
आर्थिक विकास र महेन्द्रको राष्ट्रवाद
१२ भाद्र २०७८, शनिबार ०९:३८
अत्यन्तै कुख्याति कमाएका युगान्डाका राष्ट्रपति मिल्टन ओबोटे देशभित्र अत्यन्तै अलोकप्रिय भएका थिए। सन् १९६२ मा प्रधानमन्त्री भए देखि नै उनको महत्वाकांक्षा बढेर गएको थियो। सत्ताको दुरुपयोग गर्न थालेपछि भने उनको विरोध ह्वात्तै बढेर गयो। ओबोटेले सुनको तस्करी गरेको आरोपमा संसदले छानविनको माग गर्यो। छानविनमा उपस्थित हुनुको साटो उनले संसद नै विघटन गरि दिए। आफूलाई (सन् १९६६ मा) राष्ट्रपति घोषणा गरे। उनले आफूलाई पूर्ण शक्ति सम्पन्न मात्र पारेनन, युगान्डामा आपतकाल (Emergency) लागू पनि गरे। आफ्ना धेरै विरोधीहरूलाई जेलमा बन्द गरे। ओबोटेको कुशासनको बिरोध युगान्डाभरि हुन थाल्यो। हुन पनि, पूर्ण शक्ति आफ्नो हातमा लिन उनले संविधान नै परिवर्तन गरिदिए। आफूलाई राष्ट्रपति घोषणा गरे। सबै अधिकारहरू राष्ट्रपतिमा केन्द्रित गरेर आफू अति शक्तिसाली बने ।
तर ओबोटेको शक्तिक-यात्राले निरन्तरता पाउन सकेन। सन् १९७१ मा कमनवेल्थको सम्मेलनमा भाग लिन उनी सिंगापुर गएको बेलामा उनकै विश्वास पात्र एवं सेना अधिकारी इदि अमिनले सैनिक विद्रोह (Coup) गरेर ओबोटेलाई सत्ताच्यूत गरि दिए। इदि अमिन आफू राष्ट्रपति भए।
भनिन्छ इदि अमिनले शासन आफ्नो हातमा लिएको दिन वा ओबोटेको पतन भएको दिन युगान्डाको जनताले ठूलो हर्ष मनायो। नागरिकहरूले राजधानी कम्पाला तथा वरपरका स्थानहरूमा अनेक बत्तिहरू बालेर त्यसरी नै दिपावली मनाए जसरी काठमाण्डौमा २०४६ साल पञ्चायतको पतन भए पछि मनाइएको थियो। युगान्डाबासीहरूले सडकमा नाचगान गरे, खुसी साटासाट गरे। ओबोटेको पतन र अमिनको आगमनमा अति नै हर्षित भए।

मिल्टन ओबोटेको पतनपछि युगान्डाबासीको खुसी अझै बढेर जानु पर्ने थियो किनभने उनीहरूले निरंकुश शासक (मिल्टन ओबोटे) बाट मुक्ति पाएका थिए। अर्कोतिर नया राष्ट्रपति (इदि अमिन) को स्वागत गर्ने मौका पाएका थिए। नया राष्ट्रपतिमा निकै सम्भावनहरू देखेका थिए। तर इदि अमिनको शत्तारोहण सँगै जनताको निराशाको क्रम तिब्र गतिमा अगाडि बढ्न सुरु भयो। अमिनले जनतालाई निराश मात्र पारेनन्, पीडित एवं भयभित पनि पार्न थाले। अमिनले आफ्नो नौ वर्षे शासन (सन् १९७१-१९७९) कालमा करिब ५ लाख युगान्डाबासीहरूको हत्या गरे। पाँच महिलाहरूसँग विवाह गरेका वहुस्त्रीगामी अमिनको ४३ सन्तानहरू रहेको अनुमान गरिन्छ। इदि अमिनको “सिल्ली व्यवहार” विश्व प्रशिद्ध छ।
अमिन भन्दा पहिलेका राष्ट्रपति ओबोटे निरंकुश मात्र थिए, इदि अमिन जस्तो सिल्ली, सन्की एवं विवेकशून्य थिएनन। ओबोटेले सत्ताको दुरुपयोग मात्र गरे, नेपालमा पञ्चायतकालमा राजा लगायत नेताहरूले सत्ताको दुरुपयोग गरे जस्तो। तर अमिनले आफ्नो शासन कालमा युगान्डालाई “जंगलराज” नै बनाइ दिए, जसरी अहिले प्रजातन्त्रवादी र गणतन्त्रवादी नेताहरूले नेपाललाई बनाइ दिइका छन्। अमिनले आफ्नो विरोधीहरूको तत्काल, बिना कुनै न्यायिक सुनवाइ, हत्या गर्न गर्न लगाए। आफू विरुद्ध षणयन्त्र गरेको आशंका गर्दै उनले, यहाँसम्म कि, एक पटक आफ्नो एक महिला निजी सचिवको हत्या गरेर उनको मुटु, कलेजो पकाउन लगाएर खाए रे। अमिनका उत्पात र आतंकका अनेक कथाहरू छन। ती सबै यो सानो आलेखमा समाबेस गर्न सकिंदैन। केही उदाहरणहरू मात्र हेरौ।
