कप्तान रेणुका भन्छिन् : ‘साम्बालाई मिस गरिरहेका छौं, तर निराश हुनुपर्ने अवस्था छैन’


काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेले घाइते सावित्रा भण्डारी (साम्बा) बिना पनि नेपाली टोली एएफसी एसिया कप छनोटको खेल खेल्न तयार रहेको बताएकी छन् ।

बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा पत्रकारसँग बोल्दै कप्तान रेनुकाले कतार अस्पेटारमा घुँडाको शल्यक्रिया गरि आराम गरिरहेकी सावित्राबिना पनि युवा खेलाडीले एसिया कप छनोटको खेल खेल्ने तर्क गरेकी हुन् ।

‘स्ट्राइकर अहिलेको बहिनीहरु पनि सबै राम्रा आएका छन् । साम्बा (साबित्रा भण्डारी) नभएको मात्रै हो । ‘साम्बा’को स्थानमा अरु बहिनीहरु आएका छन् । साम्बा एउटा नभएर त्यस्तो फरक पर्दैन,’ कप्तान रेनुकाले भनिन् ।

गत फागुनमा भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिसविरुद्ध मैदानमा ‘ल्याण्ड’ हुने क्रममा साम्बाले घुडाको चोट बोकेकी थिइन् । त्यसपछि गरिएको एमआरआईमा उनको घुटाको ‘एसीएल’ च्यातिएको पुष्टि भएको थियो ।

त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार फुटबल एशोसियसनको सहयोगमा सावित्राको अस्पेटार अस्पतालमा शल्यक्रिया गराइसकेको छ । हाल उनी सामान्य हिँड्डुल गर्न थालेकी छन् । ‘रिकवरी’ पछि मैदान फर्कन भने केही महिना अझै कुर्नुपर्नेछ ।

नेपालको राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी दक्षिण एसियाली महिला फुटबलमा उत्कृष्ट स्ट्राइकरमध्ये पहिलो नम्बरमा गनिँदै आएकी छन् ।

सावित्राले एएफसी एसिया कप २०२२ अन्तर्गत समूह ‘एफ’ का सबै खेल गुमाउने छिन् । असोज २ गते हुने फिलिपिन्स र ५ गते हङकङसँगको खेल गुमाउने पक्का छ । यस्तै उनले भदौ २४ र २७ गते बंगलादेशसँग हुने खेल समेत गुमाउने छन् ।

यति बेला नेपाली टिमले प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा एन्फा मैदानमा दिनको दुई समय अभ्यास गरिरहेको छ ।

राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्राको चोटसँगै पुरा टिम नयाँ सावित्राको खोजीमा छ । प्रशिक्षक ग्यारीसमेत नयाँ खेलाडीलाई सावित्राको स्थान दिन चाहन्छन् र त्यसैको परीक्षणमा छन् ।

कप्तान रेणुका नयाँ खेलाडी टोलीमा आएको र सबैको परीक्षण भैरहेको बताउँदै अहिले नै सावित्राको स्थान लिने खेलाडीबारे भन्न नसकिने जानकारी गराउँछिन् ।

‘अहिलेनै भन्न सकिँदैन । प्रशिक्षकले सबैलाई परीक्षण गराइरहनु भएको छ । यसैले सावित्राको स्थान लिन्छ भन्ने छैन । सबैजना अहिलेको अभ्यासमा बराबरी नै छन् । सावित्रा छैन भनेर एकदमै निराश हुनुपर्ने ठाउँ छैन । नयाँ बहिनीहरु राम्रो छन् । अझ सबैजना युवा छन् । उमेर समूहमा सबैले खेलेका छन् । त्यसैले निराश हुनु पर्दैन,’ उमेर समूहमा समेत नेपालको प्रतिनिधत्व गरेकी मिडफिल्डर रेणुकाले न्यूजकारखानासँगको कुराकानीका क्रममा भनिन् ।

यस्तै रेणुकाले सावित्रा टोलीको एकदमै महत्वपूर्ण खेलाडी रहेको र टोलीले यस छनोट खेलमा उनलाई धेरै ‘मिस’ गर्ने बताइन् ।

यता, रेणुकाले दुई वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली टिममा धेरै परिवर्तन भएको र युवा खेलाडीलाई एसिया कप छनोट एउटा अवसर पनि रहेको बताइन् । यस्तै उनले यसअघि समेत हङकङसँग खेलिसकेको र यसपटक कुनै तनाव नलिइ खेल्ने र एसिया कप छनोट नभएपछि आगामी दिनमा युवा खेलाडीलाई अन्य ठूला टिमसँग खेल्ने हौसला प्रदान गर्ने बताइन् ।

‘दुई बर्षपछि खेल्न जाँदैछौं । टोलीमा धेरै परिवर्तन भएको छ । सागमा धेरै सिनियर खेलाडी थियौं । यो पटक नयाँ खेलाडी आएका छन् । नयाँ खेलाडीले पनि उमेर समूह खेलेकाले त्यस्तो फरक पार्दैन,’ उनले भनिन्, ‘हामीले एसियन लेभलमा खेल्न पाएको छैन । त्यसैले हौसला पनि छ । छनोटको लागि खेल्ने हो । छनोट नभएपनि सबै युवा छन् । आगामी दिनमा यस्तो खेलले हौसला प्रदान गर्नेछ ।’

तस्वीरः ANFA


Loading comments...