काठमाडौंमा रहेका मुख्यमन्त्री शेरधन राई राजीनामा दिन विराटनगर पुग्दै


काठमाण्डौ । नेकपा एमालेबाट माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भोलिपल्ट प्रदेश १ मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने भएका छन् । उनको राजीनामा लगत्तै एमालेका प्रदेश सांसद भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिने भएको छ ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार आचार्यलाई नेतृत्व हस्तान्तरण गर्न हाल काठमाडौंमा रहेका मुख्यमन्त्री राई ९ बजे बुद्ध एअरको फ्लाईटबाट विराटनगर जाँदैछन । विराटनगर ओर्ले लगत्तै एमाले संसदीय दलको बैठकमा राईले राजीनामा दिने निर्णय सुनाउँदै आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्नेछन् । सो प्रस्ताव अनुमोदन भए लगत्तै सम्भवतः आज नै आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुखले नियुक्त गर्नेछन् ।

विगतमा नेपाल-झलनाथ खनाल समूहमा रहेका आचार्य नेकपा एमालेको मुलधारमा रहे पछि पार्टीको आन्तरिक जीवन बचाउन बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई प्रदेश मुख्यमन्त्री बनाएको शैलीमा आचार्यलाई पनि मुख्यमन्त्री हस्तान्तरण गर्न खोजिएको हो । सो हस्तान्तरणसँगै प्रदेश १ मा एमाले विभाजनको सम्भावना टर्ने एमाले नेताहरुले जनाएका छन ।

हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको जन्मदिन मनाउन बालकोट पुगेको बेला नै अध्यक्ष ओलीको निर्देशनमा राई मुख्यमन्त्रीबाट राजीनामा दिन मञ्जुर भएका हुन् । विराटनगरमा मुख्यमन्त्री राईले राजीनामा दिएर आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दा भने च्यासलमा एमाले केन्द्रीय कमिटी जारी रहनेछ ।


Loading comments...