अमिनले धेरै किसिमका मान पदवीहरूको स्थापना र प्रदान गरेको घोषणा गरे। मान पदवी सहितका अनेक पदक र तक्काहरू आफैले लिए। त्यसरी प्राप्त गरेका तक्माहरू कोटमा माथिबाट तलसम्म भिरेर हिंड्ने गर्थ्ये, दादा इदि अमिन, नेपालका अहिलेका गणतन्त्रवादी नेतालहरूले जथाभावि बोलेजस्तो। नेपालको अस्मितालाई आँच पुर्याए जस्तो।
इदि अमिन, एकपटक एक सानो होचो छाप्रोमा एक कुर्सी राखेर बसे अनि कम्पालामा रहेका विदेशी कुटनितिज्ञहरूलाई भेट्न बोलाए। विदेशीहरू अग्लो र अमिन बसेको छाप्रो होंचो भएकोले भेट्न जाने सबैले उनीसँग हात मिलाउन छाप्रो भित्र पस्दा निहुरिनु पर्ने भयो। यस किसिमको दृश्यतिर देखाँउदे अमिनले आफ्ना सहयोगीहरूलाई भने, “हेर, म कति विश्व प्रसिद्ध र ठूलो मान्छे हुँ, मसँग हात मिलाउन सबै मेरो अगाडि निहुरिरहेका छन्।”
इदि अमिनका यस्ता शिल्ली र क्रूर कार्यहरूबाट दिक्क भएक युगान्डाबासीहरूले उनीबाट मुक्ति पाउन निर्वाचनमा पुन: ओबोटको पार्टीलाई धेरै मत दिएर बिजयी गराए।
नेपालमा पनि युगान्डाको स्थित देखिंदैछ।
पञ्चायती व्यवस्थालाई नेपाली जनताले २०४६ सालमा समाप्त पार्यो। यो व्यवस्थाको समाप्तिको खुसियालि देशभरि दिपावली मनाएर गर्यो। प्रजातन्त्रको आगमन र पञ्चायती व्यवस्थाको पतन भएकोमा जनता अत्यन्तै हर्षित थयो। तर जनताको त्यो हर्ष लामो समयसम्म रहन सकेन। शेरवहारदु देउवा- सरकारको आकार र क्रियाकलाप तथा माओवादी संघर्षसँगै, २०५२ सालदेखि, जनताको हर्ष ओर्हालो लाग्न थाल्यो। अहिले स्थिति यस्तो भएको छ कि नेपालीहरूले राजा आउ देश बचाउ भन्न थालेका छन्, युगान्डामा इदि अमिनलाई सत्ताच्यूत गर्न जनताले पुन: मिल्टन ओबोटेको दललाई विजयी गराए जस्तो गरी।
जनताको अनुभव र विश्लेषण अनुसार पञ्चायत वा राजतन्त्र हुँदा देशको अस्मिता दाउमा लगाउने जस्तो घृणित कार्य भएको थिएन। राजाहरू जनतासँग डराउँथे। भ्रष्टाचार नियन्त्रण गर्थ्ये। शक्ति केन्द्र केवल एक राजदरवार थियो। तर अहिले देश अनुशानहीन भएको छ। नेताहरू आफ्नो स्वार्थका लागि देशको अस्मिता नै दाउमा लगाएर हिंडिरहेका छन्। सत्ता र शक्तिको लागि नेताहरू जस्तो सुकै कार्य गर्न पनि तयार छन। देश भित्र जहिले पनि कलह छ। कलहरू एक पछि अर्को गरि जन्म लिइ रहेका छन्। पहिले एउटा मात्र राजा दिए, अहिले नेपालमा थुप्रै राजाहरू छन्। केही राजाहरूले नेपाल टुक्र्याइ दिन्छु भन्दै धम्कि पनि दिइरहेका छन्।
तर नेपालका यी अनेक राजाहरूले पञ्चायत काल र राजाहरूको आलोचना गर्ने “नैतिक वजन” गुमाइ सकेका छन्। पञ्चायत काल भन्दा पनि स्वच्छ व्यवस्था यी गणतन्त्र एवं प्रजातन्त्रवादी नेताहरूले दिन सकेको भए यिनीहरूले आलोचना गर्ने “ठाउँ” हुन्थ्यो।
अहिलेका नेताहरूले राजा महेन्द्रलाई सत्तो सराप गरेको झनै उदेक लाग्दो छ। यी नेताहरूले आफ्नो र महेन्द्रको शासन कालको तुलना गरे हुन्छ। नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको एवं पूर्वका जनतालाई पश्चिमको जनतासँग जोड्ने महेन्द्र वा पूर्व-पश्चिम राजमार्गको निर्माण राजा महेन्द्रको पालामा नै भएको थियो। पथलैया, नारायणघाट, निजगढड, चन्द्रनिगाहपुर, लालबन्दी, ढल्केवर, लहान जस्ता नव निर्मित बजारहरूको विकासमा महेन्द्र राज मार्गले महत्वपूर्ण योगदान पुर्यायो। अहिलेको नयाँ पुस्ताहरूलाई थाहा छैन होल, सडकको अभावमा नेपालीहरू नेपालकै स्थानहरूमा जान भारतीय भूमि भएर जानु पर्थ्यो। उदाहरण, वीरगञ्जबाट गौर, मलंगवा, सिरहा, जनकपुर, विराटनगर जान रक्सौल हुँदै रेल चढेर जानु पर्थ्यो। महेन्द्र राजमार्ग निर्माण पछि यो ससम्या समाधान भयो। विरगञ्जको आर्थिक विकासमा महेन्द्रको ठूलो योगदान छ।
