सन्तानलाभका लागि डाक्टरसँग मिति लिंदालिंदै जब नानुकलालाई बेथा लाग्यो


काठमाडौं, न्यूजकारखाना । सामान्यतया सन्तान प्राप्तिको अवधि ९ महिना हुन्छ । आमा गर्भवती भएको ९ महिनामा बच्चालाई जन्म दिन्छिन् । तर यो औसत समय सबैमा लागु हुँदैन । कोहीले ८ महिनामै त कोहीले ९ महिना पनि कटाउँछन् । फेरि हाम्रो नेपाली समाजमा सन्तान प्राप्तिका लागि शुभ साइत हेर्ने चलन पनि छ । खासगरी चिकित्सा सहयोगमा सन्तान प्राप्त गर्ने अवस्थामा साइत हेर्ने चलन छ ।

राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) दम्पतीले पनि सन्तान प्राप्तिको चरणमा साइत हेर्‍यो । गर्भवती श्रीमती नानुकलाको सल्लाहमा माइलाले ज्योतिषसँग साइत हेराउँदा १४ भदौ सोमवार विहान ७ देखि ९ बजेको तिथिमिति तय भयो । पाटन अस्पतालमा १४ गते अप्रेशन गर्ने मनिस्थिति माइला दम्पती बनायो । सोही अनुसार १० गते नियमित फ्लोअप रिपोर्ट पनि हेरियो । डाक्टर पवन शर्माले १३ गते अपरेशन तय गरे ।

तर जन्म र मृत्यु मनुष्य वा चिकित्सकको हातमा कहाँ छ र । यो त दैवको लिला हो । नियमित फ्लोअपका क्रममा गर्भवती नानुकलाले आफ्नो असहज अवस्थाबारे जानकारी गराएपछि डाक्टर शर्माले जोखिम लिन नसकिने भन्दै विशेष निगरानी (अब्जर्वेशन)मा राखे । निगरानीका क्रममा त्यहीँ दिन (१० भदौ) अप्रेशन गर्नुपर्ने भयो । यसअनुरूप अपरेशन थियटर (ओटी) को पालो पर्खिदा पर्खिंदै पुत्रीका रुपमा नयाँ सन्ततिको जन्म बेलुका ८ बजेर २० मिनेटमा भयो । आमा ओटीबाट करिब १० बजेतिर रिकभरी वार्डमा सिफ्ट भइन् ।

‘मानिस जन्मिनुपर्ने दिन र समय आफ्नै हुँदोरहेछ,’ साइत नफापेपछि माइलाले भनेका छन्, ‘प्रतिक्षारत् हाम्रो नयाँ सन्ततिको जन्म आफ्नै समयमा भयो ।’

माइलाका अनुसार अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो छ । ‘व्यग्र प्रतिक्षाको घडी सकिएर नवजात शिशु हाम्री प्यारी सानी छोरी हामीले पहिलोपटक देख्न पाएको क्षण’ भन्दै माइलाले शिशुको तस्विर शेयर गरेका छन् ।

माइलाले अगाडि भनेका छन्, ‘उनको आमाको गर्भमा घुन्टुङ घुन्टुङ चल्न थालेपछि मैले बोलाउने गरेको उनको नाम ‘घुन्टुङ’ हो । न्वारानको लागि उपयुक्त नाम सोचिँदै गरेको अवस्था । अर्थपूर्ण र छोटो । त्यस्तो भेटिए जानकारी पाऊँ हजुर हो ।’


Loading comments...