएर उठ । बाजा बजाउन जान्नेहरु बाजा लिएर उठ । हातमा केही नहुनेहरु आवाज लिएर उठ । आफूसँग जे छ त्यो । केही छैन भने आवाज त छ । सत्य त छ हामीसँग । तर्कहरु छन् हामीसँग । महान उद्देश्यहरु छन् हामीसँग । पवित्र बाटो छ हामीसँग । पवित्र कामहरु छन् हामीसँग । ती लिएर हामी अगाडि बढ्न सक्छौं । गीत लेख्न जान्नेले लेखेर, बजाउन जान्नेले बजाएर, गाउन जान्नेले गाएर । अरु लेख्न जान्ननेले लेखेर । भन्न जान्नेले भनेर । तर्क राख्न जान्नेले तर्क राखेर हामी अगाडि बढ्न सक्छौं ।

अदालतबाट संविधानको जीवित व्याख्या हुन सकेन

कोभिडका बेला किन चुनाव घोषणा ग¥यो ? चुनाव मैले घोषणा गरेको होइन । हामी सबैलाई थाहा छ, मैले पुस ५ गते यस्तै स्थिति हुन्छ भनेर देशको समय निरर्थक ढंगले बेकारको दन्तबझानमा, देशर जनताप्रति जिम्मेवार भावनै नभएकाहरुको व्यक्तिगत छुद्र स्वार्थको महत्वाकांक्षा जस्ता कुराहरुमा देशलाई बर्बाद सकिँदैन । उनका गाली गलौजमा अल्झिएर देशको समय बर्बाद गर्न सकिँदैन । त्यसकारण हामीले पुन ५ गते नै निर्वाचनका लागि मिति तोकेका थियौं ।

अस्ति नै सरकार बनिसक्थ्यो नयाँ सरकार । नेकपा एमालेको महाधिवेशन भइसक्थ्यो । चैत २५ देखि ३० मा महाधिवेशन भइसक्थ्यो । निर्वाचन १७ देखि २७ मा भएर परिणाम–सरिणाम आइसकेर अस्ति नै नयाँ सरकार बनिसकेर एउटा बाटो लिइसक्थ्यो । नयाँ सरकारले नयाँ नीति कार्यक्रम संसदमा पेश गर्न पाउँथ्यो । त्यसकारण मैले निर्वाचनको घोषणा गरेको थिएँ । यो सबै लफडाको अन्त्य हुन्थ्यो । कुनै लफडाबाजी रहँदैनथ्यो ।

तर, अदालतबाट पनि यो सबै परिस्थिति, समग्र परिस्थिति हेर्ने र संविधानलाई जीवित अर्थमा हेर्ने र जीवित अर्थमा बुझ्ने, व्याख्या गर्ने काम हुन सकेन । संविधान हेर्ने र त्यसको कमजोर व्याख्या गर्ने र त्यसको नेगेटिभ व्याख्या गर्नेखालको ट्रेन्ड​ भयो । तर, पनि अदालतको फैसला हामीले मान्यौं । अदालतको फैसला शीरोधार्य गर्यौं, त्यसलाई कार्यान्वयन गर्यौं ।

अनुशासनहीनताको नाङ्गो नाच !

मैले अढाइ महिनासम्म अविश्वासको प्रस्ताव राख्छौं, वैकल्पिक सरकार दिन्छौं, यो सरकार फेर्छौं भन्नेहरुलाई अविश्वासको प्रस्ताव राख्नोस्, सरकार परिवर्तन गर्नोस्, अर्को सरकार बनाउनोस्, उहाँहरुलाई भनें पनि । आग्रह पनि गरें । पर्खिएँ पनि । अढाइ महिनामा भएन । मैले उहाँहरुलाई भनें, तपाईहरु समर्थन फिर्ता लिनोस् । समर्थन चाहिँदैन ।

सरकार पनि नचल्ने, चल्न पनि नदिने । अनावश्यक अनुचितखालको तानातानी, खिचातान । अस्वस्थ खालको गतिविधि निरन्तर चलिरह्यो । निर्दलीय अनुशासनहीन र अराजक क्रियाकलापहरु खुलेआम, सगर्व । यति निर्लज्ज त मैले अहिलेसम्म देखेको छैन । डेमोक्रेसीका मूल्य मान्यता छोडेर फ्लोर क्रस गर्ने गराउने । बागी विद्रोही उम्मेदवार उठ्ने उठाउने । वागी विद्रोही उम्मदेवारलाई सगौरब घोषणा गर्ने । यो कुरा पत्रकारको निर्वाचनमा पनि देखियो । वागमतीमा पनि देखियो । हामी एक्लै बहुमतमा थियौं, तर पार्टीभित्रैबाट खुलेआम अन्तरघात गरेर बागी, बगावत । विद्रोह । केके भन्नुहुन्छ तपाई ? अनुशासनहीनताको नाङ्गो नाच, त्यो गरेर पार्टीलाई हराउने काम भयो ।

