पहिलो मात्रा कोभिसिल्ड लगाएकालाई दोस्रो मात्रामा एस्ट्राजेनेका खाेप लगाइने


काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई दोस्रो मात्रामा एस्ट्राजेनेका खाेप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले सूचना निकालेर कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्राे मात्रामा एस्ट्राजेनेका लगाइने जनाएका हुन् ।

कोभिसिल्ड र एस्ट्राजेनेका एउटै प्रकृतिकाे खोप भएकाले दाेस्राे मात्रामा एस्ट्राजेनेका लगाइन लागेकाे सूचनामा उल्लेख छ ।
‘सेरम इन्स्टिच्यूट अफ इन्डियासँग सम्झौता भइ अग्रीम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटीबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रको आारमा दोस्रो मात्राको सुनिश्चितता गरिएको थियो । तर, भारत सरकारको खोपको निर्यातसम्बन्धी निर्णयले सेरम इन्स्टिच्यूट अफ इन्डिया र कोभाक्स दुवैले (एउटै स्रोत) खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा उक्त मात्र दिन नसकिएको हो,’ महाशाखाका निर्देशक डा. पोख्रेलले निकालेकाे सूचनामा उल्लेख छ ।

एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइनेछ । तर, याे खोप कहिले उपलब्ध हुन्छ भन्ने विषय यकीन भइनसकेको छैन ।

गत फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएका विशेषगरी देशभरका ६५ वर्ष माथिका र १४ जिल्लाका ५५ वर्ष माथिका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । देशभरका करिब १३ लाख ५० हजारभन्दा बढी नागरिकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरु सबै कोभिसिल्डको दोस्रो मात्रा कुरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा दोस्रो डोज लगाइसक्नुपर्छ।


Loading comments...