माओवादीको केन्द्रिय नेतृत्वमा अब २० प्रतिशत युवा अनिवार्य समेटिने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन शिक्षकलाई आग्रह गरे ।

“नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ”, उनले भने, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।”

उनले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गरे । उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गरे ।

सो अवसरा सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सरकार र राजनीतिक दलले शिक्षकका माग बेवास्ता गरेको आरोप लगाए । अध्यक्ष अधिकारीले भने,“सेना, प्रहरी र निजामती कर्मचारीलाई विभिन्न सेवा दिँदै गर्दा यो मुलुकभित्रकै श्रमजीवी शिक्षकलाई विभेद किन ।?”


Loading comments...