केपी ओली इमानदार भएनन् : वामदेव गौतम


काठमाडौँ। तत्कालीन नेकपा विघटन भएपछि पार्टी एकताका लागि भन्दै तटस्थ बसेका नेकपा एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्ताव इमानदार नभएको बताएका छन्।

सोमबार अपराह्न बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमानदार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको गौतमले बताएका हुन्।

एकता अभियानका संयोजक गौतमले मङ्गलवार विज्ञप्ति जारी गरी ओलीको प्रस्तावमाथि शङ्कासहित एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने कुरा भने सकारात्मक रहेको जनाएका छन्।

‘एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने कुरा सकारात्मक रूपमा ग्रहण गरेको छ। तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ’ विज्ञप्तिमा भनिएको छ।


Loading comments...