Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

मेघदूत – नेपाली अनुवाद

१३ भाद्र २०७८, आईतवार १०:३५

सन्तोष देवकोटा । कविकुल शिरोमणि, संस्कृतका महाकवि कालिदासद्वारा रचित काव्यहरुमा ‘मेघदूत’ले आफ्नो विशेष स्थान राख्दछ । मेघदूतमा कविको कमनीय कल्पना (कामना गर्न सक्ने कल्पना)लाई आफ्नो मौलिक रुपमा मुखारित गरिएको छ । मेघ (वर्षा) तथा माघको महिमा नै अनुपम छ । हरेक पावस (आषाढ देखि भाद्र महिनासम्मको वर्षाकाल) मा मेघदूतको पाठ गर्दै आफ्ना सहृदयी नजिकका साथीहरलाई सुनाउने क्रम समेटिएको सुन्दर काव्य र यो क्रम धेरैदिनसम्म चलिरहन्छ ।

मेघदूत एउटा अद्भूत पुस्तक हो । यो एउटा अप्रतिम  महाकविको कल्याणी-वाणी प्रति अविचल भक्ति तथा अशिथिल श्रद्धा देखिन्छ । विश्वमा विपुल-विरह-वेदना तथा मधुर-मिलनको आकाँक्षालाई कोमलकान्त-पदावलीमा अभिव्यक्त गर्ने सर्वोत्तम काव्य हो मेघदूत । हुन त मानव हृदयको सुन्दर, सरस एवं सजीव विश्लेषण गर्नसक्ने कवि कालिदासको उत्तम काव्य श्लोकहरुको विशद्-ब्याख्या को हिम्मत कसैले गर्न सक्दैन । किनकी यो काव्य प्रकृतिको समिप रही, प्रकृतिसँग साक्षात्कार गरी विस्तार गरिएको कमनीय कल्पना हो र यो अवसर महाकवि कालिदासले तयार पार्नसक्नुभयो । यो विश्व विख्यात काव्य संस्कृत साहित्यको परम धवल रत्न हो । केहि विख्यात कविहरु यसलाई दूत काव्य पनि मान्छन् । कारण के भने महाकविले मेघलाई यसमा दूतको रुपमा ब्याख्या गर्नुभएको छ र अत्यन्त सरल मानिने मन्दाक्रान्ता छन्दमा लेखिएकोले यसलाई गीतिकाव्य पनि मान्ने गरिन्छ । मेघदूत पढ्दै-बुझ्दै जाँदा काव्यरसको वर्षा भएको महशुस हुन्छ र पाठक निरन्तर भिजिरहन तथा आनन्दित भइरहन सक्छ ।

मेघदूत महाकवि कालिदास की अप्रतिम (बेजोड, अनुपम) रचना हो । कालिदासका सम्पूर्ण रचना एकातर्फ मेघदूत एकातर्फ, यो रचना मात्रले उनलाई ‘कविकुल गुरु’ उपाधिबाट मण्डित (विभूषित) गर्ने सामर्थ्य राख्दछ । मेघदूत काव्यमा मेटिएको छन्द, भावप्रवणता, चरित्र चित्रण तथा रसका कारण यो एउटा अप्रतिम खण्डकाव्य भएको हो ।

साहित्यकार तथा बज्जिका भाषाका प्रवर्तक अमेरिका निवासी विश्वराज अधिकारीले नेपालीमा उल्था गर्नुभएको यस विख्यात खण्डकाव्यलाई जस्ताको त्यस्तै भावमा उतार्न सफल हुनुभएको छ । सरल नेपाली भाषामा अनुवादित मेघदूतले पनि पाठकलाई बाँधीराख्दछ । पल-पल हरेक अनुच्छेदहरुमा प्रकृति तथा प्रेमसँग साक्षात्कार गराउछ । जसरी मेघ गर्जिन थालेपछि धर्तिले घनघोर वर्षाको अनुभूत गर्दछ त्यस्तै अनुभूति सहितको अनुभव दिनेछ नेपालीमा अनुवादित मेघदूतले ।

दुई खण्डमा बिभाजित मेघदूतको पहिलो खण्ड “पूर्वमेघ” हो भने दोस्रो खण्ड “उतरमेघ” हो । पूर्वमेघमा ६३ पद्य छन् भने उतरमेघमा ५२ पद्य छन् । जम्मा ११५ पद्य रहेको यस खण्डकाव्यलाई कहिंकतै १२१ पद्य भएको समेत ब्याख्या गरिएको छ । र यस विषयलाई साहित्यकार अधिकारीले अन्त्यमा बाँकी पद्यसहित सविस्तार ब्याख्या पनि गरेका छन् । 

प्रस्तुत छ साहित्यकार तथा बज्जिका भाषाका प्रवर्तक अमेरिका निवासी विश्वराज अधिकारीद्वारा अनुवादित संस्कृत भाषाका महाकवि कालिदासको अनुपम कृति मेघदूतको नेपाली संस्करणः

पूर्व मेघ

कश्र्चित् कान्ताविरह्गुरूणा स्वाधिकारत्प्रमत्त:
शापेनास्तङ्गमितमहिमा वर्षभोग्येण भर्तु:।
यक्षश्र्चक्रे जनकतनयास्नानपुण्योदकेषु
स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु।। १।।

आफूले गर्नु पर्ने कार्य उचित किसिमले नगरेको दण्डस्वरुप कुनै सेवक यक्षले मालिक कुवेरले दिएको दण्ड भोग्नु पर्ने हुन्छ। दण्ड बापत उसले रामगिरी पर्वतको एक छाप्रोमा पत्नीसँग छुटिएर गाह्रो र विरक्तिएर एक वर्षसम्म बस्नु पर्ने हुन्छ। रामगिरी पर्वत यस्तो पर्वत हो जसको पानी जनक पुत्री सीताजीबाट स्नानाका लागि प्रयोग गरिएकोले उहाँबाट आशिष प्राप्त छ। यस पर्वतका नमेरु वृक्षहरूले चिसो र बढी छाया दिन्छन्।

तस्मिन्नद्रौ कतिचिदबलाविप्रयुक्त: स कामी
नीत्वा मासान् कनकवलयभ्रंशरिक्तप्रकोष्ठ:।
आषाढस्य प्र(श) थमदिवसे मेघमाश्र्लिष्टसानुं
वप्रक्रीडापरिणतगजप्रेक्षणीयं ददर्श।।२।।

त्यस पर्वतमा रही प्यारीको बिछोडको पीडा भोगिरहेका यक्ष अति दुर्बल हुन पुगे। र त्यो दुर्वलताले गर्दा उनको हातबाट सुनको बाला खस्यो। पत्नी विछोडको आठ महिना बितेपछि असार महिनाको पहिलो दिनमा हातमा बाला नभएका कामुक यक्षले पहाडको चुचुरोमा बादल देखे। बादल यस्तो हात्ती जस्तो देखिएको थियो जसले नदी किनारमा आफ्नो दाँतले बाङ्गो किसिमले प्रहार गरेको होस, जुन हेर्दा अति नै सुन्दर देखियो।

तस्य स्थित्वा कथमपि पुर: कौतुकाधानहेतो:
अन्तर्बाष्पश्र्चिरमनुचरो राजराजस्य दध्यौ।
मेघालोके भवति सुखिनोSप्यन्यथावृत्ति चेत:
कण्ठाश्र्लेषप्रणायिनी जने किं पुनर्दूरसंस्थे।।३।।

कुबेरका सेवक ती यक्षले आफ्नो आँखामा भरिएको आँशुलाई खस्नबाट रोक्दै प्रेयसीलाई भेट्न व्यग्रता उत्पन्न गराउने त्यो बादलको सन्मुख भएर यो सोंचमा मग्न भए कि वर्षाकालको बादल देखेर प्रशन्न व्यक्तिमा पनि काम वासना जागृत हुन्छ भने म जस्तो पत्नीबाट बिछोडिएर यति टाढा पुगेको व्यक्तिको पीडा कस्तो होला?

प्रत्यासन्ने नभसि दयिताजीवितालम्बनार्थी
जीमूतेन स्वकुशलमयीं हरयिष्यन् प्रवृत्तिम्।
स प्रत्यग्रै: कुटजकुसुमै: कल्पितार्घाय तस्मै
प्रीत: प्रीतिप्रमुखवचनं स्वागतं व्याजहार।।४।।

साउन महिना नजिक हुनथालेकोले आफ्नी प्रेयसीको जीवन रक्षाको कामना गर्ने त्यो यक्षले आफ्नो हालखबर बादलद्वारा पठाउने उद्देश्यले गिरिमल्लिका (कुताजा) नामक ताजा फूलहरू बादललाई चढ्याए। यक्षले बादललाई प्रेमले भरिएको नजरद्वारा हेर्दै मिठो वचन बोलेर स्वागत गरे।

धूमज्योति: सलिलमरुतां संनिपात: क्व मेघ:?
सन्देशार्थ: क्व पटुकरणै: प्राणिभि: प्रापणीया:?।
इत्यौत्सुक्यादपरिगणयन् गुह्यकस्तं ययाचे
कामाSSर्ता हि प्रकृतिकृपणाश्र्चेतनाचेतनेषु।।५।।

बादल त धूआँ, प्रकास, जल र पानीको मिश्रणबाट तयार भएको हुन्छ र प्राणहीन हुन्छ तर सन्देश केवल विवेकयुक्त प्राणीहरूबाट मात्र पुर्याउने गरिन्छ। अति अनुराग (काम) ले भरिएको व्यक्तिको चेतन वा अचेतन मनस्थिति कमजोर भएको कारणले विवेकपूर्ण कार्य गर्न नसके झै अति इच्छाको कारण यो तथ्य बिर्सेको यक्षले बादलसँग याचना गर्यो।

जातं वशे भुवनविदिते पुष्करावर्तकानां
जानामि त्वां प्रकृतिपुरुषं कामरूपं मघोन:।
तेनार्थीत्वं त्वयि विधिवशाद्दूरबन्धुर्गतोSहं
याञ्चा मोघा वरमधिगुणे नाधमे लब्धकामा।।६।।

हे बादल! तिमी जगत् विख्यात पुष्कर तथा आवर्तक नाम भएका बादलहरूको वंशमा जन्मेका हौ र आफ्नो इच्छा अनुरुपको आकारमा परिवर्तन हुन सक्ने क्षमता राख्ने तिमी इन्द्रका सेवक हौ भन्ने कुरा मलाई ज्ञात छ। त्यसकारण दुर्भाग्यले पत्नी बिछोडमा परेको म तिमीसँग याचना गर्दछु। सक्षम पुरुषसँग गरिएको याचना पूरा नभए पनि त्यो राम्रो मानिन्छ तर असक्षम पुरुषसँग गरिएको याचना पूरा भएपनि त्यसलाई राम्रो मानिदैन।

संताप्तानां त्वमसि शरणं तत् पयोद! प्रियाया:
संदेशं मे हर धनपतिक्रोधविश्र्लेषितस्य।
गन्तव्या ते वसतिरलका नाम यक्षेश्र्वराणां
बाह्योद्यानस्थिहरशिरश्र्चकान्द्रिकाधौतहर्म्या।।७।।

तिमी पीडितहरूका रक्षक हौ। त्यसकारण हे बादल! कुबेरको क्रोधले गर्दा पत्नीसँग मैले छुट्टिनु परेकोले मेरो खबर मेरी प्रियाकहाँ लगिदेऊ। तिमीले अल्कापुरी भन्ने स्थानमा जानु पर्नेछ। यो स्थान कस्तो छ भने यहाँका घरहरू बाहिरी बगैचाहरूको छेउमा अवस्थिति छन्। धनीहरूका यी घरहरू भगवान् शिवजीको शिरमा रहेको चन्द्रमाले सेतो परिएक छन्।

त्वामारूढं पवनपदवीमुद्गृहीतालकान्ता:
प्रेक्षिष्यन्ते पथिकवनिता: प्रत्ययादाश्र्वसत्य:।
क: सन्नध्दे विरहविधुरां त्वय्युपेक्षेत जायां
न स्यादन्योSप्यहमिव जनो य: पराधीनवृत्ति:।।८।।

आकास मार्गवाट यात्रा गर्ने हे बादल! काममा खटिर बाहिर रहेका आफ्ना पतिहरू घर फर्किने विश्वासले भरिए आफ्नो शिरको अग्रभागमा रहेको आफ्नो कपाल उठाएर तिमीलाई हेर्नेछन। तिम्रो आगमनको समयमा म जस्तो पराधीन पुरुष बाहेक अरु कसले वियोगमा गलेर दुब्लो भएकी आफ्नी पत्नीलाई उपेक्षा गर्ला त?

मन्दं मन्दं नुदति पवनश्र्चानुकूलो यथा त्वां
वामश्र्चायं नदति मधुरं चातकस्ते सगन्ध:।
गर्भाधानक्षणपरिचयान्नूनमाबद्धमाला:
सेविष्यन्ते नयनसुभगं खे भवन्तं बलाका:।।९।।

मन्द मन्द गतिको अनुकूल हावाले अघि हिंड्न तिमीलाई सहयोग गरे जस्तो छ। तिम्रो देब्रेतिर रहेको चातक (कुकु) चराले खुसीका साथ मधुर ध्वनी छर्दैछ। गर्भधारणको समयमा परिचित भएर पंक्तिवध्य भएका बकुलाहरू तिमी भित्र प्रवेश गर्नेछन् जुन हेर्दा नेत्रले अति आनन्द पाउँछ।

तां चावश्यं दिवसगणनातत्परामेकपत्नीम्
मव्यापन्नामविहतगतिर्द्रक्ष्यासि भ्रातृजायाम्।
आशाबन्ध: कुसुमसदृशं प्रायशो ह्याङ्गनानां
सध्य:पति प्रणयि हृदयं विप्रयोगे रुणद्धि।।१०।।

हे बादल! बिना अवरोध अग्र गमन गर्दा तिमीले आफ्नी भाउजु (म यक्षकी पत्नी) लाई निश्चय पनि देख्ने छौ जो (मेरी पत्नी) मेरो आगमनको दिनहरू गणना गर्दै मेरो लागि बाँचिरहेकी छिन। प्रेमी-बिछोडमा परेका स्त्रीहरू जसको स्वभाव सिघ्र मुर्छित भएर झर्ने फूल जस्तो हुन्छ त्यस्ता स्त्रीहरूलाई आशाको डोरीले बाँधेर राख्ने गर्दछ।

कर्तुं यञ्च प्रभवति महीमुच्छिलीन्ध्रामवन्ध्यां
तच्छुत्वा ते श्रवणसुभगं गर्जितं मानसोत्का:।
आ कैलासाद् बिसकिसलयच्छेदपाथेयवन्त:
सम्पत्स्यन्ते नभसि भवतो राजहंसा: सहाया:।।११।।

हे बादल! तिमी यो पृथ्वीलाई उब्जाउ बनाउन र शिलीन्ध्र फूलहरूले भरिपूर्ण पार्न सक्षम छौ। कानलाई सुख दिने तिम्रो गर्जन सुनेर मानस सरोवर जान लालायित राजहंसहरू जसले यात्रामा खानका लागि मृणाल (कमल) फुलका पत्रहरू राखेका हुनेछन्, कैलाश पर्वतसम्म तिम्रो सहयात्री हुनेछन।

