आधूनीक ठगको वेलिविस्तारः बिभिन्न नक्कली कागजात बनाएर ब्यापक ठगीमा संलग्न रहेका भारतीय नागरिक पक्राउ


भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भई नेपालको विभिन्न जिल्लाहरू (कैलाली, सुर्खेत) को ठेगाना बताई विभिन्न बहानामा ठगिन गएका पीडितहरूले खोजतलास एवम् आवश्यक कारवाहीका लागि निजको नागरिकता प्रमाणपत्रमा उल्लेख जिल्ला कैलाली टिकापुर न.पा. वडा न. ०९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गा.वि.स. वडा नं. ७ ठेगाना भएको प्रतिलिपी संलग्न राखी यस महाशाखामा लिखित उजुरी पेश गरेकोमा निज रवि कुमार सिंहको खोजतलास गर्ने क्रममा भाद्र २ गते साँझ लगभग ५ः३० बजे जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ सेतीपाखाबाट पक्राउ गरिएको छ ।

यस्तो छ ठगीको विवरण:
घटना नं. १ः जिल्ला रुपन्देही बुटवल उ.प.म.न.पा. वडा नं. ८ बस्ने हरी मल्ल र ऐ.ऐ. बस्ने महेन्द्र कुमार श्रेष्ठलाई बुटवल-नाराणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको Sub-Contract छ भनी China State Construction Engineering Corporation Limited ( CSCEC) को कागजात देखाई अञ्जली कन्स्ट्रक्सन र रवि कुमार सिंहको साझेदारी हो भनी हामीसँग लगानी गरेमा मुनाफाको ४०% तपाईँहरूले पाउने भनी हामीलाई विश्वास दिलाई हामीबाट रु.४३,७३,०००/- (अक्षेरुपी त्रिचालिस लाख त्रिहत्तर हजार रुपैँया) लिई हामीलाई विश्वास दिलाउन खातामा पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेका थिए ।

घटना नं. २ः जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक न.पा. वडा नं. ६ बस्ने अनिल गुरुङ भन्ने कृष्ण बहादुर गरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी निजको बा १२ च ३८५९ नं. को Swift Dzire कार मासिक रु.९०,०००/- भाडा दिने भनी २०७६ बैशाखमा लगी सम्पर्क विहिन भई उक्त कार जिल्ला भक्तपुर भक्तपुर न.पा. वडा नं. १५ हाल का.जि.का.म.न.पा. वडा नं. ३१ बस्ने प्रदिप रायलाई यो कार मेरो आफ्नै हो र यसको सवारि दर्ता किताब मसँगै छ मलाई पैसाको खाँचो परेकोले कार र ब्लुबुक धितो बन्धकी राखी रु. ८,३५,०००/- दिनुहोस् भनी नक्कली ब्लुबुक देखाई निज प्रदिप रायलाई ठगी गरेका थिए ।

घटना नं. ३ः चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को Dominaar-400 सिसीको मोटरसाइकल रु.३,३०,०००/- मा खरिद गर्ने भनी रु.३०,०००/- दिई बाँकी पैसा पछि दिन्छु भनी मिति २०७७।०९।२९ गतेबाट सम्पर्क विहिन भई ठगी गरेका थिए ।

घटना नं. ४ः जिल्ला धनुषा जनकपुरधाम उ.प.म.न.पा. स्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई Royal Hydro Construction Pvt. Ltd. को म्यानेजिङ डाइरेक्टर हुँ भनी भिजिटिङ कार्ड समेत देखाई Maruti Suzuki कम्पनीको प्रदेश-३-०१/ ०२३ च ००५० नं. को Brezza कार मासिक रु.१,५०,०००/- भाडा दिन्छु भनी लगी सम्पर्क विहिन भई ठगी गरेको उक्त कार अभियुक्त रवि कुमार सिंह सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना नं. ५ः का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट स्थित Royal Hydro Construction Pvt. Ltd. को नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई करिब रु.१,००,००,०००/-(एक करोड रुपैयाँ) ठगी गरेको भनी जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने Royal Hydro Construction Pvt. Ltd. का संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले यस कार्यालयमा निवेदन दिइएको,

प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तले देवी प्रसाद सिंहको छोरा जिल्ला कैलाली टिकापुर न.पा. वडा न. ०९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली गा.वि.स. वडा नं. ७ ठेगाना उल्लेख भएका जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नेपाली नागरिकताको प्रमाणपत्र नक्कली भनी खुल्न आएको, सोही नागरिकता पेश गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको, निजले सवारि चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको खुल्न आएको । निजका विरुद्ध श्री महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा बैंकिङ कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भएकोले हाल थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको ।

साथै निजबाट धेरै व्यक्तिहरू ठगिएको भन्ने बुझिएको र उजुरी आउने क्रम जारी रहेकोले अन्य कोही निज व्यक्तिबाट ठगिमा पर्नुभएको भए यस महाशाखामा सम्पर्क गर्न हुन समेत अनुरोध गरिएको छ ।


Loading comments...