फेरि पनि कुनै हीनतावोध छैन । लज्जावोध छैन । बेसरम । आश्चर्य लाग्छ । यत्ति लज्जाहीन । यत्ति निर्लज्ज । यति धृष्टता । उल्टै सगौरब घोषणा । यो एउटा हामीले देख्यौं । मैले भनें, यो लोकतन्त्रको इतिहासमै अत्यन्तै कलंकको पनि ठूलो धब्बा हो । ठूलो धब्बा । विश्वको लोकतान्त्रिक इतिहासमा यी केही व्यक्तिहरुको यो नग्न नृत्य, अलोकतान्त्रिक क्रियाकलापको, अनुशासनहीनता र अराजकताको र यस निर्लज्जताको नकरात्मक चिन्तन एउटा विश्लेषणको विषय हुनेछ । चर्चाको विषय हुनेछ कि डेमोक्रेटिक सिस्टमभित्रको यो के हो ? यसलाई एउटा अध्ययनको विषय अध्येताहरुले पनि बनाउनेछन् ।

विरोधीहरुसँग मिलेर आफ्नै सरकार ढाल्ने । आफ्नै पार्टी फड्ने । आफ्नै सरकार ढाल्ने । विरोधीलाई, प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन सगौरब, छातीका टाँक खोलेर राष्ट्रपतिकहाँ, सर्वोच्च अदालतमा अप्ठ्यारो नमानिकन हामी यहाँ छौं, म यहाँ छु भन्दै जाने जस्ता कुराहरु । अनि भन्ने अनुशासनहीनता भयो, विधि पद्दति, प्रक्रिया भन्ने । विभिन्न ठाउँमा संकट खडा गर्ने । विरोधीसँग साँठगाँठ गर्ने । यो भन्दा अविश्वसनीय, विश्वासघाती, आत्मघाती, अन्तरघाती अरु के हुन्छ ?

यस्ता कुरालाई बढावा दिएर आफूलाई लोकतन्त्रवादी पार्टी भन्ने, तर अस्वस्थतालाई बढावा दिएर, अस्वस्थताको बैशाखी टेकेर सरकार परिवर्तनका कुरा गर्ने र उहाँहरुसँग बहुमत भए, स्वस्थ्य बहुमत कहाँबाट भयो ? उहाँहरुको दुईटा पार्टी मिलाउँदा ११० छ । भने, बहुमत कहाँबाट भयो ? ११० दुईटा पार्टी मिलाउँदा छ । र, हाम्रो पार्टीको १२१ एक्लै छ । उहाँहरुसँग बहुमत कहाँबाट भयो ?

हाम्रो पार्टीभित्रका केही अनुशासनहीन, अराजक, अन्तरघाती, विपक्षीहरुसँग मिलेका षड्यन्त्रकारी तत्वहरुको बैशाखी कति दिन काम लाग्छ ? त्यस्तोहरुलाई त फेरि कारवाही हुन्छ । कारवाही भइसकेपछि तिनीहरुको त अर्थै भएन । जसपाको पनि त्यस्तै अन्तरघाती तत्वहरु पार्टीको निर्णय विना, पार्टीको अनुशासन तोडेर । ३२ मध्ये १२ जना भगौडाहरुको हस्ताक्षर लिएर कहिले अदालत, कहिले कहाँ । राष्ट्रपतिकहाँ गएर नक्कली दाबी गर्ने । यस्ताखालका कुराहरुलाई जनतामा भ्रम पार्न खोज्दाखेरि हामीले पार्न दिनुहुँदैन ।

फाली पनि फुक्लियो, हलो पनि भाँच्चियो !