आपृच्छस्व प्रियसखमुं तुङ्गमालिङ्ग्य शैलं
वन्द्यै: पुंसां रघुपतिपदैरङ्कितं मेखलासु।
काले काले भवति भवतो यस्य संयोगमेत्य
स्नेहव्यक्तिश्र्चिरविरहजं मुश्र्चतो वाष्पमुष्णम्।।१२।।

हे बादल, हे प्रिय मित्र, उन्नत रामगिरि पर्वतलाई अंगालो हालरे यात्राको अनुमति लेउ। रामगिरि पर्वतले यो संसारद्वारा अभिवादन योग्य रामचन्द्रको पाउहरूको चिन्ह आफ्नओ मध्य भागमा पाएको छ। वर्षभरिको लामो बिछोड पश्चात वर्षायामममा तिमीलाई भेटे पछि त्यो पर्वतले झार्ने आँसू (तातो भाप) तिम्रो लागि देखाएइको प्रेमिकाको प्रेम हो।

मार्गं तावच्छृणु कथयतस्त्वत्प्रयाणानुरूपं
संदेशं मे तदनु जलद श्रोष्यासि श्रोत्रपेयम्।
खिन्न: खिन्न:शिखरिषु पदं न्यस्य गन्तासि यत्र
क्षीण: क्षीण: परिलघु पय: स्रोतसं चोपभुज्य।।१३।।

हे बादल! पहिले तिमी मबाट तिम्रो लागि उपयुक्त बाटोबारे सुन। त्यसपछि सुन्नका लागि व्याकुल रहेको र कानलाई प्रिय लाग्ने मेरो सन्देश सुन्ने छौ। अति परिश्रमको कारण जब तिमी थाक्ने छौ तब पहाडको चुचरामा बसी विश्राम गर्नु र अवतरण गर्दा स्रोत (मुल) को पानी खानु।

अद्रे: श्रृङ्गं हरित पवन: किंस्विदित्युन्मुखीभि-
र्दृष्टोत्साहश्चकितचकितं मुग्धसिध्दाङ्नाभि:।
स्थानादस्मात् सरसनिचुलादुत्पतोदङ्मुखस्वत्वं

दिङ्नागानां पथि परिहरन् स्थूलहस्तावलेपान्।।१४।। हे बादल! तिम्रो हर्ष देखेर तपस्वीहरूका सुन्दरीहरू बतासले पहाडको चुचुरो उडाएर लैजान थालेको हो कि भन्दै आश्चर्य मानेर टाउको उठाएर हेर्ने छन्। नरकटका बिरुआहरूले धनी पारेको यो स्थानबाट हुँदै तिमी आकासको बाटोमा सुरक्षार्थ आउने हात्तीका ठूला ठूला सुंढहरूको प्रहारबाट जोगिंदै अलकापुरी जानका लागि उत्तरामुख भएर आकाशमा उड्नु।

रत्नछाSSयाव्यतिकर इव प्रेक्ष्यमेतत् पुरसस्ताद्
वाल्मीकाग्रात्प्रभवति धनु: खण्डमाखण्डलस्य।
येन श्यामं वपुरतितरां कान्तिमापत्स्यते ते
बर्हेणेव स्फुरितरूचिणा गोपवेषस्य विष्णो:।।१५।।

हे बादल! पद्मराग जस्ता मणिहरूको शौन्दर्यले श्रृंगारिएर दर्शनीय भएको इन्द्रधनुष बांबीको माथि रहेको स्थिति परबाट देखिएको छ। यसले गर्दा कालो रङ्गको तिम्रो शरीरले मयुरको अति सुन्दर पखेटाहरू सहित गोप भेष धारण गर्ने कृष्णको शरीरले झै अत्यन्तै सुन्दरता प्राप्त गर्नेछ।

त्वय्यायत्तं कृषिफलमिति भूविलासानभिज्ञै:
प्रीतिस्निग्धैर्जनपदवधूलोचनै: पीयमान:।
सद्य: सीरोत्कषणसुरभि क्षेत्रमारुह्य मालं
किञ्चित्पश्चाद्व्रज लघुगतिर्भूय एवोत्तरेण।।१६।।

हे मेघ, कृषिको फल (उपज) तिम्रो अधीनमा रहेकोले आँखा (आँखिभुइँ) को कुशल प्रयोगमा ग्रामिण महिलाहरू अदक्ष रहेता पनि तिमीलाई आफ्नो आँखाले पिउने छन। तिमीले त्येही समयमा माल नाम गरेको उँचो स्थानलाई तिम्रो जलद्वारा सुगन्धित पारेर केही समयको अन्तरमा आफ्नो गतिलाई तिब्र पार्दै पश्चिम त्यसपछि उत्तर दिशामा लाग्नु।

त्वामासारप्रशमितवनोपप्लवं साधु मूर्ध्ना
वक्ष्यत्यध्वश्रमपरिगतं सानुमानाम्रकूट:।
न क्षुद्रोSपि प्रथमसुकृतापेक्षया संश्रयाय
प्राप्ते मित्रे भवति विमुख: किं पुनर्यस्तथोच्चै:।।१७।।

हे बादल! जब तिमीलाई यो यात्राले थकित पार्नैछ तिमीले आम्रकूट पर्वतको जंगलमा लागेको आगो वर्षादवारा निभाएको हुनाले त्यो पर्वतले तिमीलाई खुसिपूर्वक आफ्नो चुचरोद्वारा सहयोग गर्नेछ किनभने स्वार्थी व्यक्तिले पनि आफूलाई पहिले गरिएको गुण सम्झेर आफू कहाँ आउनेलाई सहयोग गर्छ भने त्येती महान सिखरले तिमीलाई असयोग गर्न सक्छ र?

छन्नोपान्त: परिणतफलद्योतिभि: काननाम्रै:
त्वय्यारूढे शिखरमचल: स्निग्धवेणीसवर्णे।
नूनं यास्यत्यमरमिथुनप्रेक्षणीयामवस्थां
मध्ये श्याम: स्तन इव भुव: शेषविस्तारपाण्डु: ।।१८।।

हे बादल! अम्राकूट पर्वतको जंगलले यस पर्वतको ओर्हालो भागलाई पाकेका आँपहरूले लटरम्म भएका वृक्षहरूदवारा सजाएका छन। तिमी जब अम्राकूट पर्वतको चुचुरोमा आफ्नो सजिएको काला केसहरू सहित चढ्ने छौ तब केन्द्रमा कालो र चारैतिर सफा झै यो चुचुरो पृथ्वीको वक्ष जस्तो देवदम्पत्तिहरूलाई देखा पर्नेछ।

स्थित्वा तस्मिन् वनचरवधूभूक्तकुञ्जे मुहूर्त
तोयोत्सर्गद्रुततरगतिस्तत्परं वर्त्म तीर्ण:।
रेवां द्रक्ष्यस्युपलविषमे विन्ध्यपादे विशीर्णां
भक्तिच्छेदैरिव विरचितां भूतिमङ्गे गजस्य ।।१९।।

हे मेघ! जब, केही कालसम्म यो पर्वत (आम्रकूट) को चुचुरा जुन किराँत पत्नीहरूका लागि लता मन्डपद्वारा सोभित छ, मा विश्राम गर्दै जल वर्षा गरेको कारणले तिमीले आफ्नो गति तिब्र पार्दै आम्रकूट पर्वत पार गर्नेछौ तब तिमीले नर्मदा नदी देख्ने छौ। ढुंगाद्वारा अग्लो होंचो भएर विन्ध्याचल पर्वतमा बगेको नर्मदा नदी हात्तीलाई सुन्दरपार्न उसको शरीरमा गरिएको श्रंगार जस्तो तिमीलाई लाग्ने छ।

तस्यास्तिक्तैर्वनगजमदैर्वासितं वान्तवृष्टि-
जम्बूकुञ्जप्रतिहतरयं तोयमादाय गच्छे:।
अन्त:सारं धन! तुलयितुं नानिल: शक्ष्यति त्वां
रिक्त: सर्वा भवति हि लघु: पूर्णता गौरवाय।।२०।।

हे बादल, तिमीले वर्षा गरेको हुनाले तिमी रित्तिएका छौ त्यसकारण जंगली हात्तिको मद (छाडिएको पानी) बाट सुगन्धित पारिएको र जामुनका रुखहरूद्वारा घेरिएको नर्मदा नदीको पानी लिएर आउ। तिमी भित्र पानी भरिएर तिम्रो तौल बढेपछि वायुले तिमीलाई सताउन सक्तैन किनभने तौल (गुण वा प्रतिभा) बढेपछि महत्व वृद्धि हुन्छ हल्का रहेमा हुँदा हुँदैन।

नीपं दृष्ट्वा हरितकपिशं केसरैर अर्धरूढै-
राविर्भूतप्रथममुकुला: कन्दलीश्रचानुकच्छम्।
जग्ध्वाSरण्येष्वधिकसुरभिं गन्धमाघ्राय चोर्व्या:
सारङ्गास्ते जललवमुच: सूचयिष्यान्ति मार्गम् ।।२१।।

हे बादल, अर्धविकसित किञ्जलिकाहरूबाट हरियो भएको तथा कृष्णलोहित रङ्गले युक्त स्थलकदम्ब-पुष्प देखेर तथा पानीहरू भएका स्थानहरूमा फुलेका भूमि कदलियाको नव कुण्डमल खाएर जङ्गलमा रहेको पृथ्वीमा नै अति सुगन्धित सुगन्ध सुँघेर जलविन्दु वर्षा गर्ने हात्तिले तिम्रो स्वागत गर्नेछ।

अम्भोबिन्दुग्रहणचतुरांश चातकान् वीक्षमाणा:
श्रेणीभूता: परिगणनया निर्दिशन्तो बलाका:।
त्वाम आसाद्य स्तनितसमये मानयिष्यन्ति सिद्धा:
सोत्काम्पानि प्रियसहचरीसंभ्रमालिङ्गितानि।।२२।।

हे बादल, वर्षाको जलबिन्दुहरू ग्रहण गर्नमा कुशल चातक (भंगेरा जस्तो चरा) हरू देखेर तथा पङ्क्तिवद्ध भएका बकुलाहरूलाई एक, दुई, तिन गरेर गणना गरेरको दर्शाउँदै तपस्वीहरूले तिमीले गर्जन गर्दाको समयमा तपस्वी प्रेयसीहरूले उनीहरूलाई आलिंगनमा बाँधेको अनुभव गर्दै तिम्रो सम्मान गर्नेछन्।

उत्पश्यामि द्रुतमपि सखे मत्प्रियार्थं यियासो:
कालक्षेपं ककुभसुरभौ पर्वते पर्वते ते।
शुकक्लापाङ्गै: सजलनयनै: स्वागतीकृत्य केका:
प्रत्युद्यात: कथमपि भवान् गन्तुमाशु व्यवस्येत्।।२३।।

हे मित्र! मेरो उद्देश्य पूर्ति गरिदिनका लागि हतार गरेर जाने तिम्रो विचार भएता पनि कुटज फूलहरूबाट सुगन्धित भएको हरेक पहाडले तिम्रीलाई ढिलो पारिदिने मेरो अनुमान छ। हर्षको आंशुले आँखा भरिएका मयूरहरू गीत गाएर तिम्रो स्वागतका लागि अगाडि आउने छन तर तिमी यी कुराहरूमा नअलमलिएर छिटेै जाने तिर लाग्नु।

पाण्डुच्चायोपवनवृतय: केतकै: सूचिभिन्नै-
र्नीडारम्भैर्गृ हबलिभुजामाकुलग्रामचैत्या:।
त्वय्यासन्ने परिणतफलश्यामजम्बूवनान्ता:
संपत्स्यन्ते कतिपयदिनस्थायिहंसा दशार्णा:।।२४।।

हे बादल! तिमी नजिक पुग्दा दशार्ण (हालको छत्तिसगढ) देशका बगैचाहरूका केतकीका फूलका हाँगाहरू पहेँलो देखिने छन। गाउँको बाटोमा पर्ने रूखमा काग एवं अन्य चराहरूले गुँड बाएकोले ती छोटा र जामुनका वनहरू जामुन पाकेर कालो भएको कारणले गर्दा कालो देखिने छन्। यस्तो स्थितिमा वर्षा आरम्भ हुने विचार गर्दै हाँसहरूकेही समय मात्र त्यहाँ बस्ने छन्।

तेषां दिक्षु प्रथितविदिशालक्षणां राजधानीं
गत्वा सद्य:फलमविकलं कामुकत्वस्य लब्धा
तीरोपान्तस्तनितसुभगं पास्यसि स्वादु यस्मात्
सभ्रूभङ्गं मुखमिव पयो वेत्रवत्याश्र्चलोर्मि।।२५।।

हे बादल! दिशाहरूमा विदिशा नामले प्रसिध्द रहेको स्थानमा अवस्थित दशार्ण देशको राजधानी पुग्ना साथ तिमीले काम वासनाका सम्पूर्ण फलहरू प्राप्त गर्ने छौ किनभने त्यहाँ पुगेर त्यस स्थानमा बग्ने वेत्रवती नदीको किनारमा तिमीले मधुर गर्जन गर्दै नदीको जललाई युवतीको अधर मानेर रसपान (चुम्बन) गर्नेछौ।

निचैराख्यं गिरिम अधिवसेस तत्र विश्रामहेतोस
त्वत्सम्पर्कात् पुलकितम इव प्रौढपुष्पै: कदम्बै:।
य: पुण्यस्त्रीरतिपरिमलोद्वारिभिर्नागराणाम
उद्दामानि प्रथयति शिलावेश्मभिर यौवनानि।।२६।।

हे बादल! तिमी र फूलहरूले भरिएका कदमका रूखहरू बीचको सम्बन्ध देखेर निकै रोमाञ्चित झै भएको विदिशाको नजिक अवस्थित निचै: पर्वतमा पुगेर विश्राम गर। त्यो पर्वतले त्यहाँ रहेको गुफाहरू जहाँबाट वेश्याहरूसँगको रतिक्रिडामा छरिने पुष्पको सुगन्ध आउँछ त्यो सुगन्धले नागरिकहरूको चरम जवानीलाई प्रदर्शित गर्दछ।

विश्रान्त: सन् व्रज वननदीतीरजातानि सिञ्च-
न्नुद्यानानां नवजलकणैर्यूथिकाजालकानि।
गण्डस्वेदापनयनरुजाक्लान्तकर्णौत्पलानां
छायादानात् क्षणपरिचित: पुष्पलावीमुखानाम्।।२७।।

हे बादल! युवतीहरूले निचै: नामको पर्वतमा विश्राम गरेर नदीको किनारमा भएका बगैचाहरूमा फुल्न थालेका जुहीबाट नया जल बिन्दुहरू लिएर सेचन गर्दै गालामा भएको पसिना पुछ्दा उत्पन्न पीडाले कानमा गहना झै लगाएको कमलको फूल मुर्छित भएको हुनेछ। फूल टिप्ने ती युवतीहरूलाई तिमीले छायाँ दिंदा उनीहरूसँग तिम्रो परिचय हुनेछ। ती युवतीहरूलाई मुखमा छाया दिएर अनि तिमी जाउ।

वक्रा: पन्था यदपि भवत: प्रस्थितस्योत्तराशां
सौधोत्सङ्गप्रणयविमुखो मा स्म भूरुज्जयिन्या:।
विद्युद्दामस्फुरितचकितैस्तत्र पौराङ्गनानां
लीलापाङ्गैर्यदि न रमसे लोचनैर्वञ्चितोSसि।।२८।।

हे बादल! तिमी अलकापुरी जाने उत्तर दिशाको बाटो बाङ्गो भएता पनि उज्जैनको दरबारको माथिल्लो भागको परिचय गर्नबाट तिमी विमुख नहुनु। बिजुली चम्किंदा डराएर कटाक्ष (आँखाबाट यौन अभित्यक्ति दिने) गर्न सक्ने क्षमतावान् पौर सुन्दरीहरूको नेत्रसँग तिमीले नेत्र क्रिडा नगर्ने हो भने तिमी नेत्र-क्रिडाको आनन्दबाट वञ्चित हुने छौ।

वीचिक्षोभस्तनितविहगश्रेणिकाञ्चीगुणाया:
संसर्पन्त्या: स्खलितसुभगं दर्शितावर्तनाभे:।
निर्विन्ध्याया: पथि भव रसाभ्यन्तर: संनिपत्य
स्त्रीणामाद्यं प्रणयवचनं विभ्रोमो हि प्रियेषु।।२९।।

हे बादल! बाटोमा तरंग उत्पन्न गर्दै हिंड्ने पक्षीहरू जसको करधनी (कन्धनी) समान छ, पथ्थरबाट खसेर मोहकतासाथ बग्दै आफूमा उत्पन्न भएको भूमरि जसले अवलोकन गराउने गर्दछ त्यस निर्विन्ध्या नामको नदीको नजिक आएर त्यसलाई प्रेम गर्दै त्यसको रस पान गर।

वेणीभूतप्रतनुसलिलाSसावतीतस्य सिन्धु:
पाण्डुच्छाया तटरूहतरूभ्रंशिभिर्जीर्णपर्णै:।
सौभाग्यं ते सुभग! विरहावस्थया व्यञ्जयन्ती
कार्श्यं येन त्यजति विधिना स त्वयैवोपपाद्य:।।३०।।

हे भाग्यमानी बादल! वेणी (चुल्ठो) जस्तो गरी केही पानी भएको किनारमा उम्रेका रूखहरूबाट खस्ने सुकेका पातद्वारा पहेंलो रङ्ग अर्थात प्रवासमा पीडित तिम्रो भाग्य प्रदर्शित गर्दै त्यो नदी (निर्विन्ध्या) ले जसरी दुर्बलतालाई परित्याग गर्छ तिमीले पनि त्यसरी नै गर्नु पर्छ।

प्राप्यावन्तीनुदयनकथाकोविदग्रामवृध्दान
पूर्वोद्दिष्टामनुसर पुरीं श्रीविशालां विशालाम्।
स्वल्पीभूते सुचरितफले स्वर्गिणां गां गतानां
शेषै: पुण्यैर्हृतमिव दिव: कान्तिमत् खण्डमेकम्।।३१।।

अवन्ति देश, जहाँका वृद्धहरूलाई उदयनको कथाको बारेमा जानकारी छ, पुगेर एक सानो स्वर्ग झै रहेको भनी पहिलेदेखि मान्दै आएको उज्जैन (सरह) को अनुसरण गर।

दीर्घीकुर्वन् पटु मदकलं कूजितं सारसानां
प्रत्यूषेषु स्फुटितकमलामोदमैत्रीकषाया:।
यत्र स्त्रीणां हरति सुरतग्लानिमङ्गानुकूल:
शिप्रावात: प्रियतम इव प्रार्थनाचाटुकार:।।३२।।

यो उज्जैनमा शिप्रा नदीको प्रात:कालको हावाले कमलका फूलहरूको सुगन्ध छरि मगमग परि दिएर र सारस चराहरूको मधुर ध्वनीले झन्कृत गरिदएर सम्भोगका लागि आफ्नो प्रेयसीलाई अनुयन गर्दा प्रेयसीको सम्भोग क्रिडाबाट उत्पन्न पीडालाई जसरी समाप्त पारिदिन्छ त्यसरी नै पीडा हटाइ दिन्छ।

जालोद्गीर्णरुपचितवपु: केशसंस्कारधूपै-
र्बन्धुप्रीत्या भवनशिखिर्दत्तनृत्योपहार:।
हर्म्येष्वस्या: कुसुमसुरभिष्वध्वखेद नयेथा
लक्ष्मीं पर्श्यल्ललितवनितापादरागाद्दितेषु।।३३।।

हे बादल! उज्जैनमा स्त्रीहरूको केशलाई सुगन्धित गर्ने घाम झ्यालहरूबाट आएर तिम्रो शरीरलाई पुष्ट गर्नै छन् र घर पालुवा मयुरहरूले तिमीलाई स्नेहपूर्ण बन्धुत्व प्रदान गर्न नृत्य उपहार दिने छन्। फूलहरूले सजाएका उज्जैनका महलहरूमा सुन्दर स्त्रीको खुट्टामा लगाएका रातो रंगको छाप भूँइमा हेरेर तिमीले बाटोको थकाइ मार्नु।

भर्तु: कण्ठच्छविरित गणै: सादरं वीक्ष्यमाण:
पुण्यं यायास्त्रिभुवनगुरोर्धाम चण्डीश्वरस्य।
धूतोद्यानं कुवलयरजोगन्धिभिर्गन्धवत्या-
स्तोयक्रीडानिरतयुवतिस्नानतिक्तै र्मरुदभि:।।३४।।

हे बादल! आफ्नो स्वामी महादेवको निलो घाँटीसँग तिम्रो रङ्ग (सुन्दरता) मिलेको देखेर महादेवको गणले तिमीलाई हेर्ने छन्। त्यहाँ त्रिभुवनका मलिक चंडीश्वर (महादेव) को पवित्रधाम महाकालमा जानु। त्यहाँ (महाकाल) को बगैचालाई कमलका फूलहरूका परागद्वारा सुगन्धित भएको तथा शरीरमा चन्दन लगाएर गन्धवती नामको नदीमा युवतीहरूले जलक्रिडा (स्नान) गर्दा उत्पन्न मगमग सुवास बोकेको वायुले हल्लाइ रहेको होला।

अप्यन्यस्मिञ्जलधर! महाकालमासाद्य काले
स्थातव्यं ते नयनविषयं यावदत्येति भानु:।
कुर्वनसंध्याबलिपटहतां शूलिन: श्लाघनीया-
मामन्द्राणां फलमविकलं लप्स्यते गर्जितानाम्।।३५।।

हे बादल! यदि तिमी महाकालको मन्दिरमा साँझ हुनु भन्दा पहिले पुगेमा त्यहाँ त्यसबेला सम्म पर्खनु जब सम्म सूर्यास्त नहोस। शिवको सन्ध्याकालीन अरतीको समयमा तिमीले नागाडाहरूको जस्तो ध्वनी झिकेर मिठो एवं गम्भीर गर्जन गरेकोले सो कार्य गरे बापत तिमीले अखण्ड फल प्राप्त गर्ने छौ।

पादन्यासै: क्वणितरशनास्तत्र लीलवधूतै-
रत्नच्छायाखचितबलिभिश्र्चामरै: क्लान्तहस्ता:।
वेश्यास्त्वत्तो नखपदसुखान् प्राप्य वर्षाग्रबिन्दु-
नामोक्ष्यन्ते त्वयि मधुकरश्रेणिदीर्घान्कटाक्षन्।।३६।।

हे बादल, साँझको समयमा महाकालको मन्दिरमा प्रदोष-नृत्यको समयमा पाउहरू नाँच्नका लागि चल्दा लगाइएका पाउजुहरूले मधुर ध्वनी दिन्छन, रत्नहरूले सजाइएर चम्किलो भएको चमर-दण्ड हल्लाउँदा जसका हातहरू थाक्ने गर्छन्, त्यस्ता वेश्याहरूमाथि जब तिमीले वर्षाको पहिलो जल-बिन्दु छरेर उनीहरूको नखक्षतहरूलाई सुख दिन्छौ तब उनी (वेश्या) हरूले भवराहरूको पंक्तिले झै तिमीमाथि आफ्नो सुन्दर दृष्टिले प्रहार गर्नेछन्।

पश्चादुच्चैर्भुजतरुवनं मण्डलेनाभिलिन:
सन्ध्यां तेज: प्रतिनवजपापुष्परक्तं दधान:।
नृत्यारम्भे हर पशुपतेरार्द्र नागाजिनेच्छां
शान्तोद्वेगस्तिमितनयनं दृष्टभक्तिर्भवान्या।।३७।।

हे बादल, साँझको आरती पछि प्रारम्भ हुने शिवको तांडव-नृत्यमा तिमीले भरखरै फुलेका जपा पुष्षहरूको लालीको रंग जस्तै आफ्नो शरीरमा लाली-रंग धारण गरेर शिवका माथि उठेका हातहरू झै रहेका वन-खण्डलाई घेरेर माथि फैलिनु। यस्तो गर्नाले पशुपति शिव रक्तले भिजेको गजारसुरचर्म ओढने चाहनाबाट मुक्त हुनु हुनेछ र अर्कोतिर पार्वती जीको ग्लानी समाप्त भएको कारणले उहाँ प्रतिको तिम्रो भक्तिको कारणले तिमीलाई एकटकले हेर्नु हुनेछ।

गच्छन्तीनां रमणवसतिं योषितां तत्र नक्तं
रुध्दालोके नरपतिपथे सूचिभेद्यैस्तमोभि:।
सौदामन्या कनकनिकषस्निग्धया दर्शयोर्वी
तोयोत्सर्गस्तनितमुखरो मा स्म भूर्विक्लावास्ता:।।३८।।

हे बादल! त्यहाँ, उज्जैनमा रात्रीको समयमा आफ्ना प्रेमीको भवनमा जाँदै गरेका अभिसारिका (प्रियतमा) हरूले कालो अन्ध्यारोमा लामा बाटोमा केही पनि देख्न नसक्ने स्थिति भएमा पुर्व परीक्षामा सफल भएको तेज प्रकाश झै तिमीले बिजुली चम्क्याएर उनीहरूको मार्ग प्रकाशित गरिदिनु। वर्षात र गर्जन गरेर अभिसारिकहरूलाई पुग्नमा बाधा नपुर्याउनु किनभने उनीहरू डरपोक हुन्छन्।

तां कस्यांचिद्भवनलभौ सप्तपारावतायां
नित्वा रात्रिं चिरविलसिनात्खिन्नविद्युत्कलत्र:।
दृष्टे सूर्ये पुनरपि भवान् वाहयेदध्वशेषं
मन्दायन्ते न खलु सुहृदामभ्युपेतार्थकृत्या:।।३९।।

हे बादल! धेरै बेरसम्म आकासमा चम्केर जब तिम्रो प्रियतमा झै रहकी बिजुली थाक्ने छिन तब तिमीले कुनै महलको माथि रहेको कोठा जहाँ परेवाहरू सुत्ने गर्छन त्यहाँ तिमीले रात बिताउनु। त्यसपछि सूर्योदय पश्चात बाँकि रहेको बाटो पूरा गर्नु। मित्रको कुनै कार्य गरिदिन्छु भनेर जिम्मेबारी लिएको व्यक्तिले त्यस्तो कार्य गर्न ढिलाइ गर्दैन।

तस्मिन्काले नयनसलिलं योषितां खण्डिताना
शान्तिं नेयं प्रणयिभिरतो वर्त्म भानोस्त्यजाशु।
प्रालेयास्त्रं कमलवदनात्सोपि हर्तुं नलिन्या:
प्रत्यावृत्तस्त्वयि कररुधि स्यादनल्पाभ्यसूय:।।४०।।

हे बादल! रात्रीको समयमा बिछोड सहन गर्नु पर्ने खण्डिता (अति सुन्दर स्त्री) नायिकाहरूको आंशु सूर्योदय कालमा उनीहरूको प्रेमीहरूले पुछिदिने गर्छन्। अनि, सूर्य पनि कमलिनीको कमल झैं मुखबाट हिंउँरुपि आँशु पुच्छन आउने छन्। त्यसकारण तिमीले तत्काल सूर्यको बाटो छोडिदिनु। यस्तो स्थितिमा यदि तिमीले सूर्यको किरणरुपि हात रोके (सूर्यलाई छेके) मा उनको क्रोध बढ्ने छ।

गम्भीराया: पयसि सरितश्चेतसीव प्रसन्ने
छायात्मापि प्रकृतिसुभगो लप्स्यते प्रवेशम्।
तस्यादस्या: कुमुदविशदान्यर्हसि त्वं न धैर्या-
न्मोधीकर्तु चटुलशफरोद्वर्तनप्रेक्षितानि।।४१।।

हे बादल! गम्भीरा नदीको मनरुपि निर्मल जलमा तिम्रो स्वभावले नै सुन्दर भएको तिम्रो शरीरको छाया पर्ने छ। यो कारणले गर्दा कमलको फूल जस्तो स्वेत र पानी भित्रबाट माछा माथि उठे झै उठ्ने गम्भीर नदीको निरिक्षणको धैर्यको लिएर त्यसको योग्यता लिने क्षमता तिमीमा छैन्।

तस्या: किंचित्करधृतमिव प्राप्तवानीरशाखं
नीत्वा नीलं सलिलवसनं मुक्तरोघोनितम्बम्।
प्रस्थानं ते कथमपि सखे! सम्बमानस्य भवि
शातास्वादो विवृतजघनां को विहातुं समूर्थ:।।४२।।

त्वन्निष्यन्दोच्छवसितवसुधागन्धसंपर्करम्य:
स्त्रोतोरन्ध्रध्वनितसुभगं दन्तिभि: पीयमान:।
नीचैर्वास्यत्युपजिगमिषोर्देवपूर्व गिरिं ते
शीतो वायु: परिणमयिता काननोदुम्बराणाम्।।४३।।

हे बादल! तिम्रा बुन्दहरू भुइँमा खस्दा जमिनको सम्पर्कबाट पाएको सुगन्धले सुगन्धित भएको, सुँढ र नाकले सुमधर ध्वनी गर्दै हात्तिद्वारा सुंघिएको र जसको सम्पर्कले जंगली गुलर पूर्ण रुपले फुलेका छन्, त्यस्तो बतासले तिम्रो लागि पङ्खा हल्लाउने कार्य गर्नेछ।

तत्र स्कन्दं नियतवसतिं पुष्पमेधीकृतात्मा
पुष्पासारै: स्रपयतु भवान्व्योमगङ्गाजलाSSर्द्रै:।
रक्षाहेतोर्नवशशिभृता वासवीनां चमूना-
मत्यादित्यं हुतवहमुखे संभृतं तद्धि तेज:।।४४।।

हे बादल! फूलहरूको वर्षा गराउने बादल जस्तो शरीर धारण गरेर आकासगङ्गाको पानीले भिजेका फूलहरूले देवगिरिमा सँधै निवास गर्ने स्कन्दजीको तिमीले अभिषेक गर्नु किनभने इन्द्रका सेनाहरूको रक्षा गर्न नव चन्द्रमा शिरमा धारण गर्ने भगवान् शिवले सूर्यको अत्यधिक तेजलाई अग्निको मुखमा राखे झै स्कन्द जी तेज छन् ।

ज्योतिर्लेखावलयि गलितं यस्य वर्हं भवानी
पुत्रप्रेम्णा कुवलयदलप्रापि कर्णे करोति।
धौताSपाङ्गं हरशशिरुचा पावकेस्तं मयूरं
पश्र्चादद्रिग्रहणगुरुभिर्गर्जितैर्नर्ययेथा:।।४५।।

हे बादल! त्यसपछि त्यो पर्वतको कन्दरा (खोंच) मा गर्जन गर्दा घन्किएको ध्वनीले कार्तिकेयको त्यो मयूरलाई नृत्य गराउनु जसको आँखा र वरिपरि भगवान् शिवको चन्द्रमाको तेज सितल प्रकाशले प्रकाशित भएको छ। मयूरले छाडेका पुच्छरका पखेटाहरू, जसमा चम्किलो रेखहरूको चन्द्रमा बनेको छ, पुत्रको प्रेममा वशीभूत भएर पार्वतीजीले कमल पत्रहरू लगाउनुको सट्टा ती पखेटाहरू कानमा पहिरने गर्नु हुन्छ।

आराध्यैनं शरवणभवं देवमुल्लङ्घिताध्वा
सिद्धद्वन्दैर्जजलकणमयाद्वीणिभिर्मुक्तमार्ग:।
व्यालम्वेथा: सुरभितनयालम्भजां मानयिष्यन्
स्रोतोमूर्त्या भुवि परिणतां रन्तिदेवस्य किर्तिम्।।४६।।

सरकण्डा (एक खास किसिमको विरूवा) हरूको वनमा जन्म लिएका स्कन्दको आराधना समाप्त गरेपछि तिमी वीणा हाथमा लिएका सिद्ध दम्पतिले वर्षाको थोपाको डरले बाटो छाडेर हटे पछि मात्र अगाडि बढ्नु र चर्मण्वती (चम्बल) नदीलाई सम्मान दिन तल आउनु। गोमेघद्वारा उत्पन्न भएको त्यो चर्मण्वती नदी महाराज रन्तिदेवको किर्ति नै जलको धारा बनेर बगेको हो। त्यो नदीलाई सत्कार गर्न तिमी तल आउनु।

त्वय्यांदातुं जलमवनते शार्ङ्गणो चर्णचौरे
तस्या: सिन्धो: पृथुमपि तनुं दूरभावात्प्रवाहम्।
प्रेक्षिष्यन्ते गगनगातयो नूनमावर्ज्य दृष्टि-
रेकं मुक्तागुणमिव भुव: स्थूलमध्येन्द्रनीलम्।।४७।।

हे बादल! चर्मण्वती नदीको चाक्लो प्रवाह टाढाबाट भने पातलो देखिन्छ। भगवान् विष्णुको झै श्याम वर्ण भएको तिमी जब चर्मण्वतीको पानी पिउनका लागि निहुरिने छौ तब चर्मणवती पृथ्वीको वक्षस्थलमाथि इन्द्रनीलमणी उनिएको मोतिको माला झै देखिएको अनुभव गर्दै आकास मार्गमा विचरण गर्ने सिद्ध (गन्धवर्व) हरूले अवश्य पनि एकटकले हेर्ने छन्।

तामुत्तीर्य व्रज परिचितभ्रूलताविभ्रमाणां
पक्ष्मोत्क्षेपादुपरिविलसत्कृष्णशारप्रभाणाम्।
कुन्दक्षेपानुगमधुकरश्रीमुषामात्मात्मबिम्बं
पात्रीकुर्वन्दशपुरवूधनेत्रकौतूहलानाम्।।४८।।

हे बादल! चर्मण्वती नदी तरेर जाँदा तिमी दशपुरकी नारीहरूको आँखाको लालस बनेर जानु। आँखिभौं उचाल्न (आँखाद्वारा सम्वाद गर्न) दशपुरका नारीहरूका आँखाहरू कुसल छन्। जब उनीहरूका आँखाहरू दृष्टिपात गर्न माथि उठ्ने छन् तब सेतो र कालो चमक बाहिर आउँदा यस्तो लाग्ने छ मानौ ती चमकहरूले कुन्दपुष्पको विरिपरि भँवरा घुम्दा देखिने सुन्दरता चोरेका हुन।

ब्रह्मावर्तं जनपदमथ च्छायया गाहमान:
क्षेत्रं क्षत्रप्रधनपिशुनं कौरवं तद्भजेथा:।
राजन्यानां शितशरशतैर्यत्र गाण्डीवधन्वा
धारापतैस्त्वमिव कमलान्यभ्यवर्षन्मुखानि।।४९।।

हे बादल, त्यसपछि तिमी ब्रह्मावर्तं जनपदको माथि आफ्नो छाया पार्दै क्षत्रियहरूको विनाश भएको सूचना दिने कुरुक्षेत्रमा जानु। कुरुक्षेत्र यस्तो भूमि हो जहाँ तिमीले कमलका फूलहरू माथि आफ्नो मूसलधार वर्षाले प्रहार गरेझैं गाण्डीवधारी अर्जुनले राजाहरू माथि धारिलो बाणको मूसलधार वर्षा गराएका थिए।

हित्वा हालामभिमतरसां रेवतीलोचनाङ्कां
बन्धुप्रीत्या समरविमुखो लाङ्गली या: सिषेवे।
कृत्वा तासामभिगममपां सौम्य! सारस्वतीना-
मन्त: शुद्धस्त्वमपि भविता वर्णमात्रेण कृष्ण:।।५०।।

हे बादल! बन्धु कौरव र पाण्डवहरूप्रति समान स्नेह रहेको कारण बलरामजीले महाभारतको युद्धमा भाग लिनु भएको थिएन र अति नै मन पर्ने त्यो मदिरा जुन रेवतीले आँखाहरू द्वारा स्नेह मिसाएर बलरामजीलाई ख्वाउने गर्नु हुन्थ्यो त्यो मदिरा खान छोडेर उहाँले सरस्वतीजीले दिएको जल खानु भएको थियो। तिमीले पनि सरस्वतीजीको त्यो जल खानु। त्यो जल खाएर तिम्रो अन्त: करण प्रवित्र हुनेछ, केवल तिम्रो बाहिरी अङ्ग मात्र केही कालो हुनेछ।

तस्माद्गच्छेरनुकनखलं शैलराजावतीर्णा
जह्नो: कन्यां सगरतनयस्वर्गसोपानपङ्कितम्।
गौरीवक्त्रभृकुटिरचनां या विहस्येव फेनै:
शंभो: केशग्रहणमकरोदिन्दुलग्नोर्मिहस्ता।।५१।।

हे बादल! कुरुक्षेत्र पुगिसके पछि तिमी हिमालय पर्वतबाट झरेर कनखल पर्वतको नजिक रहेकी तथा महाराज सगरका पुत्रहरूकको स्वर्ग यात्रामा सिंढी झै बनेको देखिएकी गङ्गा नदीको नजिक जाऊ। ती गङ्गा (नदी) ले पार्वतीजीको मुहारमा रहेको क्रोधित भावमा मानौ आफ्नो सुन्दर मुस्कान फाल्दै आफ्नो तरंगरुपि हातले चन्द्रमा सँग ठटौली गर्दै शिवजीको केश समातेकी हुन जस्तो प्रतीत हुन्छ।

तस्या: पातुं सुरगज इव व्योम्नि पश्र्चार्घलम्बी
त्वं चेदच्छस्फटिकविशदं तर्कयेस्तिर्यगम्भ:।
संसर्पन्त्या सपदि भवत: स्रोतसि च्छाययाSसौ
स्यादस्थानोपगतयमुनासङ्गमेवाभिरामा।।५२

हे बादल! ऐरावत हात्तिले गरे जस्तो जब तिमीले शरीरको पछिल्लो भागले आकासतिर र बाङ्गो हुँदै पूर्व भागले हिराझै सेतो टल्किएको गङ्गा नदीतिर फर्केर पानी पिउन खोज्ने छौ तब जल प्रवाहमा परेको तिम्रो छायाले गर्दा जलको धारा यस्तो मनमोहक देखिने छ मानौ प्रयागबाट अन्यत्र पुगेर यमुना नदी गङ्गा नदीमा मिसिएको होस र त्यो दृश्यमा अति सुन्दरता होस।

आसीनानां सुरभितशिलं नाभिगन्धैर्मृगाणां
तस्या एवं प्रभवमचलं प्राप्य गौरं तुषारै:।
वक्ष्यस्यध्वश्रमविनयने तस्य श्रृंगे निषण्ण:
शोभां शुभ्रत्रिनयनवृषोत्खातपङ्कोपमेयाम्।।५३।।

हे बादल, बसेका कस्तुरी मृगहरूको नाभिको सुगन्धले सुगन्धित भएका पत्थरहरूले युक्त र गङ्गा नदीको उत्पत्तिको श्रोत रहेको हिमशुभ्र हिमालय पर्वतमा पुगेर बाटोको थकाइ मार्ने जब तिमी त्यो हिमशुभ्र हिमालय पर्वतको चुचुरोमा बस्नै छौ तब यस्तो प्रतीत हुने छ मानौ शिवजीको सेतो नन्दी साँढेले आफ्ना सिंगहरूले भिजेको माटो उठएरको होस।

तं चेद्वायौ सरति सरलस्कन्धसंघट्टजन्मा
बाधेतोल्काक्षपितचमरीबालाभारो दवाग्नि:।
अर्हस्येनं शतयितुलं वारिधारासहस्त्रै-
रापन्नार्तिप्रशमनफला: संपदो ह्युत्तमानाम्।।५४।।

हे बादल! जङ्गली हावा चल्दा देवदारका रुखका हाँगाहरू एक आपसमा रगडिंएर उत्पन्न हुने दावाग्नि (वन डढेलो) को झिल्काले चौरी गाइहरूको पुच्छरका रौंहरू डढाइ दिने गर्छ। यति त्यो दावाग्निको कारणले गर्दा हिमालयमा डढेलो लागेको रहेछ भने तिमीले आफ्ना असंख्य जल-धारा प्रवाह गरेर त्यो डढेलो निभाइ दिनु। सज्जन व्यक्तिको स्वभाव अरुको दु:खको निवारण गर्नु हो र सज्जन व्यक्तिको त्यो स्वभाव नै उसको सम्पत्ति पनि हो।

ये संरम्भोत्पतनरभसा: स्वाङ्गभङ्गाय तस्मिन्
मुक्ताध्वानं सपदि शरभा लङ्घयेयुर्भवन्तम्।
तान्कुर्वीथास्तुमुलकरकावृष्टिपातावकीर्णान्
के व न स्यु: परिभवपदं निष्फलारम्भयत्ना।।५५।।

हे बादल! यदि त्यहाँ (हिमालयमा) शरथ मृगहरू क्रोधित हुँदै तेज गतिमा उफ्रिंदै दौडिंदै उनीहरूको बाटोबाट अलग भएर हिंड्ने तिमीतिर आउन खोजेर तिनीहरूले आफ्नो शरीरमा चोट पुर्याए तिमीले पनि त्येही समय असिनाको वर्षा गरेर ती शरथ मृगहरूलाई प्रहार गर्नु। व्यर्थको काममा लाग्ने मान्छे त्यस्तो को होला जो तुच्छ नदेखियोस?

तत्र व्यक्तं दृषददि चरणन्यासर्धेन्दुमौले:
शश्वत्सिध्दैरूपचितबलिं भक्तिनम्र: परीया:।
यस्मिनदृष्टे करणविगमादूर्ध्वमुध्दतपापा:
संकल्पन्ते स्थिरगणपदप्राप्ते श्रद्दधाना:।।५६।।

हे बादल! त्यहाँ (हिमालयमा) कुनै पथ्थरमा भगवान् शिवको पाउ-चिन्हको उत्पत्ति भएको छ। योगीहरूले त्यो पाउ-चिन्हको निरन्तर पूजा गर्दै आएका छन्। तिमीले पनि नम्रता र भक्ति सहित त्यो पाउँ-चिन्हको प्रदक्षिणा (श्रद्धापूर्वक फेरो लगाउने कार्य) गर्नु। त्यो पाउ-चिन्नहो दर्शनबाट श्रद्धावान् व्यक्तिहरूको पाप मोचन हुन्छ र उनीहरूले शरीर त्याग गरे पछि शिवजीको सनातन प्रथमपद पाउने योग्यता प्राप्त गर्दछन्।

शब्दायन्ते मधुरमनिलै: कीचका: पूर्यमाणा:
संसक्ताभिस्त्रिपुरविजयो गीयते किन्नरीभि:।
निर्ह्रादस्ते मुरज इव चेत्कन्दरेषु ध्वनि: स्यात्
सङ्गीतार्थो ननु पशुपतेस्तत्र भावी समग्र:।।५७।।

हे बादल! त्यहाँ हावा भरिंदा सुखेका बाँसले ध्वनी उत्पन्न गर्छन र किन्नरीहरूले त्येही ध्वनीमा लय मिलाएर त्रिपुर-विजयको गीत गाउने गर्छन्। पहाडका कन्दराहरूमा गर्जेका तिम्री मधुर ध्वनीहरू यदि मृदङ्गबाट निस्केको ध्वनी जस्तो भएर किन्नरीहरूले गाउने गीतमा मिसिने हो भने शिवको पूजाको लागि लागि चाहिने सुन्दर सङ्गीत बन्ने थियो।

प्रालेयाद्रेरुपतटमतिक्रम्य तांस्तान्विशेषान्
हंसद्वारं भृगुपतियशोवर्त्म यत्क्रौञ्वरन्ध्रम्।
तेनोदीचीं दिशमनुसरेस्तिर्यगायामशोभी
श्याम: पादो बलिनियमनाभ्युद्यतस्येव विष्णो:।।५८।।

हे बादल! हिमालय पर्वतको किनार नजिक रहेका प्रसिद्ध दृश्यहरू हेर्दै तिमी अगाडि जानु। त्यहाँ क्रौंच पर्वतमा हांसहरूका लागि प्रवेश गर्न एक दुलो छ जुन दुलो परशुराम ऋषिले पहाड फोडेर बनाएका थिए। त्यो दुलो परशुराम ऋषिको यशको स्मृति-चिन्ह हो। बलि-बन्धनको समयमा भगवान् विष्णुको साँवल चरण जति सुन्दर देखिएको थियो त्यो दुलोमा लामो समय लगाएर तिमीले प्रवेश गर्दा त्यस्तै सुन्दर देखिने छ।

गत्वा चोर्ध्वं दशमुखभुजोच्छवासितप्रस्थसंधे:
कैलासस्य त्रिदशवनितादर्पणस्यातिथि: स्या:।
श्रङ्गोच्छ्रायै: कुमुदविशदैर्यो वितत्य स्थित: खं
राशीभूत: प्रतिदिनमिव त्र्यम्बकस्याट्टहास:।।५९।।

हे बादल! क्रौंच पर्वतको दुलोबाट निस्केर तिमी त्यो कैलाश पर्वतको पाहुना बन्नु जो आफ्नो उज्ज्वलताको गुणले गर्दा देवस्त्रीहरूका लागि दर्पण जस्तो छ। कैलाश पर्वतको तिखोपनाको बल रावणले आफ्ना हातहरूले नराम्रोगरी हल्लाइ दिएको कारणले कमजोर हुन पुगेको छ। कुमुदको सेतो फूल जस्तो कैलाश पर्वतको सेतो हिँऊ भएको चुचुरा आकासमा यस्तो गरी फैलिएर उभिएको देखिन्छ मानौ भगवान् शिवले खित्का छोडेर हाँसेका हाँसोहरू फैलिएर उभेका हुन।

उत्पश्यामि त्वयि तटगते स्निगधभिन्नाञ्जनाभे
सद्य:कृत्तद्विरददशनच्छेदगौरस्य तस्य।
शोभामद्रे: स्तिमितनयनप्रेक्षणीयां भवित्री-
मंसन्यस्ते सति हलभृतो मेचके वाससीव।।६०।।

हे बादल! राम्रो गरि धूलो पारेर तयार गरिएको गाजल लगाएझै तिम्रो सुन्दर कालो रुप हात्तिको भरखर काटिएको दाँत जस्तो सेतो प्रतीत हुने कैलाश पर्वतमा जब फैलिने छ तब तिमी काँधमा निलो रुमाल राखेका बलरामजी हौ त्यस्तो देखिने छौ र तिमीलाई निरन्तर हेरिरहौ जस्तो लाग्ने छ।

हित्वा तस्मिन्भुजगवलयं शम्भुना दत्तहस्ता
क्रीडाशैले यदि च विचरेत्पादचारेण गौरी।
भड्गीभक्ता विरचितवपु: स्तम्भितान्तर्जलौघ:
सोपानत्वं कुरू मणितटारोहणायाग्रयायी।।६१।।

हे बादल! त्यो क्रिडापर्वत (कैलाश पर्वत) मा शिवजीको सर्परुपि कंगन खोलेर राखिएको छ। कंगन नभएको शिवजीको हात माथि हात राखेर पार्वतीजी त्यस क्रिडापर्वतमा पैदल घुमेमा तिमीले आफूभित्र रहेको पानीलाई बरफमा परिणत गर्नु र त्यो बरफलाई सिंढी झै तुल्याइ दिनु। तिमीले यस्तो गरेमा पार्वतीजीलाई तिमी माथि खुट्टा राखेर मणितटमाथि पुग्न सजिलो हुनेछ।

तत्रावश्यं वलयकुलिशोद्धट्टनोदगीर्णतोयं
नेष्यन्ति त्वां सुरयुवतयो यन्त्रधारागृहत्वम्।
ताभ्यो भोक्षस्तव यदि सखे! धर्मलब्धस्य न स्यात
क्रीडालोला: श्रवणपरुषैर्गर्जितैर्भाययेस्ता:।।६२।।

हे बादल! कंगनको अग्र भागले प्रहार गर्दा जल वर्षा गराउने तिमीलाई कैलाश पर्वतका देवाSङ्गना (सुर-युवती) हरूले जलको फोहरा बनाइ दिने छन्। हे साथी! गर्मीको समयमा तिमीसँग मिलन भएकोले प्रेम क्रीडामा आसक्ति देखाएर तिनीहरूले तिमीलाई नछोडेमा ती देवाSङ्गनाहरूलाई आफ्नो कर्कस आवाजले डराइ दिनु।

हेमाम्भोजप्रसवि सलिलं मानसस्यददान:
कुर्वन्कामं क्षणमुखपटप्रीतिमैरावतस्या।
धुन्वन्कल्पद्रुमकिसलयान्यंशुकानीव वातै-
नानाचेष्टैर्जलद! ललितैर्निर्विशे तं नगेन्द्रम्।।६३।।

हे बादल! आफ्नो मित्र कैलास पर्वतमा रही तिमीले अनेक ललित क्रीडाहरू गरेर आनन्द लिनु। कहिले सुनौलो कमलका फूलहरूले भरिएको मानसरोवरको पानी पिउनु। कहिले भगवान् इन्द्रका सेवक ऐरावत हात्तिको मुख कपडाले छोपेझै गरी उसलाई प्रशन्न तुल्याउनु। कहिले भने कल्पवृक्षका पातहरूलाई यसरी हल्लाइ दिनु हेर्दा नृत्यको समयमा नृत्य गर्ने (नर्तकी) हरूले हातमा रुमाल लिएर हल्लाए झै देखियोस।

तस्योत्सङ्गे प्रणयिन इव स्रस्तगङ्गादुकूलां
न त्वं दृष्ट्वा न पुनरलकां ज्ञास्यसे कामचारिन्।
या व: काले वहति सलिलोद्गारमुच्चैर्विमाना
मुक्ताजालग्रथितमलकं कामिनीवाभ्रवृन्दम्।।६४।।

हे कामुक (इच्छा अनुसार विचरण गर्ने) बादल जसको गङ्गारुपि साडी केही तल झर्न पुगेको छ त्यस्तो अलकापुरी (अलकापुर नगर) लाई आफ्नो प्रेमी कैलास पर्वतको काखमा बसेको देखेर तिमीले चिन्न नसक्ने भन्ने हुनै सक्तैन। वर्षातको दिन सात तल्ले भवनहरूबाट युक्त अलकापुरीको आकासमा जब तिमी फैलिने छौ तब तिम्रो जलको धाराहरूले सुशोभित भएर अलकापुरी यस्तो देखिने छ मानौ मोतिहरूले सिंगारिएकी कुनै कामिनी (कामुक स्त्री) को शरीर होस।

इति पूर्व मेघ: पूर्व मेघ समाप्त

प्रस्तुति: विश्वराज अधिकारी

अथ उत्तर मेघ:

विद्युत्वन्तं ललितवनिता: सेन्द्रचापं सचित्रा
संगीताय प्रहतमुरजा: स्निग्धगम्भीरघोषम्।
अन्तस्तोयं मणिमयभुवस्तुङ्मभ्रंलिहाग्रा:
प्रासादास्त्वां तुलयितुमलं यत्र तैस्तैर्विशेषै:।।१।।

हे बादल! अलकापुरीका भवनहरूले तिमीसँग तिब्र प्रतिस्पर्धा गर्ने क्षमता राख्छन् किनभने तिमीसँग बिजुली छ भने तिनीहरूसँग अत्यन्त सुन्दर स्त्रीहरू छन्। तिमीसँग सप्तरङ्गी इन्द्रधनुष छ भने तिनीहरू सँग अनेक मोहक चित्रहरू छन्। तिमीसँग मधुर एवं गम्भीर गर्जन छ भने तिनीहरू सँग मृदंग छन् जुन मिठो संगीतका लागि ध्वनित हुन्छन्। तिमी भित्र पानी भरिएको छ भने तिनीहरूसँग मणिहरू जडित गलैचाहरू छन। तिमी माथि उठेका छौ भने तिनीहरू सँग आकास छुने उचाइ छ।

हस्ते लीलाकमलमलके बालकुन्दानुविद्धं
नीता लोध्रप्रसवरजसा पाण्डुतामानने श्री:।
चूडापाशे नवकुरवकं चारू कर्णे शिरीष:
सीमन्ते च त्वदुपगमजं यत्र नीप वधूनाम्।।२।।

हे बादल! त्यहाँ, अलकापुरीमा सुन्दरीहरूले छ ऋतुका फूलहरूद्वारा श्रीङ्गार गर्छन। शरदमा कमलका फूलहरू उनीहरूका हातका शोभा हुन्छन्। हेमन्तमा उनीहरूको घुमरिएको केसमा ताजा बालकुन्द फूल उनिएको हुन्छ। शिशिरमा उनीहरूले लोध्र फूलको पहेंलो पराग अनुहारको सुन्दरता वृद्धि गर्न लगाउँछन। वसन्तमा उनीहरूले कुरबकका नया फूलहरूले आफ्ना जुरो सजाउँछन। गर्मीमा भने उनीहरूले शिरीषको फूल कानमा लगाउने गर्छन र तिमी त्यहाँ पुगेपछि, वर्षाको कारण फुल्ने कदम्बको फूलले सिंउदो श्रृङ्गार्ने गर्छन।

यस्यां यक्षा: सितमणिमयान्येत्य हर्म्यस्थलानि
ज्योतिश्छायाकुसुमरचितान्युत्तमस्त्रीसहाया:।
आसेवन्ते मधु रितफलं कल्पवृक्षप्रसूतं
त्वद्गम्भीरध्वनिष शनकै: पुष्करेष्वाहतेषु।।३।।

हे बादल! त्यस अलकपुरीमा यक्षहरू सुन्दरी (ललितांगना) हरूसँग रातिको समयमा स्फटिक (रत्न) हरू जडिएको र ताराहरूझै सुन्दर फुलहरूले श्रृंगारिएक घरको सिर्ष भाग (छत) मा बस्छन र तिमीलेझै उत्पन्न गर्ने मधुर ध्वनी उत्पन्न गर्ने पुष्कर बाजा जब मन्द मन्द बज्न थाल्छन तब उनीहरूले कल्पवृक्षबाट उत्पन्न भएको रतिक्रिडा रूपको रति फलबाट तयार पारिएको मद्य (रक्सी) पटक पटक पिउँछन्।

मन्दाकिन्या: सलिलशिशरै: सेव्यमाना मरुद्भि-
र्मन्दाराणामनुतटरुहां छायया वारितोष्णा:।
अन्वेष्टव्यै: कनकसिकतामुष्टिनिक्षेपगूढै:
संक्रीडन्ते मणिभिरमरप्रार्थिता यत्र कन्या:।।४।।

हे बादल! त्यस अलकापुरीमा अति रुपवती भएर देवताहरू द्वारा मन पराइएका यक्षका छोरीहरू मन्दाकीनी नदीको पानीबाट चिसो भएको बतासको आनन्द लिंदै नदी किनारमा भएको मन्दार वृक्षहरूको छायामा बसरे आफूलाई घामबाट जोगाउँछन र सुनझै पँहेलो बालुबा भित्री मुठ्ठी घुसारे पहिले मणिहरू लुकाउने त्यसपछि खोज्ने खेल खेल्छन्।

नीवीबन्धोच्छवसितशिथिलं यत्र बिम्बाधाराणां
क्षौमं रागादनिभृतकेष्वाक्षिपुत्सु प्रियेषु।
अर्चिस्तुङगानाभिमुखमपि प्राप्तरत्नप्रदीपान्
हनीमूढानां भवति विफलप्रेरणा चूर्णमुष्टि:।।५।।

त्यो अलकपुरीमा प्रेमीहरूले कामुक भएर आवेशका साथ आफ्नी प्रेमिकाहरूको वश्त्रको गांठो खोलिदिंदा उनीहरू सिथिल हुन पुग्छन र ती प्रेमीहरूले सिथिल भएका प्रेमिकाहरूका रेशमी वश्त्र जब खोल्न खोज्छन तब बिम्बफलका जस्तै राता ओठहरू भएका प्रेमिकाहरू अकमक्क पर्छन र लाजले उनीहरूले अगाडि तेज प्रकाश दिएर बलिरहेको दियो मुठ्ठिभरि कुमकुम फालेर निभाउन खोज्दा पनि निभाउन असफल हुन पुग्छन।

नेत्रा नीता: सततगतिना यद्विमानाग्रभूमि-
रालेख्यानां नवजलकर्णेर्दोषमुत्पाद्यासद्य:।
शङ्कास्पृष्टा इव जलमुचस्त्वादृशा जालमार्गे-
र्धूमोद्गारानुकृतिनिपुणा जर्जरा निष्पतन्ति।।६।।

हे मेघ! त्यस अलकापुरीको सात तल्ले महलहरूको माथिल्लो भाग (कोठा) मा वायुको प्रेरणा पाएर बिना कुनै रोकबट तिमी जस्तै बादलले आफ्नो नया जल थोपाहरूल प्रहार गरेर भित्तामा बनाइएका चित्रहरू खराब पार्छ अनि अपराधी जस्तो डराउँदै आँखी झ्यालबाट धुआँ जस्तो बाहिर आउनमा चलाख भए झै, अति दुब्लो भएर बाहिर आउँछन्।

तत्र स्त्रीणां प्रयतमभुजालिङ्गनोच्छ्वासिताना-
मङ्गग्लानि सुरतजनितां तन्तुजालावलम्बा:।
त्वत्संरोधापगमविशपैश्चन्द्रपादैनिशीथे
व्यालुम्पन्ति स्फुटजललवस्यन्दिनश्चन्द्रकान्ता:।।७।।

हे बादल! त्यहाँ अलकापुरीमा मध्य रातमा जब तिमी तल हुँदैन तब चन्द्रमाको सेतो प्रकाश झालरहरूमा झुन्ड्याइएको चन्द्रकान्त मणिहरूमा पर्छ तब ती मणिहरूले पनि जल बिन्दुका वर्षा गराउन थाल्छन। यस्तो समयमा प्रमीहरूले प्रमीकाहरूलाई कडासँग अँगालोमा राख्दा प्रेमिकाहरू शिथिल हुन पुग्छन र रतिक्रिणाबाट उत्पन्न भएको उनी (प्रमिका) हरूको थाकाइ मेटिन्छ।

अक्षय्यान्तर्भवननिधय: प्रत्यहं रक्तकण्ठै-
रूद्र्गायद्भिर्धनपतियश: किंनरैर्यत्र सार्धम्।
वैभ्राजाख्यं बिबुधवनितावारमुख्यासहाया
बद्धालापा बहिरुपवनं कमिनो निर्विशन्ति।।८।।

हे बादल! त्यस अलकापुरीको कहिले न समाप्त हुने सुख, सम्पत्तिले भरपुर रहेको भवन भित्र कामुक व्यक्तिहरूले देव स्त्री अप्सराहरू साथमा लिएर प्रेमालाप गर्दै कुबेरको यश-गान उच्च आबाजमा गर्ने मधुर स्वरका धनी किन्नरहरूको गीत कुबेरको वैभ्राज (चित्ररथ) नामक बाहिरि बगैंचामा श्रवण गर्छन।

गत्युत्कम्पादलकपतितैर्यत्र मन्दारपुष्पै:
पत्रच्छेदै: कनककमलै: कर्णविभ्रंशिभिश्च।
मुक्ताजालै: स्तनपरिसरच्छिन्नसूत्रैश्च हारै-
र्नैशोमार्ग: सवितुरुदये सूच्यते कामिनीनाम्।।९।।

