पेट्राेलियम पदार्थकाे मूल्य फेरि बढ्याे, १ लिटर पेट्राेल किन्न अब १२५ रुपैयाँ तिर्नुपर्ने


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर समायोजन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको तथा भारतीय आयल कर्पोरेशनले पनि बढेको नयाँ सूची पठाएकाले स्थानीय बजारमा समेत बढाएर मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य लिटरमा २ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य सूची अनुसार अब पेट्रोल १२३ रुपैयाँबाट बढेर प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १०६ रुपैयाँबाट बढेर १०८ रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तररिक उडान) को नयाँ खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको उपाध्यायले जानकारी दिए । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।

यो मूल्य समायोजनपछि पनि १५ दिनमा ५९ करोड २८ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ । नयाँ मूल्यअनुसार खुद्रा मूल्यमा बिक्री गर्दा पेट्रोलमा प्रतिलिटर ५.३२ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.१७ रुपैयाँ र खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिण्डर २५८.४६ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । जसमा खाना पकाउने ग्यास र डिजेल बिक्रीबाट मात्रै क्रमशः ३८ करोड र १८ करोड रुपैयाँ घाटा हुने भनिएको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट अहिले भइरहेको घाटा संचितिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने भएको छ ।संचितिकरण कोषमा १२ अर्ब रुपैयाँ छ । निगमले कोषको रकमबाट घाटा व्यवस्थापन गर्ने अनुमतिका लागि वार्णिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

पछिल्लो मूल्य समायोजनपछि वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौल भन्दामा नेपालमा पेट्रोल प्रतिलिटर ३३ं.९९ रुपैयाँ र डिजेल प्रतिलिटर ४१.२५ रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।


Loading comments...