देशको भताभुङ्ग व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी अब नारीले नै आफ्नो काँधमा बोक्ने समय: इन्दिरा प्रसाई


सामाजिक सञ्जाल र खास गरेर फेसबुक भनेको त फोटोहरूकै खात हो । यसमा विचारभन्दा बढी फोटो आउनु नै यसको विशेषता पनि मानिन्छ । खोलो बहेझैँ फेसबुकमा पनि फोटो बगिरहेका हुन्छन् । कति फोटा हामीले नदेखे पनि बगिदिन्छन् । कति चाहिँ फर्किफर्की पनि हाम्राआँखामा परिरहन्छन् ।

यो साताको उल्लेखनीय फोटोका रूपमा दुई राजनीतिज्ञको फोटो आएको छ । भनौँ यस फोटोमा नेपाली राजनीतिका पुराना पुस्ताका नेता माधवकुमार नेपाल र तेस्रो पुस्ताकी नेतृ रामकुमारी झाँक्री देखिएका छन् ।

त्यसो त गुरु र शिष्यजस्ता वा पिता र पुत्रीजस्तो भएर एउटै दलभित्र राजनैतिक रूपले प्रतिबद्ध यी दुई नेताहरूका थुप्रै फोटाहरू पहिलापहिला पनि प्रकाशनमा आएकै हुन् । तर यस पल्टको फोटोमा माकुनेलाई राकुझाँले हात समातेर तान्न लागेको दृश्य छ । वैचारिक धरातल अधोगतितर्फ भएका व्यक्तिका दृष्टिले भने यस्तो पवित्र फोटोलाई पनि स्त्री र पुरुषको स्तरहीन काल्पनिक सम्बन्धको तरङ्गमा तिरोहित गर्नु अनौठो पनि होइन । बुद्धिका भाँडामा बिर्कै लागेका विवेकहीन, स्वार्थका पिण्ड बोकेका र नीचहरूले यस प्रकारको चर्चा गर्छन् । अनि आफैँ पापिष्ठ भएर थप पापको पोखरी खन्छन् र निदानशेष सोही पापको ज्वालामा आत्मदाह गरिनु तिनको नियति हुने गर्छ ।

हुन त म राजनैतिक व्यक्ति होइन । मेरो दृष्टिमा राजनीतिभन्दा सर्वोपरि राष्ट्र हुन्छ । राजनीतिभन्दा माथि मानवता हुन्छ । मानवता विहीन अवस्थामा मानिसको जस्तो सुकै उपलब्धि पनि बेकार हुन्छ । राष्ट्र रहे त्यही राष्ट्रको आँगनमा राजनीतिले खेल्न पाउँछ भन्ने मान्यता म राख्तछु । त्यसैगरि मानवता बाँचेको राष्ट्र नै अजर अमर हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । अर्को कुरा पितृसत्तात्मक दमनमा परेर बल्ल उक्सिन लागेका नारी शक्तिले अबको नेपाल हाँकेर राष्ट्रको कायापलट गर्नुपर्छ भन्ने सोचमा पनि म दृढ छु ।

माकुने आदरणीय शीर्ष नेता हुनुहुन्छ । उहाँका विषयमा मैले प्रशंसा नै गर्दा पनि सूर्यलाई दियो बालेर आरती गरेभन्दा बढी अर्थ लाग्दैन । त्यसैले उहाँको पाटो यस लेखनमा म छुन्न पनि । तर जुझारु नेतृका रूपमा सुपरिचित रामकुमारी झाँक्री मेरो यस सङ्क्षिप्त लेखनकी विषय हुन् ।

अध्ययन र चिन्तनले खारिएकी, उच्च चेतनाको ज्योतिले उज्ज्वल भएकी, नितान्त आफ्नो मौलिक सङ्घर्षद्वारा स्वपहिचान निर्माण गर्न सक्षम र जुझारू युवा नेतृका रूपमा रामकुमारी झाँक्रीको व्यक्तित्व नेपाली धरामा प्रसिद्ध छ ।

फोटोमा देखिएको दृश्यले नेपालको राजनैतिक नेतृत्वको सवालमा अब माकुनेहरूले क्रमश: संरक्षकको भूमिकामा बसेर राकुझाँहरूलाई अघि लगाउनु पर्ने बेला आएको छ भन्ने सन्देश एकातिर दिएको छ भने अर्कातिर राकुझाँले नेपालको राजनैतिक नेतृत्व लिने बखतको सूचना प्रवाहित गरेको सन्देश पनि यस फोटोले दिएको मैले अनुभूत गरेँ ।

लथालिङ्ग हाम्रो देशको भताभुङ्ग व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी अब नारीले नै आफ्नो काँधमा बोक्ने समय आएको भन्ने कुरा प्रष्ट हुँदै गएको छ । आजसम्म पुरुष नेताहरूले मुलुकको नेतृत्व गरेर मुलुक झनै धरासयी पार्दै लगेको सत्य पनि कसैबाट लुकेको छैन । मुलुकलाई यस्तो जटिल परिस्थितिबाट निकास दिन अब नयाँ पुस्ताका नेता र अझ नारी कै नेतृत्व हुनुपर्छ भन्ने मलाई लागेको छ । अहिलेको राजनैतिक परिदृश्यको तेस्रो पुस्तामा चाहिँ महिला नेतृको सफल भूमिकामा रामकुमारी झाँक्रीको प्रतिस्पर्धी मैले अर्को देखेकी छैन।

विराङ्गनाको भूमिकामा समेत प्रतिष्ठित भूमिपुत्री राकुझाँलाई हार्दिक मङ्गलमय शुभकामना !


Loading comments...