हे बादल! त्यस अलकापुरीमा कामिनी (प्रेमिका) हरू रातिको समयमा आफ्ना प्रेमीहरूलाई भेट्न हिँडेको बाटो भोलि सूर्योदय को समयमा त्यो बाटोमा भेटिएका ती प्रेमिकाहरू तेज गतिमा हिँड्दा उनीहरूको कपालबाट झरेको मन्दारपुष्प, पत्रलताका झरेका टुक्रा, कानबाट खसेको सेतो कमलको फूल, सिरमा सजाइएका मोतिका हारहरूबाट खसेका धागोहरू र वक्षमामाथि सजिएका मोतिका हारहरूबाट खसेका मोतिहरूबाट थाहा पाउन सकिन्छ।

मत्वा देवं धनपतिसखं यत्र साक्षाद्वसन्तं
प्रायश्चापं न वहति भयान्मन्मथ: षट्पदज्यम्।
सभ्रूभङ्गप्रहितनयनै: कमिलक्ष्येष्वमोघै-
स्तस्यारम्भश्चतुरवनिताविभ्रमैरेव सिद्ध:।।१०।।

हे बादल! त्यस अलकापुरीमा कुबेरका मित्र भगवान् शिवजी साक्षात बसेको थाहा पाएर भमराहरूले युक्त भएको प्रत्यंचा राखिएको धनुषमा बाण राख्न कामदेव प्राय: डराउने गर्दछन् किनभने कामुक व्यक्तिहरूको मनमाथि विजय प्राप्त गर्ने कामदेवको इच्छा त नगर स्त्री (वेश्या) को त्यो लिलाबाट पूरा हुन्छ जुन लिला अन्तरगत उनीहरूले कामुक पुरुषहरू घायल हुनेगरी अचुक नजर-बाण प्रहार गर्दछन।

वासश्चित्रं मधु नयनयोर्विभ्रमादेशदक्षं
पुष्पोभ्देदं सह किसलयैर्भूषणानां विकल्पान्।
लाक्षरागं चरणकमलन्यासयोग्यं च यस्या-
मेक: सूते सकलमबलामण्डनं कल्पवृक्ष:।।११।।

हे बादल! त्यस अलकापुरीमा स्त्रीहरूले श्रृङ्गारका लागि प्रयोग गर्ने- विभिन्न रङ्गका लुगाहरू, आँखामा चञ्चलता ल्याउन लगाइने चटक मधु, शरीर सजाउनका लागि किसलयको फूल, सुन्दरता बढान धारण गरिने अनेक गहनाहरू र पाउ रङ्गाउने प्रयोग गरिने रातो रङ्ग, केवल एक्लो कल्पवृक्षले प्रदान गर्दछ।

तत्रागारं धनपतिगृहानुत्तरेणास्मदीयं
दूराल्लक्ष्यं सुरपतिधनुश्चारुणा तोरणेन।
यस्योपान्ते कृतकतनय: कान्तया वर्धितो मे
हस्तप्राप्यस्तबकनमितो बालमन्दारवृक्ष:।।१२।।

हे बादल! त्यस अलकापुरीमा धनपति कुबेरको दरबारदेखि उत्तरतिर हाम्रो घर छ जसमा इन्द्रधनुष झै सुन्दर द्वारको भएकोले परबाट नै चिन्न सकिन्छ। त्यस घरको एकातिर मेरी पत्नीले आफ्नो पुत्रलाई झै लालन पालन गरेर हुर्काएकी एउटा सानो मन्दार पुष्पको रूघ छ। फूलाका गुच्छाहरूले गर्दा हाँगाहरू निहुरिएको हुँदा हात केही माथि गरेर मन्दार पुष्पहरू टिप्न सकिन्छ।

वापी चास्मिन्मरकतशिलाबद्धसोपानमार्गा
हैमैश्छन्न विकचकमलै: स्निग्धवैदूर्यनालै:।
यस्यास्तोये कृतवसतयो मानसं संनिकृष्टं
नाध्यास्यन्ति व्यपगतशुचस्त्वामपि प्रेक्ष्य हंसा।।१३।।

हे बादल! मेरो त्यस भवनमा पन्नाले बनेको भर्यांग छ। एक तलाउ पनि छ जसमा चक्राकार हिरा (पथ्थर) हरू द्वारा निर्मित उकृष्ट कमलका फूलहरू राखिएका छन्। त्यस तलाउको सुन्दरताले गर्दा त्यसमा निवास गर्ने हाँसहरू आफ्ना अरु अनेक दु:खहरू बिर्सेर नजिक रहेको मानसरोवर जाने प्रवल इच्छा प्रकट गर्दैनन्।

तस्यास्तीरे रचिताशिखर: पेशलैरिन्द्रनीलै:
क्रीडाशैल: कनककदलीवेष्टनप्रेक्षणीय:।
मद्गोहिन्या: प्रिय इति सखे! चेतसा कातरेण
प्रेक्ष्योपान्तस्फुरिततडितं त्वां तमेव स्मरामि।।१४।।

हे बादल! त्यस तलाउको किनारमा एक क्रीडा-पर्वत छ। त्यस पर्वतको चुचुरो अति सुन्दर नील मणिहरू जडेर बनेको छ र त्यसको चारैतिर कदलीका वृक्षहरू पर्खालझै बनेको दृश्य अति नै मनोरम देखिन्छ। हे मित्र! आकामा फैलिएर चारैतिर तिमीले बिजुली चम्काएको देखेर त्रसित मेरो यो मनले मेरी पत्नीलाई अति मन पर्ने त्यो पर्वत याद गर्न थाल्छ।

रक्ताशोकश्चलकिसलय: केसरश्चात्र कान्त:
प्रत्यासन्नौ कुरबकवृतेर्माधवीमण्डस्य।
एक: सख्यास्तव सह मया वामपादाभिलाषी
काङ्क्षत्वन्यो वदनमदिरां दोहदच्छद्मनाSत्या:।।१५।।

हे बादल! त्यस क्रिडा-पर्वतमा कुरवक वृक्षहरूले घेरिएको र मोतिहरूद्वारा सजाइएको एक मन्डप छ। त्यस मन्डपको नजिक एकातिर चञ्चल पल्लवहरूले युक्त राता फूलहरू फुलेका अशोकको वृक्ष छ भने अर्कोतिर सुन्दर मौलसिरी (वकुल) को वृक्ष छ। एकातिर रहेको राता फूलहरू फुलेका अशोकको वृक्षले तिम्री सखी (मेरी पत्नी) को देब्रे पाउ त्यहाँ टेकियोस भन्ने र अर्कोतिर रहेको बकुलको वृक्षले उनीले मुखबाट फालेको मदिरा त्यहाँ परोस भन्ने कामना गर्दछ।

तन्मध्ये च स्फटिकफलका काञ्चनी वासयष्टि-
र्मूले बद्धा मणिभिरनतिप्रौढवंशप्रकाशै:।
तालै: शिन्जावलयसुभगैर्नर्तित: कान्तया मे
यामध्यास्ते दिवसविगमे नीलकण्ठ सुहृद्व:।।१६।।

हे बादल! राता फूलहरू फुलेका अशोक र मौलसिरी वृक्षको बीचमा बस्नका लागि सुनको एक यस्तो छाता राखिएको छ जसको माथि हिराहरू जडिएका छन् भने मुख्य भागमा नया बाँसको जस्तो हरिया चोआ रङ्गका मरकत मणिहरू जडिएका छन्। मेरी प्रियत्माले हातमा पहिरिएकी झम झम बज्ने कंगन हल्लाउँएर पहिले थपडी बजाउँ छिन अनि पछि नीलो कण्ठ भएको तिम्रो मित्र मयुर त्यो छाता माथि आएर बस्छ।

एभि: साधो! हृदयनिहितैर्लक्षणैर्लक्षयेथा
द्वारोपान्ते लिखितवपुषौ शङ्खपद्मौ च दृष्ट्वा।
क्षामच्छायं भवनमधुना मद्वियोगेन नूनं
सूर्यापाये न खलु कमलं पुष्यति स्वामभिख्याम्।।१७।।

हे सज्जन! बयान गरिएका लक्षण मनमा राखेर अनि तोरण (मुलद्वार) मा निर्मित शङ्ख र पद्म (कमल) को चित्र देखेर तिमीले मेरो घर चिन्ने छौ। मेरो बिछोडको वियोगले गर्दा अहिले त्यो सुन्दर भने नदेखिएको होला। हुन पनि सूर्यको प्रकाश नपाउँदा कमलको फूलले पनि आफ्नो सौन्दर्य वृद्धि गर्न सक्तैन।

गत्वा सद्य: कलभतनुतां शीघ्रसंपातहेतो:
क्रीडाशैले प्रथमकथिते रम्यसानौ निषण्ण:।
अर्हस्यन्तर्भभवनपतितां कर्तुमल्पाल्यभासं
खद्योतालीविलसितनिभां विद्युदुन्मेषदृष्टिम्।।१८।।

हे बादल! छिटै तल आउनका लागि तिमीले तत्काल बच्चा हात्तिको रूप धारण गर्नु अनि क्रीडा-पर्वतको सुन्दर शिखरमा बसरे जुन्किरी जस्तो देखिने र मधुरो प्रकाश भएको आफ्नो दृष्टि महल भित्र राख्नु।

तन्वी श्यामा शिखरिदशना पक्वबिम्बाधरोष्ठी
मध्ये क्षामा चकितहरिणीप्रेक्षणा निम्ननाभि:।
श्रेणीभारादलसगमना स्तोकनम्र स्तनाभ्यां
या तत्र स्याद्युवतिविषये सृष्टिराद्येव धातु:।।१९।।

हे बादल! पातलो शरीर भएकी, युवा अवस्थामा रहेकी, पाकेको अनारको दाना झै मिलेको दाँतहरू भएकी, पाकेको कुंदुरु फल झै रातो ओठले सुशोभित, पातलो कमर भएकी, डराएको मृगको आँखामा देखिने चञ्चलता भएकी, भित्र पसेको नाभी भएकी, नितम्बको भारले गर्दा विस्तारै हिंड्ने गरेकी, ठूलो स्तनले गर्दा केही निहुरिएकी र ब्रह्माजीले स्त्रीहरूको रचना गर्दा प्रथम रचना गरेको स्त्री झै देखिने स्त्रीको घरमा तिमी प्रवेश गर।

तां जानीथा: परिमितकथां जीवितं मे द्वितीयं
दूरीभूते मय सहचरे चक्रवाकीमवैकाम्।
गाढोत्कण्ठां गुरुषु दिवसेष्वेषु गच्छन्सु बालां
जातां मन्ये शिशिरमथितां पद्मिनीं वान्यरूपाम्।।२०।।

हे बादल! म टाढा हुन पुगेको हुनाले आफ्नो साथी (म) सँग छुट्टिएर चखेवी जस्तो कम बोल्ने र एक्लो हुन पुगेकी मेरी प्रेयसीलाई तिमीले मेरो दोस्रो प्राण हो भन्ने बुझ। मलाई के यस्तो लाग्छ भने लामो बिछोडको बिरहले अति व्यथित ती युवती चिंताले गर्दा पहेंलो हुन पुगेको कमलको फूल जस्तो सौन्दर्यहिन भएकी होलिन्।

नूनं तस्या: प्रबलरुदितोच्छूननेत्रं प्रियाया
नि:श्वासानामशिशिरतया भिन्नवर्णाधरोष्ठम।
हस्तान्यस्तं मुखमसकलव्यक्ति लम्बालकत्वा-
दिन्दोर्दैन्यं त्वदनुसरणक्लिष्टकान्तेर्बिभर्ति।।२१।।

हे बादल! निरन्तरको रोदनले जसको आँखा सुनिएको छ, तातो सांसले गर्दा जसको ओठको रङ्ग कान्तिहीन भएको छ, त्यस्ती प्रेयसी जसको हत्केलामा राखिएको मुहार श्रृंगार नगरिएकोले कपाल झरेर पूर्ण मुहार नदेखिने भएको होला। यो अवस्था तिनी यस्तो सौन्दर्यहीन देखिएकी होलिन जसरी तिमीले छेकिदिनाले चन्द्रमा सोन्दर्यहीन देखिन पुग्छ।

आलोके ते निपतति पुरा सा वलिव्याकुला वा
मत्सादृश्यं विरहतनु वा भावगम्यं लिखन्ती
पृच्छन्ती वा मधुरवचनां सारिकां पञ्जरस्थां
कच्चिद्भर्तु: स्मरसि? रसिके! त्वं हि तस्य प्रियेति।।२२।।

हे बादल! मेरी पत्नी या त देवताहरूको पूजा गर्दै गरेको या विरहमा अति दु:खी भएर मनमा उत्पन्न भएका अनेक भावले कल्पना गर्दै मेरो आकृति मुटुमा बनाउँदै गरेको स्थितिमा वा पिजराको रहेको मृदुभाषिनी मैनालाई- हे रसिके, तिमीलाई पनि ती स्वामी याद आउँछन? किनभने तिमी पनि त उनको प्रिया थियौ, यस्तो भन्दै गरेको स्थितिमा देख्ने छौ।

उत्सङ्गे वा मलिनवसने सौम्य! निक्षिप्य वीणां
मद्गोत्राङ्क विरचितपदं गेयमुद्गातुकामा।
तन्त्रीमार्द्रां नयनसलिलै: सारयित्वा कथंचिद्
भूयो भूय: स्वयमपि कृतां मूर्च्छनां विस्मरन्ती।।२३।।

हे सज्जन! मैलो वस्त्र लागाएकी, आफ्नो काखमा विणा राखेर पदमा मेरो नाम समाबेस भएको गीत गान्धार रागमा गाउन खोज्दै गरेकी, आँशुले भरिएको आँखा कसैगरी पुच्दै गरेकी तथा गीत गाउँदा पटक पटक स्वयंले नै रचना गरेकी लय (संगीत) बिर्संदै गरेकी मेरी प्रिया छिटै तिम्रो बाटोमा देखा पर्ने छिन्।

शेषान्मासान्विरहदिवसस्थापितस्यावधेर्वा
विन्यस्यन्ती भुवि गणनया देहलीदत्तपुष्पै:।
मत्सङ्गं वा हृदयनिहितारम्भमास्वादयन्ति
प्रायेणैते रमणविरहेष्वङ्गनानां विनोदा:।।२४।।

हे बादल! वियोगको पिडादायी अवस्था, सङ्कल्प अथवा तोकिएको बिछोडको एक वर्ष मध्ये अब कति महिना बाँकि छ भनी थाहा पाउनका लागि (मेरी प्रियाले) दैलोमा राखिएका पूजामा चढाइका फूलहरूको गणना गर्दै भुइँमा राख्दै गरेकी होलिन। अथवा अनेक किसिमका सम्भोगका सुखहरूको स्मरण गर्दै मेरो मिलनबाट प्राप्त हुने आनन्द अनुभूत गर्दै होलिन। पतिसँग छुट्टिएर बस्नु परेका पत्नीहरूले बिछोडको पीडा भुल्न प्राय: यस्तै सोंचेर मन महलाउने गर्छन्।