आर्थिक विकासको एक अर्को उदाहरण। मधेसका धेरै नेताहरूले राजा महेन्द्रलाई सत्तो सराप मात्र गर्दैनन्, साथै “महेन्द्रीय राष्ट्रवाद” भन्दै उनलाई मधेसको शत्रुको रुपमा चित्रित गर्छन। केही नेताहरुले यस्तो गर्नु स्वभाविक हो किनभने यस्तो गरेर मात्र उनीहरूले आफ्नो राजनैतिक जीवनलाई दीर्घ तुल्याउन सक्छन। हुन पनि केही गर्न नसक्नेले अरुको मात्र बढि आलोचना गरेर राजनीति गर्छ। तर मधेसी जनताले यो पत्याउनु दु:ख लाग्दो कुरा हो। यस तथ्यका केही उदाहरणहरू: महेन्द्रले मधेसको आर्थिक विकास गर्न जचुकाली, वीरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना आदिको स्थापना गरे। विभिन्न समुदायको बसोबास भएको क्षेत्रको द्रुततर गतिमा आर्थिक विकास हुन्छ भन्ने “अमेरकी आर्थिक मोडेल” को प्रयोग गर्दै महेन्द्रले मधेसको आर्थिक विकास गर्न यहाँ विभिन्न जात जाति एवं समुदायहरूको वसोबास गराए। अहिलेको पुस्तालाई थाहा नहुन सक्छ, आजभन्दा पचास साठ्ठी वर्ष पहिले मधेशमा हैजा, मलेरिया लागेर बस्न सक्ने स्थिति थिएन। तर यस क्षेत्रमा “मलेरिया उन्मुलन” कार्य महेन्द्रको पालामा नै भएको हो। जमिन्दार वा बढी जग्गा हुनेहरूबाट जमिन लिएर गरिब परिवारहरूमा बाड्न एवं तराइमा भूमि व्यवस्थापनालई आधुनिक पारेर कृषि उत्पादन बढाउन महेन्द्रले नै २०२१ सालमा “भूमि सुधार” लागू गरे।
नेपालको आर्थिक एवं राजनैतिक विकास यो मुलुक असंलग्न रहनुमा नै छ, यो मुलुकको सार्भौमसत्ता र स्वतन्त्रता असंलग्नताबाट नै जोगाउन सकिन्छ भन्ने उद्देश्यबाट प्रेरित भएर महेन्द्रले असंलग्न अभियान (Non-Aligned Movement) मा सक्रिय भाग लिए। असंलग्न अभियानको स्थापना सन् १९६१ मा बेलग्रेडमा, जवाहरलाल नेहरू, सुकार्नो, गमाल अब्देल नासेर, वामे क्रमाह र जोसिप ब्रोज टिटो को अगुवाइमा भएता पनि, उनीहरूको नाम बढी चर्चामा आएता पनि, यो अभियानको स्थापना र विकासमा महेन्द्रले निकै महत्वपूर्ण योगदान पुर्याएका थियो। यी नेताहरूले बुझ्ने पर्ने हो, राजा महेन्द्रले नेपालको सार्भौमसत्ता नजोगाएको भए, नेपाल भारतमा सिक्किम जस्तो विलय भएको भए, राजा महेन्द्रको आलोचना त के नेपाली हुँ भन्न पाउने औसरबाट पनि बञ्चित हुने थिए। २०१७ सालमा महेन्द्रले गरेको कार्य निश्चय पनि अशोभनीय एवं दु:खद थियो। तर त्यस्तो समय आउनुमा तत्कालीन राजनीतिको पनि दोष थियो, जस्तो कि अहिलेको राजनीतिबाट दिक्क भएर जनताले राजा आउ देश बचाउ भन्ने स्थिति भए जस्तो।
राजनीतिमा को कति कम तानाशाह र निरंकुश छ भनी हेर्न तुलना गरिन्छ, इदि अमिनको मिल्टन ओबोटेसँग तुलना गरिए जस्तो। नेपालको सन्दर्भमा, को इमान्दार राष्ट्रवादी देखियो भनी प्रजातन्त्रवादी, गणतन्त्रवादीहरूको तुलना महेन्द्र वा पञ्चायती व्यवस्थासँग गरिए जस्तो ।
मधेसको आर्थिक विकासम महेन्द्रको राष्ट्रवादले महत्वपूर्ण भूमिका खेलको तथ्यलाई अस्वीकार गर्नु पूर्वाग्रह मात्र हुनेछ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको