‘लघुकथा दिवस’का अवसरमा प्रस्तुत छ लघुकथा: इन्दिरा प्रसाई


सूचना
•••
तालिवानीबाट एक मुठी सासमात्र बचाएर फर्केको छु । अहिले नेपाली सेनाको क्वरेन्टिन व्यवस्थापनमा म पनि बसेको छु ।
‘अब अगाडीको जीवन कसरी धान्ने ?
समस्याका खात बोकेको परिवारको जिम्मेवारी कसरी निर्वाह गर्ने ?’ बेचैन छु ।
अचानक आजको राष्ट्रिय दैनिकमा छापिएको जागिरको सूचनामा मेरो आँखा परेको छ ।

लेखकः इन्दिरा प्रसाई

आवश्यक्ता
यस कार्यालयमा रिक्त रहेका पदको लागि खुल्ला प्रतिस्पर्धाद्वारा राष्ट्र सेवक भर्ना गर्नुपरेकाले यही मसान्त भित्र निम्नलिखित योग्यता पुगेका युवाहरूद्वारा आवेदनका लागि यो सूचना प्रसारित गरिएको छ ।

क) पद : कर्मठ राष्ट्र सेवक

ख) तलब,भत्ता र सुविधा : आवेदकको दक्षता र यस आयोजनाको क्षमता अनुरूप दुवैपक्षको सहमतिमा निर्धारण गरिने छ ।

ग) सङ्ख्या : यथेष्ठ

घ) न्युनतम योग्यता :
१. अनुशासित, मानसिक र शारीरिक रूपले स्वस्थ्य, सक्रिय, नैतिकवान, कर्त्तव्य परायण र राष्ट्रभक्त
२. मानवतावादी
३. इमान्दार
४. जुझारू

ङ) वाञ्छनीय योग्यता :
१. महान देशभक्त देखिने तर भित्रभित्रै विदेशी मुलुकको दलाल नभएका
२. अट्ठाइस वर्षदेखि फर्स्यौट हुन नसकेको राष्ट्रिय अर्थतन्त्रको बेरूजु फर्स्यौट गराउन सक्ने दक्षता भएका ।
३. भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकाहरूको सम्पत्ति राष्ट्रियकरण गर्नसक्ने विशेष क्षमता भएका ।
४.दण्डविधान लागू गरेर मुलुकलाई दण्डहिनताको पराकाष्ठाबाट मुक्त गराउन सक्षम ।

च) कार्यालय : मुलुक

नोट : पर्याप्त आवेदन आइसकेपछि अन्तर्वार्ताको समय र स्थानको सूचना यसै दैनिकमा प्रकाशित गरिने छ ।

वैदेशिक रोजगारीमा नजाने निर्णयका साथ अब यही जागीरका लागि आवेदन दिन कम्मर कसेको छु ।

© इन्दिरा प्रसाई


Loading comments...