सव्यापारामहनि न तथा पीडयेन्मद्वियोग:
शङ्के रात्रौ गुरुतरशचं निर्विनोदां सखीं ते।
मत्संदेशै: सुखयितुमलं पश्य साध्वीं निशीथे
तामुन्निद्रामवनिशयनां सौधवातानस्थ:।।२५।।

दिनमा चित्रहरू बनाउन तथा वीणा बजाउनमा व्यस्त हुने हुँदा तिम्री साथी (मेरी पत्नी) लाई मेरो बिछोडको पीडाले त्यसरी नसताउला तर रातमा समय बिताउन भने केही साधन पनि नहुँदा म सोँच्छु उनी चिंतामा डुब्ने छिन्। त्यसकारण भुइँमा पल्टिर मध्य रातमा जागा रहेकी मेरी पतिव्रता प्रेयसीलाई मेरो सन्देशको पर्याप्त आनन्द लिन दिन तिमीले झ्यालमा आएर हेरि दिनु।

आधिक्षामां विरहशयने संनिषण्णैकपार्श्वां
प्राचीमूले तनुमिव कलामात्रशेषां हिमांशो:।
नीत रात्रि: क्षण इव मया सार्धमिच्छारतैर्या
तामेवोष्णौर्विरहमहतीमश्रुभिर्यापयन्तीम्।।२६।।

हे बादल! मानसिक चिंताले टुटेकी तिनी पीडित भएर वेदनाको शैयामा केवल एक कोल्टो भएर सुत्दा पूर्व दिशामा देखिएको एक प्रहर (सानो आकार) को चन्द्रमा झै देखिएकी होलिन। कुनै समयमा जब म साथ हुँदा इच्छा अनुरुप गरिएको अति आनन्ददायी रति-क्रिणाका सुखद अनुभूतिले गर्दा सिंगो रात एक क्षणमा बितेको झै अनुभूत गर्ने, पीडाको तातो आँशुमा डुबेर बिताउँदा त्येही रात पहाडझै विशाल भएको अनुभूत गर्ने मेरी प्रियालाई अवलोकन गर।

पादानिन्दोरमृतशिशिरराञ्जालमार्गप्रविष्टान्
पूर्वप्रीत्या गतमभिमुखं संनिवृत्तं तथैव।
चक्षु: खेदात्सलिलगुरुभि: प्रक्ष्मभिश्छादयन्तीं
साभ्रे ह्नीव स्थलकमलिनी न प्रबुद्धा सुप्ताम।।२७।।

हे बादल! झ्याल भित्रबाट प्रवेश गरेको सितल, अमृत झै चन्द्रमाको प्रकाश हेर्नेका लागि पहिलेको जस्तै प्रेममय दृष्टिले हेर्न उनको नजर अगाडि बढ्छ तर फेरि फर्केर आउँछ। यस पछि उनले त्यो दृष्टिलाई आँशुले भरिएको परेलिले यसरी छोपि दिन्छिन जसरी न त पूरा फुल्न सक्ने न त ओइलाउन नै सक्ने गरी बादल लागेका दिनहरूले भुइँ-कमलिनी छोपि दिने गर्छन्। यस स्थितिमा मेरी प्रेयसीलाई हेर।

नि:श्वासेनाधरकिसलयक्लेशिना विक्षिपन्तीं
शुद्धस्नानात्परुषमलकं नूनमागण्डलम्बम्।
मत्सांभोग: कथमुपनयेत्स्वप्नजोSपीति निद्रा-
माकाङ्क्षान्तीं नयनसलिलोत्पीडरूद्धात्वकाशाम्।।२८।।

हे बादल! तेल लगाएर स्नान नगरेको हुँदा कपाल सुख्खा भएर घुमरिएको र एउटा चुल्ठो उनको गालामाथि झुन्डिएको होला। त्यो चुल्ठोलाई स्वांसबाट निस्केको तातो हावाले पल्लवलाई हल्लाए झै हल्लाउँदै होला। निद्रा (सपना) मा पनि मसँग रति-क्रिडाको आनन्द प्राप्त होस भन्ने कल्पना गर्दै सुत्न खोज्दै गरेकी तर आँखामा भरिएको आँशुले गर्दा सुत्न नसकेको स्थितिमा रहेकी मेरी प्रियालाई हेर।

आद्ये बद्धा विरहदिवसे या शिखा दाम हित्वा
शापस्यान्ते विगलितशुचा तां मयोंद्वेष्टनीयाम्।
स्पर्शक्लिष्टामयमितनखेनासकृत्सारयन्तीं
गण्डाभोगात्कठिनविषमामेकवेणीं करेण।।२९।।

हे बादल! बिछोडको पहिलो दिनमा फुलको माला खोलेर जुन चुल्ठो बाँधिएको थियो, मैले पाएको श्राप (दण्ड) समाप्त भएपछि मबाट नै खोलिने त्यो चुल्ठो कठोर एवं नमिलेको कारण गुजुल्टिएर एउटा हुन पुगेकोले त्यसलाई छुदां पीडा बोध हुन्छ। त्यो चुल्ठोलाई नङ नकाटिएको हातले मेरी प्रियाले नितम्ब (कमर मुनिको भाग) बाट बारम्बार हटाउँदै गरेको हेर।

सा संन्यस्ताभरणमबला पेशलं धारयन्ती
शय्योत्सङ्गे निहितमसकृद् दु:खदु:खेन गात्रम्।
त्वामप्यस्त्रं नवजलमयं मोचयिष्यत्यवश्यं
प्राय: सर्वो भवति करूणावृत्तिराद्रन्तिरात्मा।।३०।।

हे बादल! गहनाहरू लगाउन छाडेकी ती अबलाले अनेक प्रकार दु:ख कष्टले कमजोर भएको आफ्नो सुकोमल शरीरलाई बिछोडको शैय्यामा कसैगरी राखिरहेकी होलिन। उनीलाई देखेर तिम्रा आँखाहरूबाट पनि आँशुका नया थोपाहरू खस्ने छन् किनभने कोमल हृद्य भएका व्यक्तिहरूको मन दयाले भरिएको हुन्छ।

जाने सखयास्तव मयि मन: संभृतस्नेहमत्मा-
दित्थंभूतां प्रथमविरहे तामहं तर्कयामि।
वाचालं मां न खलु सुभगंमन्यभाव: करोति
प्रत्यक्षं ते निखिलमचिराद् भ्रातरुक्तं मया यत्।।३१।।

हे बादल! तिम्री साथी (मेरी प्रेयस) को मनमा मप्रति कति प्रेम छ भन्ने कुरा मलाई राम्रो गरी थाहा छ। यो कारणले गर्दा पहिलो बिछोडमा नै उनी यस्तो भएकी होलिन भनेर कल्पना गर्दैछु। आफू भाग्यमानी हुन पुगेकोले गर्वित हुँदै यो कुरा भनेको होइन। हे भाइ! मैले जुन कुराहरू भने तिमी स्वयंले प्रत्यक्ष हेर्ने छौ।

रुद्धापाङ्गप्रसरमलकैरञ्जनस्नेहशून्यं
प्रत्यादेशादपि च मधुनो विस्मृतभ्रूविलासम्।
त्वय्यासन्ने नयनमुपरिस्पन्दि शङ्के मृगाक्ष्या
मीनक्षोभाच्चलकुवलय श्रीतुलामेष्यतीति।।३२।।

हे बादल! अनुहारमा खसेको कपालले जसको सुन्दर दृष्टिलाई छेकिदिन्छ, गाजल नलगाइएको जुन सुन्दरता विहीन हुन पुगेको छ र मदिराको पान गर्न छाडेकोले जसको आँखिभूँइलाई चञ्चलता याद छैन, मृगको जस्तो आँखा भएकी त्येस्ती मेरी प्रियाको देब्रे आँखा मेरो सन्देश लिएर तिमी जब नजिक पुग्ने छौ फरफराएर यस्तो देखिने छ जस्तो कुनै पोखरीमा माछा फरफराउँदा हल्लिन पुगेको नील कमल सुन्दर देखिन्छ। यस्तो म अनुमान गर्छु।

वामश्चास्या: कररुदपदैर्मच्यमानो मदीयै-
र्मुक्ताजालं चिरपरिचितं त्याजितो दैवगत्या।
संभोगान्ते मम समुचितो हस्तसंवाहनानां
यास्यत्यूरु: सरसकदलीस्तम्भगौरश्चलत्वम्।।३३।।

हे बादल! रसले भरिएको केराको रुख जस्तो सेतो (गोरो) मेरी प्रेयसरीको देब्रे तिघ्रा जसलाई मैले कुनै समयमा सम्भोगको अन्तमा हातले माड्ने गर्थ्ये तिमी नजिक हुने बित्तिकै फरफराउन थाल्ने छ। त्यो तिघ्रामा न त अब मेरो नङ्गले (सम्भोगको समयमा) कोरेको दाग नै छ न त भाग्य विधाताले चिरपरिचित मोतिहरू उनिएको हार नै रहन दिएको छ।

तस्मिनन्काले जलद! यदि सा लब्धनिद्रासुखा स्या-
दन्वास्यैनां स्तनितविमुखो याममात्रं सहस्व।
म भूदस्या: प्रणयिनि मयि स्वप्नलब्धे कथंचित्
सद्य: कण्ठच्युतभुजलताग्रन्थि गाढोपगूढम्।।३४।।

हे बादल! त्यस समयमा मेरी प्रेयसीले निद्राको आनन्द लिरहेको भए नउठाउनु बरु एक प्रहरसम्म गर्जन नगरेर बाटो हेर्नु। सपनामा मलाई देखेर कस्सिएको अंगालो हाल्न मेरो घाँटिमा उनीले पहिराइ दिएकी हातको हार तिम्रो गर्जनले टुट्ने स्थिति उत्पन्न नहोस।

तामुत्थाप्य स्वजलकणिकाशीतलेनानिलेन
प्रत्याश्वास्तां सममभिनवैर्जालकर्मालतीनाम्।
विद्युद्गर्भ: स्तिमितनयनां त्वत्सनाथे गवाक्षे
वक्तुं धीर: स्तनितवचनैर्मानिनीं प्रक्रमेथा:।।३५।।

हे बादल! जल बिन्दु छर्दा निस्केको चिसो हाबाले मेरी प्रेयसीलाई तिमीले ब्युँझ्यायौ भने उनी मालती (चमेली) को नया कोपिला फुले झै सुन्दर देखिने छिन्। झ्यालमा बसेको तिमीलाई आश्चर्यले भरिएको आँखाले एकटकले हेर्ने मनिनी (आफ्नो इच्छा अनुरुप गर्ने) मेरी प्रेयसीलाई तिमीले धैर्यवान् भएर बुजुलीलाई आफूभित्र लुकाउँदै गर्जनरुपि शब्दहरू द्वारा भन्न आरम्भ गर्नु।

भर्तुर्मित्रं प्रयमविधवे! विद्धि मामम्बुवाहं
तत्संदेशैर्हृदयनिहितैरगतं त्वत्समीपम्।
यो वृन्दानि त्वरयति प्रथि श्राम्यतां प्रोषितानां
मन्द्रस्निग्धर्ध्वनिभिरबलावेणिमोक्षात्सुकानि।।३६।।

हे सौभाग्यवति! म तिम्रो प्रियतमको अति प्रिय मित्र बादल हुँ। तिम्रो प्रियतमको हृदयमा तिम्रो लागि रहेको खबर लिएर आएको छु। बाटोमा रहेका (परदेश पुगेक) पतिहरूलाई म आफ्नो धैर्यवान् एवं गम्भीर स्वरम छिटै घर पर्किन यसकारण प्रेरित गर्दछु जसले गर्दा उनीहरूले बिछोडमा परेका आफ्नी पत्नीहरूको जुरो खोलिदिने सुखद इच्छा पूरा गर्न सकुन। (हे बादल! तिमीले मेरी प्रेयसीलाई यस्तो भन्नु)

इत्याख्याते पवनतनय मैथिलीवीन्मुखी सा
त्वामुत्कण्ठोच्छ्वसितहृदया वीक्ष्य संभाव्य चैव।
श्रोष्यत्यस्मात्परमवहिता सौम्य! सोमन्तिनीनां
कान्तोदन्त: सुहृदुपगत: संगमत्किञ्चिदून:।।३७।।

हे बादल! तिमीले यति भनिसके पछि सीताजीले हनुमानलाई देखेर प्रशन्नता जाहेर गरे जस्तै मेरी प्रेयसीले पनि उत्सुकता प्रर्दशन गर्दै प्रफुल्लुत मुद्रामा तिमीतिर टाउको उठाएर हेर्ने छिन र तिम्रो स्वागत गर्ने छिन। त्यसपछि उनले सन्देश एकाग्र चित्त भएर सुन्ने छिन किनभने हे सज्जन! स्त्रीहरूलाई पतिको सन्देशले पति-मिलन (सहवास) भन्दा केही कम मात्र आनन्द दिन्छ।

तामायुष्मन्! मम च वचनादात्मनश्चोपकर्तुं
ब्रूयादेवं तव सहचरो रामगिर्याश्रमस्थ:।
अव्यापन्न कुशलमबले! पृच्छति त्वां वियुक्त:
पूर्वाभाष्यं सुलभविपदां प्राणिनामेतदेव।।३८।।

हे चीरञ्जीवी! मेरो अनुरोध पूरा गर्न एवं तिम्रो परोपकारी प्रकृतिलाई कृतार्थ पार्न मेरी प्रेयसीलाई भन्नु- “हे अबला! बिछोडमा परेको तिम्रो प्रियतम रामगिरि आश्रममा छन र कुशल छन। तिम्रो खबर सोधि रहेका छन।” चारैतिरबाट बिपत्तिले घेरिएको व्यक्तिलाई (हे! बादल) सर्वप्रथम कुशलता नै सोध्नु पर्छ।

अङ्गेनाङ्गे प्रतनु तनुना गाढतप्तेन तप्तं
सास्त्रेणाश्रुद्रुतमविरतोत्कण्ठमुत्कण्ठितेन।
उष्णोच्छ्वासं समधिकतरोच्छवासिना दूरवर्ती
संकल्पैस्तैर्विशति विधिया वैरिणा रुदधमार्ग:।।३९।।

हे सुन्दरी! बिछोडमा परेका तिम्रा प्रियतम आफ्नो शरीर तिम्रो शरीरमा मिलाएर एकाकार हुन चान्छन तर बैरी विधाताले उनको फर्किने बाटो अवरुद्ध पारिदिएकोले उनी केवल संकल्प (कल्पना) द्वारा मात्र तिम्रो शरीर भित्र प्रवेश गरिरहेका छन्। तिम्रो प्रियतम कमजोर भएका छन, तिमी पनि कमजोर भएकी छौ। उनी आँशुमा डुबेका छन्, तिमीलाई पनि आँशुले गलाएको छ। उनी वेदनाले भरिएका छन्, तिमी पनि चिर वेदना सहि रहेकी छौ। उनले लामो लामो सांस फेर्छन तिमी छिटो छिटो सांस छोडि रहेकी छौ।

