
१६ औं ज्यापु दिवस अनि योमरी पुन्हि
कृषिकार्यसंग नेवा संस्कार अनि सभ्यता वहुतै नजिक छ । विविध प्राचिन संस्कारका धनी अनि परम्पराका राजा समुदाय नेवा समुदायले हरेक वर्षको योमरी पुन्हिलाई विशेष रुपमा मनाँउदै आएका छन् । समुदाय त एउटा कारण मात्र हो नेवा समुदायको यस्ता परम्परा अनि रिवाजका कारणले समग्र नेपाल नै पुलकित भएको छ । हामी सबैलाई जीवनको घच्चा घमाशान र तनावबाट केहिबेर भएपनि मुस्कुराउने कारण दिएको छ ।
योमरी पुन्हि कृषिकार्यसंग अत्यन्त निकट चाड हो । खासमा यो धान्य पूर्णेका रुपमा पनि उत्तिकै महत्वपूर्ण दिन पनि हो । धान काट्ने अनि वाली भित्राएपछिको पूर्णिमा जुन कृषि कार्यको एउटा उत्कर्षको चाड हो । नयाँ धानको आलो चामलको पिठोलाई माछाको जस्तो स्वरुप बनाएर त्यसभित्र चाकु, खुवा लगायतका मरमसला हालेर पानीको वाफमा मम पकाए झैं यो योमरी पकाउने चलन छ ।तातोतातो योमरी नयाँ चामलको पिठोले बनाएपछि एक प्रकारको वाफमा खेत अनि कृषिकार्यको सुवास आँउछ । कुनै चिल्लो कुरा या अन्य हानिकारक कुरा नहालिएकाले यो योमरी स्वास्थका दृष्टिले गज्जब मानिन्छ । अर्कोतर्फ माछामासु भित्र नहालिएकाले यो धेरै दिन सम्म राख्न पनि सकिन्छ ।

कतिपय पूर्वका साथी अनि नेपालको पूर्व पुग्नु भएका साथीहरुलाई थाहा हुनपर्दछ यस्तै अर्को परिकार भक्काका बारे । भक्का भित्र केही राखिदैन र भक्कालाई भनें अचारमा डोबेर खाइन्छ । योमरी चाँही मिठो अनि भक्का भन्दा फरक हुन्छ । योमरीको स्वरुप केहि त्रिकोणत्मक आकारको हुन्छ, दुईवटा अर्धत्रिकोण गोलो स्वरुपमा जोडिए झैं । अर्धषटकोण झैं देखिने यि त्रिकोणात्मक आकारले सरस्वतीको प्रतिबिम्ब दिने गर्दछ । जस्तै दौरासुरुवालका ८ वटा तुनाले अष्टचिरन्जीवीलाई प्रतिविम्बीत गर्दछ अनि जसरी नेवा सभ्यताको प्रचलित भोजन समयबजी स्वयम ईन्द्रको भोजन अनि देवताहरुले दिएको अमृत भोजन संगको शक्तिवर्धक तुलना गरिन्छ । त्यस्तै योमरीको सेतो रंग अनि अर्ध षट्कोणले सरस्वतीको ज्ञान र रंगको संकेत गर्दछ ।
योमरी च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्यस् छिं त्यस्, बकछिं त्यस्
लातापाता कुलिचां जुसें त्यस्।।।।
काठमाण्डुका गल्लीहरुमा भेष बदलेर धनका राजा कुवेर बिचरण गर्दाको प्रसंगसंग योमरीको यश जोडिएको छ । राजा कुवेर गरिब भेषमा हिँडिरहेकामा एउटा नेवा समुदायको परिवारले उनलाई योमरी खान दिएको कथन छ । यसरी सत्कार अनि आतिथ्यले गदगद भएका कुवेरले धनधान्यले अपार रहने वरदान दिएको कथन छ । काठमाण्डुको हरिसिद्धि र ठेचोमा यस दिन बिशेष मुखौटा लगाएर हिँड्ने अनि नाचगान गर्ने चलन रहेको बताइन्छ । केटाकेटीहरुले देउँसी भैलो झैं गरेर यस दिन योमरी घरघरमा माग्दै हिँड्ने अनि नाचगान गर्ने चलन पनि छ ।
जाडोमा आउने यस पूर्णे विशेष छ । हिँउदका सिरेटोले हान्न थालिसके र घामहरु पारिला अनि न्याना भइसके । यसपाला राम्रो उब्जनी होस्, तुषरोले बाली नखाओस् । टमाटर, मटर, गाँजर लगायतका बारीका कन्दमुलहरु सप्रिउन अनि सबैको मुस्कानमा हाँसो रहोस् ।
उता बिसं २०६१ बाट योमरी पुन्हे कै दिन राष्ट्रिय ज्यापु दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डौ उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा आयोजना हुने ज्यापु दिवस आज काठमाण्डौको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथी हाकु पटासी अनि ज्यापु लः अर्थात ज्यापु लुगाले त झन जात्रा हेर्नलायकको देखिन्छ ।
मौका परे जात्रा तिरै भेटौं, सकेसम्म आजको दिन योमरीको स्वाद लिन खोज्नुहोला । बिदेशमा भएकालाई प्रेम अनि स्वदेशमा भएकालाई सदभाव ।
लाईभमाण्डु हेर्दै रहनुहोला है ।