ujawal thapa bibeksheel nepali

उज्वलले नेतृत्व छाडेपछि आफ्नो भूमिकाबारे यस्तो लेखेका थिए


उज्वल थापा- नमस्ते विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरू,

समय आएको छ, आफूले लिँदै आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नको लागि । विगत ८ वर्ष अगाडि सुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप ऊर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेकोछु ।

विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु । यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका ऊर्जावान र उत्कृष्ट नेतृत्वहरूले दशकौँसम्म नेपाली समाज रूपान्तरणमा महत्वपूर्ण भूमिकाहरू खेली नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु ।

लोकतन्त्रमा पदीय भूमिका जसलाई आम रूपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ । अहिलेसम्म भएका अनेकौँ उपलब्धिहरू र भूलहरू गर्दै हामी यहाँ आइपुगेका छौँ ।

नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रूपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु । मैले आशा गरेको छु अब आउँदो नेतृत्वहरूले विवेकशील नेपाली दल र त्यसका अभियानहरूलाई अझ बलियो बनाउँदै लानुहुनेछ ।

अबका जुझारु विवेकशील नेतृत्व र सदस्यहरूले बढीभन्दा बढी समय दिई दललाई अघि बढाउनु पर्नेछ भने केही समय विश्राम लिन चाहने नेतृत्वहरूले पनि आफ्नो क्षमता विकासमा लागी परी भविष्यमा फेरि राष्ट्र र राष्ट्र बनाउन उन्मुख दललाई योगदान अवश्य गर्नु नै हुनेछ ।

राजनीतिक सुसंस्कारको यो हाम्रो यात्रा एउटा ‘रिले म्याराथन’ नै हो । यसलाई आत्मसात् गर्दै हामी अघि बढ्नु जरुरी छ । विवेकशील नागरिक बनाउने हाम्रो गतिशील यात्रा जटिल छ, त्यसैमाथि यो परनिर्भर समाजलाई उद्यमशील बनाउँदै, सरकारलाई सेवक बनाउँदै, एक दिगो (उत्पादनमुखी) अर्थतन्त्र बनाउने हितकारी राज्यको परिकल्पनालाई साकार गर्न पर्याप्त सिर्जनशील, नवीन समाधान खोज्न सक्ने ऊर्जाशील, उदार, लोकतन्त्रवादी नेतृत्वहरूको निरन्तर खाँचो परि नै राख्छ ।

यस यात्रामा अब दलको नेतृत्व लिन चाहनु हुने सबै नेतृत्वलाई मैले आफूले अनुभूति गरेका यी केही तीता-मीठा भोगाइ-सिकाइहरू प्रतिपनि ध्यान दिनु हुन अनुरोध गर्न चाहेँ ।

तपाईंको नेतृत्व:

१) गाह्रो परिस्थितिमा पनि दलको मर्मलाई आफैँले काँधमा बोकी हिँड्ने आँट राखोस् ।

२) सदस्य तथा शुभचिन्तकको चुस्त व्यस्थापन प्रणाली बनाउन र त्यसका लागि चाहिने अपार स्रोत संकलनमा अब्बल बनोस् ।

३) राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय परिस्थितिप्रति पनि सजग र प्रस्ट भिजन बोक्ने दक्षता देखियोस् ।

४) उदार लोकतान्त्रिक मूल्य मान्यतामा अडिग रहि बृहत् लोकतान्त्रिक सञ्जाल बनाउने खुबी मिलोस् ।

५) संगठन भित्र बिचार र आर्थिक पारदर्शीता, बिनम्रता, समानुभूति भएको उत्कृष्ट वातावरण बनाई रहोस् ।

६) दललाई स्वागतिलो बनाउन र सदस्यलाई जिम्मेवार राखी राख्न सक्ने सिर्जनशीलता जागोस् ।

७) विविधताबीच एकता बनाउँदै, अतिवादी र अदुरदर्शी ‘हुल’ सोचबाट जोगाउने मध्यममार्गी साहस रहोस् ।

८) जसभन्दा अपजस बढी लिनु पर्ने वातावरणलाई पनि थेग्ने स्टामिना (stamina) बनोस् ।

९) कार्य सम्पादनबाटै अरुहरूलाई क्रियाशील र जवाफदेही राखिराख्ने बानी बसोस् ।

१०) सदस्य/शुभचिन्‌तकमा रहेका विषहरू खाने आँटका साथ, उनीहरूबाट निस्कन सक्ने अमृतलाई मन्थन गर्ने धैर्य मिलोस् ।