शब्दाख्येयं यदपि किल ते य: सखीनां पुरस्तात्
कर्णे लोल: कथयितुमभूदाननस्पर्शलोभात्।
सोSतिक्रान्त: श्रवणविषयं लोचनाभ्यामदृश्य-
स्त्वामुत्कण्ठाविरचितपर्व मन्मुखेनेदमाह।।४०।।

हे अबला! जुन प्रियतम तिम्रा साथीहरूले सुन्न सक्ने कुराहरू तिम्रो मुहार स्पर्स गर्ने लोभको कारण तिम्रो कानमा मुख टाँसेर सुनाउने गर्थ्ये त्येही प्रितम (तिम्रो पति) अहिले तिम्रा कान र आँखाहरूबाट धेरै टाढा हुन पुगेर उनले तिम्रो चाहनामा लेखेका पदहरूले युक्त अनेक वाक्यहरू मेरो मुखबाट भन्दै छन्।

श्वामास्वङ्गं चकितहरिणीप्रेक्षणे दृष्टिपातं
वक्त्रच्छायांशशिनि शिखिनां बर्हभारेषु केशान्।
उत्पश्यामि प्रतनुषु नदीवीचिषु भ्रूविलासान्
हन्तैकस्मिन्क्वचिदपि न ते चण्डि! सादृश्यमस्ति।।४१।।

हे प्रिया! प्रियंगु लतामा तिम्रो शरीर, चकित मृगको नेत्रमा तिम्रो नैन-चञ्चलता, चन्द्रमामा तिम्रो मुहारको सुन्दरता, मयूरको पखेटामा तिम्रो केस र मस्किएर बगेको नदीको हल्का लहरमा तिम्रो आँखिभूइँले प्रदर्शित गर्ने कामुकता देख्दछु। तर हे रुववति! तर मध्ये कुनै एक मात्र तिमीलाई देख्न सक्दिन।

(नोट- कवि कालिदासले यक्षको प्रियतमाको सौन्दर्यको वयान गर्दा माथि वर्णनन् गरिएका सबै किसिमका सुन्दरताहरू यक्षको प्रियतममा थिए भन्न खोजेका हुन्।)

त्वामालिख्य प्रणयकुंपितां धातुरागै: शिलाया-
मात्मानं ते चरणपतितं यावदिच्छामि कर्तुम्।
अस्त्रैस्तावत्मुहुरूपचितैर्दृष्टिरालुप्यते मे
क्रूरस्तस्मिन्नपि न सहते संगमं नौ कृतान्त:।।४२।।

हे प्रिया! प्रेममा रिसाइकी तिमी, जब तिम्रो चित्र चट्टानमा रातो माटोले बनाएर आफूलाई तिम्रो चरणमा रहेको चित्रित गर्न तत्पर हुन्छु तब आँखाहरूमा आँशुका धाराहरू फुटेर मेरो दृष्टिलाइ नै रोकि दिन्छन। दैव यति बढि निष्ठुर हुन पुगेका छन कि चित्रमा पनि हाम्रो मिलन हुन दिरहेका छैनन्।

मामाकाशप्रणिहितभुजं निर्दयाश्लेषहेतो-
र्लब्धायास्ते कथमपि मया स्वप्नसंदर्शनेषु।
पश्यन्तीनां न खलु बहुशो न स्थलीदेवतानां
मुक्तास्थूलास्तरुकिसलयेष्वश्रुलेशा: पतन्ति।।४३।।

हे प्रिया! सपना हेरिरहेको समयमा जब तिमीलाई मै कसैगरी भेट्न पुग्छु तब निष्ठुरतापूर्वक (जोसले भरिएको प्रेमले) तिमीलाई अंगालोमा कस्न हाथहरू आकासमा फैलाउन पुग्छु। मेरो त्यस्तो दु:खी अवस्था देखेर वन-देवीहरूका मोटा मोटा आँशु मोतिहरू जस्तो तरु-पल्लवमा पोखिन पुग्छन।

भित्वा सद्य: किसलयपुटान्देवदारूद्रुमाणां
ये तत्क्षीरस्त्रुतिसुरभयो दक्षिणेन प्रवृत्ता:।
आलिङ्ग्यन्ते गुणवति! मया ते तुषाराद्रिवाता:
पूर्व स्पष्टं यदि किल भवेदङ्मेभिस्तवेति।।४४।।

हे प्रिया! देवदार वृक्षका बन्द पल्लवका मुखहरू खोल्दै र खुलेका मुखहरूबाट बगेका दुध जस्ता सेता रसहरूको सुगन्ध बोकेर हिमालयको दक्षिणतिर बाट बगेर आउने बतासलाई हे गुणवती! मैले के अनुभूत गरेर आलिंगन गर्दछु भने त्यो बतासले पहिले तिम्रा अङ्गहरूलाई स्पर्श गरेर आएका छन्।

संक्षिप्येत क्षण इव कथं दीर्घयामा त्रियामा
सर्वावस्थास्वहरपि कथं मन्दमन्दातपं स्यात्।
इत्यं चेतश्चटुलनयने! दुर्लभपार्थनं मे
गाढोष्माभि: कृतमशरणं त्वद्वियोगव्यथाभि:।।४५।।

लामो लामो तिन प्रहरको विरहले भरिएको रात कसै गरी सानो भएर सकिदिए हुन्थ्यो। दिनमा पनि पिरोल्न आउने बिछोडको सन्ताप कसैगरी कम भइदिए हुन्थ्यो। यसयी दुर्लभ कुराको इच्छा गर्ने मेरो मनलाई हे चञ्चल दृष्टि भएकी प्रिया! तिम्रो दर्दनाक बिछोडको पीडाले अनाथ पारिदिएको छ।

नन्वात्मानं बहु विगणयन्नात्मनैवावलम्बे
तत्कल्याणि! त्वमपि नतरां मा गम: कातरत्वम्।
कस्यात्यन्तं सुखमुपनतं दु:खमेकान्ततो वा
नीचैर्गच्छ्त्युपरि च दशा चक्रनेमिक्रमेण।।४६।।

हे प्रिया! श्राप (दण्ड) सकिए पछि यस्तो गर्नेछु, उस्तो गर्नेछु जस्ता कल्पनाहरू गरेर धैर्यका साथ कसै गरी यो जीवनलाइ जोगाएको छु। त्यसकारण तिमीले पनि हे कल्याणि! धैर्य नगुमाउनु। यस्तो को होला जसलाई संधै सुख वा संधै दु:ख मिलेको होस? हामी सबैको भाग्य पाङ्ग्रा जस्तो छ जुन कहिले तल कहिले माथि हुने गर्दछ।

शापान्तो मे भुजगशयनादुत्थिते शाङर्गपाणौ
शेषान्मासान् गमय लोचने मीलयित्या।
पश्चादावां विरहगुणितं तं तमात्माभिलाषं
निर्वेक्ष्याव: परिणतशरच्चन्द्रिकासु क्षपासु।।४७।।

हे प्रिया! जब भगवान् विष्णुले शेष (नाग) को शैया त्याग गर्नु हुनेछ तब मेरो श्राप समाप्त हुनेछ। त्यसकारण बाँकिका चार महिनाहरू तिमीले आँखा चिम्लेर बिताइ दिनु। पछि हामी दुबैले बिछोडमा कल्पना गरेका ती इच्छाहरू शरद ऋतुका चाँदनी रातहरूमा पूरा गर्नै छौ।

भूयश्चाह त्वमपि शयने कण्ठलग्ना पुरा मे
निद्रां गत्वा किमपि रुदती सस्वनं विप्रबुद्धा।
सान्तर्हासं कथितमसकृत्पृच्छतश्च त्वया मे
दृष्ट: स्वप्ने कितव? रमयन्कामपि त्वं मयेति।।४८।।

हे अबला! तिम्रो पतिले साथै यो पनि भने- मलाई अंगालो हालेर पहिले तिमी सुतेकी थियौ तर पछि अकस्मात रुँदै उठ्येऊ। जब पटक पटक मैले तिमीलाई रुनुको कारण सोधें तिमीले हे छलिया! आज सपनामा मैले तिमीलाई कुनै पर स्त्रीको साथ सुतेको देखें भनी मन्द मुस्कान सहित भन्यौ।

एतस्मान्मां कुशलिनमभिज्ञानदानादिवदित्वा
मा कौलीनाच्चकितनयने! मध्यविश्वासिनी भू:।
स्नेहानाहु: किमपि विरहे ध्वंसिनस्ते त्वभोगा-
दिष्टे वस्तुन्युपचितरसा: प्रेमराशीभवन्ति।।४९।।

हे कृष्णनयनी (कालो आँखा भएकी)! मैले पहिले बयान गरेको मेरो अभिज्ञान (परिचय) लाई आधार मानेर दुनियाले भन्ने कुराहरूमा विश्वास नगरेर मप्रतिको विश्वास कायम राख्नु। भन्ने के गरिन्छ भने बिछोडमा प्रेम कम हुन्छ रे। तर सत्य के हो भने प्रेमको प्रयोग हुन नपाएर र प्रत्येक दिन सञ्चय गर्दा प्रियतमप्रतिको स्नेह रस, स्नेह रसको एक भण्डार नै हुन पुग्छ।

आश्वास्यैवं प्रथमविरहोदग्रशोकां सखीं ते
शैलादाशु त्रिनयनवृषोत्खातकूटान्निवृत:।
साभिज्ञानप्रहितकुशलैस्तद्वचोभिर्ममापि
प्रात: कुन्दप्रसवशिथिलं जीवितं धारयेथा:।।५०।।

हे बादल! पहिलो बिछोडको वेदनाले अति दु:खी भएकी तिम्री साथी (मेरी प्रिया) लाई यस किसिमले आश्वासन दिएर भगवान् शिवजीको वृषभ (नन्दी नामको सांढे) ले टाउकोले हिर्काएर चुचुरमा खाल्डो परि दिएको त्यस कैलास पर्वतबाट फेरि छिटै फर्केर आउनु। त्यसपछि मेरी प्रियासँग चिरपरिचित हुँदै उनीले पठाएको कुशलताको सन्देश मलाई सुनाएर मेरो यो सुकुमार जीवनलाई पनि ढाढस दिनु जुन विहानीको कुन्द पुष्प जस्तो शिथिल (क्रियाकलापहीन) हुन पुगेको छ।

कच्चित्सौम्य! व्यवसितमिदं बन्धुकृत्यं त्वया मे
प्रत्यादेशान्न खलु भवतो धीरतां कल्पयामी।
नि:शब्दोSपि प्रदिशसि जलं याचितश्चातकेभ्य:
प्रत्युक्तं हि प्रणयिषु सतामीप्सितार्थक्रियेव।।५१।।

हे सज्जन! यो बन्धुत्व कार्य गर्नका लागि तिमी राजि भयौ त? तिमीले उत्तरमा केही बोलेपछि मात्र तिमी राजि भएको मैले ठान्नु पर्ने म मान्दिन किनभने गर्जन नगरेर नै तिमीले ती चातकहरूलाई जल दिन्छौ जसले जल माग गरेका पनि हुँदैनन्। सज्जनहरूले इच्छा गर्नेहरूको माग उनीहरूले माग नगरेर नै पूरा गरि दिन्छन्।

एतत्कृत्वा प्रियमनुचितप्रार्थनावर्तिनो मे
सौहार्दाद्वा विधुर इति वा मय्यनुक्रोशबुद्धा।
इष्टान्देशाञ्जलद! विचार प्रावृषां संभृतश्री-
र्मा भूदेवं क्षणमपि च ते विद्युता विप्रयोग:।।५२।।

हे बादल! हामी बिचको मित्रले गर्दा अथवा प्रियाको बिछोडमा परेको म एक दु:खी हुँ भन्ने सम्झेर वा प्रियाको अति प्रेममा परेर मलै तिमीलाई अनुचित प्रार्थना (आग्रह) गरेको सम्झेर नै भए पनि मेरो यो प्रिय कार्य (सन्देश प्रवाह) गरे पछि वर्षा ऋतुले सबल र सोभित हुँदै आफूले चाहेको स्थानहरूको भ्रमण गर। म मेरी प्रियासँगको बिछोडमा परेझै तिम्रो बिजुलीसँग पलभर पनि बिछोड नहोस।

(समाप्त)
नोट: महाकवि कालिदासकृत मेघदूत सम्पूर्ण रुपमा माथिको स्लोक ५२ पछि समाप्त हुन्छ। यो समाप्तिलाई नै आधिकारिक मानिएको छ। तर कुनै विद्वानले यो समाप्ति दु:खान्त किसिमको भयो र यसलाई सुखान्त पार्नका लागि तलका दुई स्लोकहरू थपेका हुन। उनको उद्देश्य यक्ष र उनकी प्रेयसीको मिलन होस र पाठकहरूलाई सुखद स्थितिको अनुभूत होस भन्ने हो। तर यस्तो गर्दा कालिदासको मेघदूत कृतिको मौलिकतामा प्रतिकूल प्रभाव पर्ने भएकोले यथार्थ रुपमा प्रस्तुग गरिएको हो।

तं सन्देशं जलधरवरो दिव्यवाचाSSचचक्षे
प्राणांस्तस्या जनहितरतो रक्षितुं यक्षवध्वा:।।
प्राप्येदन्तं प्रमुदितमना: साSSपि तस्यौ स्वभर्तु:
केषां न स्वादभिमतफला पार्थना ह्यु त्तमेषु।।१।।

लोकहितमा समर्पित रहने बादलले त्यस यक्षकी पत्नीको जीवन रक्षा गर्ने अभिप्रायका साथ यक्षको सन्देश उसकी पत्नीलाई सुनाए। आफ्नो पतिको सविस्तार सन्देश सुनेर यक्षकी पत्नी पनि प्रशन्न चित्त भइन। कसैले उत्तम व्यक्ति समक्ष यदि कुनै याचना गरेको छ भने उसको त्यो याचना पूरा नभएको उदाहरण कतै छ र?

श्रृत्वा वार्ता जलदकथितां तां धनेशोSपि सद्य:
शापस्यान्तं सदयहृदय: संविधायाSस्तकोप:।
संयोज्यैतौ विगलितशुचौ दम्पती दृष्टचित्तौ
भोगनिष्ठानविरतसुखं भोजयामास शश्वत्।।२।।

बादलले सुनाएएको सन्देश सुनेर मयालु हृद्य भएकोले कुवेरले पनि यक्षप्रतिको क्रोध परित्याग गर्दै उसलाई त्येही क्षण श्राप मुक्त गरि दिए। शोक समाप्त भएकोले प्रशन्न हृद्य भएका ती दम्पत्ति (यक्ष र उनकी प्रेयसी) हरूको मिलन गराएर इच्छा अनुसारको सुख निरन्तर पाउने अनुभूति पनि कुवेरले गराइ दिए।

नोटः प्रस्तुत अनुवादित सामाग्रीको सर्वाधिकार साहित्यकार तथा बज्जिका भाषाका प्रवर्धक विश्वराज अधिकारीमा निहित रहेको छ । साथै Livemandu.com ले लेखकसँगको सहकार्यमा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले