शिखण्डी: इन्दिरा प्रसाई


मैले चौधवर्ष अघि पनि तँलाई भनेकै थिएँ, “ए ! नजाओ न ढुङ्गा हान्न, छिमेकीले हाम्राँ आँखा गाढेकाले भरोसाको मुली खेदाउन खोज्दै छन् ।’ त्यतिबेला मेरो कुरा तिमीहरूले पत्याएनौ ।” हजुरबा चाहिँले आफ्नो छोरालाई लोपार्दै नातिनीसँग भन्दै थिए ।

‘उसैलाई पिर्ने ठहर गरेपछि अहिले तिमीहरूको दलसल पनि सिध्याउने खेल पनि उसैको हो । तिमीहरूका धारे हातले केही हुनेवाला छैन। कुरा बुझिस् तँ स्वाँठले पनि। अब छोराछोरीलाई सुर्याउने मात्रै काम पनि तँ नगर है ! बुझिस् ? ‘

‘उहिले त बूढो बाउको ‘बुद्धि सुद्धि हराएको छ’ भन्थिस् नि, अहिले तेरो बुद्धिले केके लछार्दो रहेछ ? म पनि हेर्दै छु । छँदाखाँदैको त्यत्रो बलियो दल पनि मिलिजुली सखापै पारिछोड्यौ । बेघर नहुञ्जेल तिमीहरूको चाला यस्तै त होला नि ।’

‘हाहाहा’ बुढा धीत मारेरै हाँसेका थिए ।

‘हजुरबा, हाम्रो देशमा कहिलेसम्म यस्तै हुन्छ त ?’ नातिनीको निरास आवाज सुनिएको थियो ।

‘लोभी र पापीले मुलुक बेचुञ्जेल र जनता पनि विवेकहीन भएर आँखा चिम्लेरै नेताका पछिल्तिर कुदुञ्जेल अनि हामी सबैले जस्तै अन्याय अत्याचार पनि निरीह भएर सहुञ्जेल यस्तै हुन्छ नानी ।’ हजुरबाले अनुभवी जवाफ फर्काएका थिए ।

दल नासै पारेपछि अहिले ‘शिखण्डी’ नियति भोगिरहेको छोरो चाहिँ अलि पर्तिर शिर झुकाएर बसेको देखिन्थ्यो ।


Loading comments...