नयाँ मन्त्रीहरुले लिए सपथ


काठमाडौं । नयाँ मन्त्रीहरुले शीतलनिवासमा सपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई समेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । शुक्रबार साँझ प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका छन् भने एमालेका चार जना (अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठ) बाहेक अन्यलाई हटाएका छन् ।

जसपाका नेता महतोले उपप्रधानमन्त्रीका साथै शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बनेका छन् ।

भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बनेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ईश्वर पोखरेल बाहिरिएका छन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ उपप्रधानमन्त्री भएका छन् । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी दिइएको छ । सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।


Loading comments...