मृत आमाको काखमा सुतेका छोराको वियोगान्त दृश्य चित्रमा


खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनकै ३२ महिने छोराको सो तस्बिरले दुनियाँलाई भावुक बनायो/बनाइरहेको छ । आफ्नै उपचारका लागि ३ भदौमा दुधे बालकसहित नाइट बस चढेर नेपालगञ्ज जानेक्रममा काखमा बच्चा च्यापेकै अवस्थामा प्राण त्यागेकी धर्माकुमारी र उनकै काखमा बसिरहेका बालकको तस्विरलाई कलाकार चार्ली बानियाँले चित्रमा उतारेका छन् ।

भक्तपुर निवासी कलाकार बानियाँले खोटाङका युवा नेता बम बानियाँको आग्रहमा मृत धर्माकुमारी र उनकै काखमा सुतिरहेका बालकको तस्विरको चित्र कोरेका हुन् । छवाली आर्टमा दख्खल राख्ने कलाकार बानियाँले बसको सिटमा प्राण त्याग गरिसकेकी आमा र उनकै काखमा सुतिरहेका बच्चाको तस्बिरलाई चित्रमा दुरुस्त उतारेका छन् ।

‘मेरो अनुरोधमा प्रिय भाई चार्ली बानियाँले यो इतिहासकै दुर्लभ र संवेगात्मक दृश्यलाई चित्रमा उतार्नु भएको हो,’ बम बानियाँले भने, ‘अरु केही गर्न नसके पनि म यो चित्र कोठाको भित्तामा सुरक्षित राख्ने छु । यो सार्वजनिक र भाइरल कथा भए पनि सामान्य मान्छेको कथा भएको हुनाले छिटो स्मरणमा हराउने सोचेर मैले राख्न खोजेको हुँ ।’

नेपालगञ्जमा रहेका श्रीमान दलबहादुरलाई भेट्ने र उपचार गर्ने सल्लाह अनुसार धर्माकुमारी दुधे बालक बोकेर बसको यात्रामा निस्केकी थिइन् । तर, उनले श्रीमानलाई भेट्न पाइनन् । रातको समयमा गुडिरहेकै बसको सिटमा उनको प्राणपखेरु उड्यो । उनको काखबाट खसेका बच्चा रुन थालेपछि मात्र अन्य यात्रुले धर्माकुमारीको मृत्यु भएको थाहा पाएका थिए । फकाउँदा पनि नमानेपछि अन्य यात्रुले बालकलाई मृत आमाकै काखमा राखिदिएको समाचार सार्वजनिक भएको थियो ।

:: नयूजकारखाना


Loading comments...