दल र यसले बोकेका अभियानहरूमा साथ दिनु हुने तपाईं सबैजना र असंख्य शुभचिन्तकहरूप्रति हार्दिक आभारी छु । चाहे त्यो भूकम्पमा होस् वा माइतीघरमा होस्, महिला हिंसाविरुद्धको अभियानमा होस् वा निर्वाचनमा विकल्प दिने प्रयासमा होस्, कुकुर छाप लिँदा होस् वा ईष्टकोट, बाघ होस्‌ वा तराजु होस् सबैमा साथ दिँदै अघि बढ्ने “हँसिलो मुहार”का दृढ नेतृत्वहरूका प्रत्यक्ष/अप्रत्यक्ष योगदानप्रति फेरि पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु । यस यात्राका दौरान पदमा रहँदा आफूले गरेका अनेकौँ भूलहरू र आफ्ना कमजोरीहरूका लागि पनि म क्षमा माग्न चाहन्छु ।

आगामी दिनमा मेरो योगदान देशमा व्याप्त लूटतन्त्रविरुद्ध सबै उदार लोकतन्त्रवादीहरूलाई विवेकशीलले देखाइरहेको ‘मध्यममार्गी’ दिशामा ऐकबद्ध रूपमा खडा गर्नमा पनि रहनेछ ।
चरमपन्थी चिराले विभाजित हुँदै गइरहेको नेपाली समाजलाई एकीकृत राखी राख्न

१) नरमपन्थी नेतृत्वहरूको विकास,
२) विवेकशील अभियानहरूको निरन्तरता,
३) गतिशील मध्यममार्गी विचारको पहिचान र पवर्द्धन अनि
४) यी सबैलाई दिगो राखी राख्न सक्ने सकारात्मक आर्थिक सन्जालको निर्माण अब एकदमै आवश्यक रहन्छ ।

र यी चारैलाई हामीले ‘प्यारलली’ निर्माण गर्न सके मात्र देशलाई चाहिने सकारात्मक शक्तिहरूको विजय हुन सक्छ भन्ने मेरो विश्वास अहिले पनि कायमै छ र यसको पर्वर्धन गर्न मेरो दायित्व पनि रहन्छ ।

यसरी अब नेपाललाई विश्वले नै आदार गर्ने एक ‘गुरु राष्ट्र’ बनाउन सकिन्छ भन्ने बारेमा पनि थप अध्ययन, अनुसन्धान र प्रवर्द्धन गर्न मेरो भूमिका रहन्छ । अबका दिनमा हरेक नेपालीलाई हाम्रो नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ भन्ने कुरा पनि बुझाउन जरुरी ठानेको छौँ ।

पहिलो: आर्थिक केन्द्रविन्दु । यानी कि अर्थतन्त्रमा विश्वकै केन्द्रविन्दु बन्दै गरेको चीन र भारतको पनि बीचमा हामी छौँ । यसको सदुपयोग कसरी गर्ने ?

दोस्रो: वातावरणीय केन्द्रविन्दु । हामीले यो पनि सम्झाउनु जरुरी छ । विश्वको पर्यावरणीय परिवर्तनमा (Climate change) पनि हामी विश्वको केन्द्रविन्दु बन्न पुगेका छौँ । कसरीभन्दा, नेपालको हिमालयज १ अर्बभन्दा बढिका लागि पानीको श्रोत हो र जसलाई ‘तेस्रो पोल’ (Third pole after North and South pole) यसलाई जोगाउन मानविय रुपमा सबैभन्दा महत्वपूर्ण छ । त्यसैले नेपालमा हामी नेपालीले ‘वातावरण-पहिलो’ नीति अपनाउन जरुरी भएको ठानेका छौँ ।

तेस्रो: अध्यात्मको केन्द्रविन्दु । हजारौँ वर्षसम्म हिन्दु र बौद्ध धर्मको जन्म थलो रहेको विभिन्न अरु धर्म-सु-संस्कारहरूको पनि कर्मथलो रहेको नेपालले अब विश्वलाई चाहिने नरम सहिष्णु, आध्यत्मिकताको केन्द्रविन्दु बनाउन सक्छौँ कि ?

लूटतन्त्रको आगमान र अधिनायकवादको प्रयासले ल्याउन सक्ने गम्भीर समस्याहरूमा हामी सबै एक ढिक्का भई उभिने नै छौँ भन्ने आस्थाका साथ वडा, गाउँ-सहर, जिल्ला, प्रदेश र संघमा साथ दिनु हुने सबै विवेकशील परिवर्तकहरूलाई मेरो सलाम !

तपाईंको जय होस् !
नेपालको जय होस्‌ !

दुई साताअघि कोरोना संक्रमित भएका ४४ वर्षीय थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४:२५ बजे निधन भएको थियो । यो सामग्री थापाको ब्लगबाट लिइएको हो ।


Loading comments...