शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन


एजेन्सी, काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक स्टेट (आईएस) जन्मिन लागेको चर्चा चलिरहेका बेला पुटिनको सो भनाइ आएको हो ।

अतिवादीहरु शरणार्थीको भेषमा अफगानिस्तानसँगको सीमा भएकामध्ये एसियाली देशमा पस्न सक्ने पुटिनले चिन्ता व्यक्त गरे । ‘शरणार्थी को हुन् ? कसलाई शरणार्थी मान्ने ? शरणार्थीको भेषमा अतिवादी कुनै दोस्रो देश घुस्न सक्छन्’, पुटिनले भने ।

अफगानिस्तानबाट उनीहरु विभिन्न माध्यम जस्तै कार, घोडा वा पैदलै हिँडेर अर्को देशमा पस्न सक्ने पुटिनको चिन्ता छ ।

मुसलमानहरुको बाहुल्यता रहेको चेचन्यामा विखण्डनकारी आन्दोलनको सन्दर्भ जोड्दै पुटिनले भने, ‘सन् १९९० र २००० को दशकमा भएको तीता अनुभवबाट हामीले पाठ सिक्नुपर्छ ।’

तालिवानलाई छिमेकी मुलुकमा आफ्नो प्रभाव विस्तार गर्नबाट रोक्न तथा उनीहरुको गतिविधि निरुत्साहित पार्न मस्कोले सक्दो प्रयास गर्ने उनले बताए । रसियाले काबुलस्थित आफ्नो कूटनीतिक नियोगलाई खुलै राख्नुका साथै अफगानिस्तानमा नयाँ शासकलाई स्वागत गरिसकेको छ ।

यसअघि अफगानिस्तानका लागि पुटिनका विशेष दूत जामिर काबुलोभले तालिवानले दोहा शान्ति वार्ता अक्षरशः पालना गरेको भन्दै उनको प्रशंसा गरेका थिए ।


Loading comments...