अब हुम्लामा हवाईसेवा मार्फत् जिल्ला बाहिरिने यात्रुलाई परिचयपत्र अनिवार्य


हुम्ला, न्यूजकारखाना । सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो ।

विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्ग हुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान गरिएको जानकारी दिए । उनका अनुसार अन्य विमानस्थलमा यस्तो प्रावधान छ ।

हुम्ला जिल्लामा लामो समयदेखि हवाई उडान भर्दै आए पनि परिचय खुल्ने प्रमाण नभए पनि जिल्ला बाहिरने गरेको थियो । तर हाल परिचय खुल्ने कुनै प्रमाण नभए जिल्ला बाहिरिन नपाइने भएको छ । विगतका दिनहरूदेखि नै जिल्ला बाहिर जानका लागि सो नियम लागु गरिए पनि त्यसको खासै प्रभाव थिएन ।

हाल उक्त नियमलाई निरन्तरता दिँदै जिल्ला बाहिर हवाई जहाजमार्फत जाने यात्रुलाई परिचयपत्र अनिवार्य गरेको हो । सदरमुकाम सिमकोबाट जिल्ला बाहिर जानुपर्दा अनिवार्य रुपमा परिचयपत्रको आवश्यक पर्ने भएको हो ।

कुनै घटना घटेमा सहजै जानकारी हुने भएकाले प्रत्येक व्यक्तिको परिचय खुल्ने विवरणलाई निरन्तरता दिइरहेको हुम्ला विमानस्थलका प्रमुख गिरीले बताए । सुरक्षा निकायलाई नाम दर्ता गर्दा पूरा विवरण लग्नुपर्ने आदेश गरिएको छ ।

पछिल्लो समय हुम्लामा केही घटनाहरु बाहिरिएपछि जिल्ला बाहिरने यात्रुहरूमाथि निगरानी बढाइएको विमानस्थल कार्यालयले जनाएको छ ।


Loading comments...