हामीले निर्वाचन गराउन खोजेको होइन । अढाइ महिना हामीले पर्खियौं । हामीले विश्वासको मत आफैं लिन किन खोज्यौं भने यसै स्थितिमा चल्दैन । मलाई विश्वासको मत दिनोस् । बैशाख २७ गते मैले विश्वासको मत मागिरहँदा त्यसदिन पनि भनें, तपाईहरु बहुमत पु¥याउन सक्नुहुन्न र मलाई सरकार चलाउन पनि दिनुहुन्न । मलाई विश्वासको मत पनि दिनुहुन्न, आफू विश्वासको स्थिति पनि बनाउन सक्नुहुन्न भने देश त मध्यावधिमा जान्छ । निर्वाचनमा जान्छ । कि त तपाईहरु पुर्याउनुोस्, पुर्याउन सक्नुहुन्न भने मलाई विश्वासको मत दिनोस् । उहाँहरुले दिनुभएन ।

मैले विश्वासको मत नपाएपसिछ संविधानको धारा ७६(२) अनुसार सरकार बनाऊ भनेर राष्ट्रपतिज्यूले भन्नुभयो । तीन दिनको समयमा कसैले दाबी नै गर्न सकेन । उहाँहरुसँग दाबी गर्न सक्ने हैसियतै छैन । १३६ चाहिन्छ, उहाँहरुसँग ११० छ । त्यसो भइसकेपछि दाबी गर्न नसक्ने स्थितिमा मैले फेरि धारा ७६(३) अनुसार प्रमुख पार्टीको हैसियतले सरकार बनाएँ ।

अस्ति मैले विश्वासको मत पाएको छैन । परिस्थितिमा खास फेरबदल छैन । मैले सम्माननीय राष्ट्रपतिज्यूलाई भने भने अस्ति मैले ५÷७ दिन अगाडि विश्वासको मत नपाएको स्थितिमा र परिस्थिति फेरबदल नभएको स्थितिमा अब उपधारा ५ को प्रधानमन्त्री बनाउने । किनभने विश्वासको मत पाउने स्थिति म देख्तिनँ । त्यसो भएर विश्वासको मतमा गइरहनुपरेन । मैले मार्ग प्रशस्त गरें । राष्ट्रपतिज्यूबाट संविधानको धारा ५ अनुसारको प्रक्रिया प्रारम्भ होस् भनेर मैले मार्गप्रशस्त गरिदिएँ ।

राष्ट्रपतिज्यूले २४ घण्टाको समय दिनुभो । उहाँहरुले २१ घण्टा भन्नुभो । उहाँहरुले भनेको २१ घण्टाभित्रै उहाँहरु जानुभो । तर, फर्जी कागजहरु लिएर जानुभो । निर्दलीय कागजहरु लिएर जानुभो । विश्वासका ठोस आधारहरु, भोलि बहुमत ल्याउन सक्ने आधारहरुविना जानुभो । अनुशासनहीनताको, अराजकताको, दलीय व्यवस्थाको जरा काट्ने कैंची बोकेर उहाँहरु राष्ट्रपतिकहाँ जानुभो । विश्वासको मत प्राप्त गर्ने आधार नभएको हुनाले राष्ट्रपतिजीले त्यसलाई मान्यता दिनुभएन ।

यस्तो स्थितिमा बाध्यताबस संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुन सकेन भने प्रधानमन्त्रीले विघटनको सिफारिस गर्नुपर्छ र राष्ट्रपतिजीले नयाँ निर्वाचनका लागि मिति तोक्नुपर्छ । प्रतिनिधिसधा विघटन गरेर नयाँ मिति तोक्नुपर्छ । यो संविधानको व्यवस्था हो । बाध्यकारी व्यवस्था हो ।

त्यसकारण यतिबेला निर्वाचन घोषणा गर्यो, कसरी निर्वाचन हुन सक्छ ? त्यो त संविधानले जान्ने कुरा हो । र, यो त विपक्षीहरुले जान्ने कुरा हो, जसले यतिबेरै निर्वाचन गराउन आफू बहुमत पनि नपुर्याउने, बहुमत पनि नदिने, चल्न पनि नदिने, चलाउन पनि नसक्ने । सरकार बनाउन पनि नसक्ने, बनेकोलाई चलाउन पनि नदिने । विश्वासको मत दिएर स्थायित्व पनि हुन नदिने ।

यसरी हलो अड्काउने र गोरु पड्काउने उहाँहरुले गर्नुभो, जसले गर्दाखेरि फाली पनि फुक्लियो, हलो पनि भाँच्चियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन्तोष देवकोटा । भारतका प्रभावशाली दुई युवा नेता कन्हैया कुमार तथा जिग्नेश मेवाणीले मंगलबार राजनीतिको आगामी यात्राका लागि भारतीय कांग्रेस

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको