अनुदानको मल निजी पसलमा बिक्री


कपिलवस्तु । सरकारले अनुदानमा उपलब्ध गराएकाे रासायनिक मल एग्रोभेट र किराना पसलमा बिक्री भइरहेकाे पाइएकाे छ । बाणगंगा नगरपालिकाले बजार अनुगमनका क्रममा अनुदानको मल व्यापारीसँग पुगेको भेटिएको हाे । कृषकलाई सस्तो मूल्यमा मल बेच्नका लागि स्थानीय सरकारमार्फत सहकारी संस्थाले जिम्मा पाएका हुन् ।

कालोबजारी नियन्त्रणका लागि नेपाल सरकारले स्थानीय सरकारमार्फत मलकाे व्यवस्थापन गरे पनि कालाेबजारी नराेकिएकाे पाइएकाे छ । नगरपालिकाको अनुगमनटोलीले वडा नम्बर २ को अधिकारी एग्रोभेटमा ४ बोरा, वडा नम्बर ४ को अनुप किसान भेट सेन्टरमा ६ बोरा र वडा नम्बर ९ को आदर्श गल्ला भण्डारमा ७ बोरा मल फेला परेको छ ।

अनुगमन टोलीले फेला परेको १७ बोरा अनुदानको मल जफत गरेको छ । आदर्श गल्ला भण्डार गत वर्ष पनि मल कालोबजारी गर्दा समातिएको थियो । कृषकहरूले पाउने अनुदानको मल सहकारीहरूको बदमासिका कारण एग्रोभेट र किराना पसलमा भेट्नु गैरकानुनी काम भएको लेष बहादुर केसीले बताए । मलको दुरुपयोग गर्ने सहकारीको पहिचान गरी खारेजीको प्रक्रिया अगाडि बढाइने बाणगंगा नगरपालिकाका उप-प्रमुख चक्रपाणि अर्यालले बताए ।

अनुमतिबिना किसानले पाउने अनुदानको मल बिक्री वितरण गरेकोले ति पसललाई मल बेच्न बन्द गर्ने अनुगमन टोलीले चेतावनी दिइएको छ । नगरमा सञ्चालित पसलमा कुनै मापदण्ड पुरा भएको नदेखिएको, सञ्चालन भएको ठाउँ पनि निकै फोहर र दुर्गन्धित रहेकाले तुरुन्त बन्दको लागि १५ दिने चेतावनी पत्र थमाइएको छ ।

गत वर्ष पनि आदर्श गल्ला भण्डारमा अनुमतिबिना मल बिक्री गरेकाे पाइएपछि नगरपालिकाले जरिवाना गराएको थियो । अनुगमन टोलीले १५ दिनभित्र छड्के अनुगमन गर्दा पनि त्यस्तै भेटिए सो गल्ला भण्डारलाई सिल गरिने चेतावनी दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नेपाल सरकारबाट तोकिएको निकायबाट अनुमति लिई बाणगंगा नगरपालिकाको क्षेत्रभित्र जुनसुकै कारोबार गर्ने व्यक्ति वा संस्थाले व्यवसाय-कारोबार सञ्चालन गरेबापत नगरपालिकामासमेत सूचिकृत-दर्ता भई नगरसभाबाट तोकिएको दररेटको अधिनमा रही वार्षिक व्यवसाय कर बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको छ ।


Loading comments...