राप्तीका मेसुमाथि अभद्र व्यवहार प्रकरण : अस्पतालको सेवा ठप्प, दोषीलाई कारवाहीको माग


दाङ, न्यूजकारखाना । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहमाथि अनेरास्ववियुका दाङका संयोजकले कालोमोसो दलेका छन् । अस्पतालको कार्यकक्षमै मेडिकल सुपरिटेन्डेन्ट डा सिंहलाई नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारसहितको समूहले कार्यकक्षमा अभद्र व्यवहार गर्दै कालोमोसो दलेको हो । अनेरास्ववियु संयोजक परियारको नेतृत्वमा गएको ४/५ जनाको समूहले मेसुसँग सामान्य कुराकानी गर्दै गरेको अवस्थामा शुक्रवार कार्यकक्षमा कालोमोसो दलिएको हो ।

विनाकारण अस्पतालको मेसुलाई कालोमोसे दलिएपछि अहिले अस्पतालमा कार्यरत स्थास्थयकर्मी तथा चिकित्सकहरु आन्दोलित भएका छन् । सुरक्षाको माग गर्दै दोषीलाई कानुनी कारवाही नहुँदासम्म अस्पतालमा इमरजेन्सी, सुत्केरी, डायलासिसलगायत अतिआवश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको छ । कारवाहीको माग गर्दे इलाका प्रशासन कार्यालयमासमेत शनिवार दिउँसो धर्ना दिएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्का लगायतकाको नाममा किटानी जाहेरीसहितको उजुरी अस्पताल प्रशासनले दर्ता गरेको प्रहरीले जनाएको छ ।


Loading comments...