यस्तो छ सद्गुरुको कैलाश दर्शन यात्रा : जीप, मोटरसाइकल र घोडाको व्यवस्था


काठमाण्डौ । सद्गुरु मानसरोवर कैलाशको दर्शनका लागि यात्रामा निस्किएका छन् । बुधबार काठमाडौंबाट हुम्ला सदरमुकाम सिमिकोट पुगेका उनी बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतबाट नेपाल आएका सद्गुरुले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा रहेको लिमी उपत्यकाको पाँच हजार मिटर उचाइको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने कार्यक्रम छ ।

उनको दर्शनयात्राका लागि हवाइजहाजमार्फत मोटरसाइकल हुम्ला ल्याइएको थियो । सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले बताए । ‘पैदलमार्ग सुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्नुहुनेछ,’ उनले भने ।

सिमिकोटबाट सुरुमा पैदल यात्रा गर्ने तयारी छ । त्यसपछि सडकको अवस्था हेरेर मोटरसाइकलमा पनि सद्गुरु सवार हुनेछन् । सिमिकोटबाट लाप्चासम्म कच्ची सडक भएकाले बीचमा बोलेरो जीपमा पनि सदगुरुले यात्रा गर्ने उनले बताए ।

उकालो क्षेत्रमा घोडाको पनि व्यवस्था गरिएको छ । लाप्चा पुग्ने यात्राका लागि ११ दिन लाग्ने आँकलन गरिएको छ । टोलीले बास बस्ने एउटा स्थानमा दुई रात बिताउने छ । टोलीले प्रतिदिन चारदेखि पाँच घन्टा मात्र यात्रा गर्नेछ ।

११औं दिनमा लाप्चा पुगेर सद्गुरुसहितको धार्मिक पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेर सिमिकोट फिर्ता हुने कार्यक्रम तय गरिएको छ । उनीसँग कुक, गाइड र आवश्यक सामग्री बोकेका भरिया पनि छन् । उनको टोली बुधबार राति खेलमैदान र सिमसार क्षेत्रमा पाल टाँगेर बसेको थियो । लाप्चा क्षेत्र जान २५ स्थानीयलाई भरियाको रुपमा लिइएको छ ।

न्यूज कारखाना

यो पनि पढ्नुहोस्: मानसरोवर कैलाशको दर्शन गर्न सिमिकोट पुगे सद्गुरू


Loading comments...