डुडुवाका बाढीपीडित भन्छन्: साहेब, घर कहाँ बनाएर बसौँ ?, ओत लाग्ने व्यवस्था होस्


बाँके, न्यूजकारखाना । बाँकेको डुडुवा गाउँपालिका वडा- २ कधैपुरवाका बहुरी लोनियाले आफुहरूको उचित बासस्थानका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनी गत ११ भदौमा घर नजिकै रहेको डुडुवा नदीमा आएको बाढीले कटान गरी घर भत्काइदिएपछि बाढीपीडित बनेका छन् ।

उनकी छिमेकी मताला लोनियाको पनि सोही बाढीमा घर बगेपछि एकसरो लुगाबाहेक अरू आफूहरूसँग केही नभएको बताइन् । झरी परिरहँदा उनले ओत लाग्ने घर नहुँदा तीन दिनदेखि आफ्नो परिवार बिचल्लीमा परेको गुनासो गर्दै भनिन्, ‘साहब, शिर ओत लाग्ने सुरक्षित ठाउँ दिनुपर्‍यो ।’

उनीहरू दुवै जनाले आफ्नो गाउँमै पुगेका जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहितको टोली समक्ष यस्तो याचना गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गेलालको टोली बाढीपीडिको अवस्था बुझ्ने र राहत वितरण गर्ने उद्देश्यले कधैपुरवा पुगेका थिए ।

डुडुवा गाउँपालिका राप्ती नदी र डुडुवा नदीमा आउने बाढीका कारण बर्सेनि डुबान, कटान र पटान जस्ता समस्याले प्रभावित हुँदै आएको छ । गत ११ भदौको बाढीका कारण डुडुवा नदी कधैपुरवा गाउँको उत्तरबाट कटान गर्दै गाउँतर्फ पसेको थियो ।

‘साहेब, घर कहाँ बनाएर बसौँ ? भएको जमिन डुडुवा नदीको किनारमा छ । तीन दिनदेखि बिचल्लीमा परेका छौँ’, बहुरीले दुखेसो पोखे । उनले नदीको कटानलाई रोकथाम गर्न नसके कधैपुरवा गाउँ नै जोखिममा पर्ने चेतावनीसमेत दिए ।

तीन दिनअघि आएको बाढीले कधैपुरवाका तीनवटा घर पूर्ण रूपले बगाएको छ । पीडितहरू आफन्त तथा सामुदायिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

भारतले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा एकतर्फी लगाएको लक्ष्मणपुर बाँधका कारण डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिका जोखिममा पर्दै आएका छन् । बर्सेनि डुबान तथा कटनको समस्याले गाउँ नै उठिबास लगाएको छ । राप्ती नदी र डुडुवा नदीमा आउने बाढीका कारण डुडुवाकै छिटैपुरवा, टेपरी, पिप्रहवालगायतका गाउँहरू विस्थापित भएका छन् ।

यसैबीच कधैपुरवाका बाढीपीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले १५-१५ हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी गेलालले उनीहरूलाई तत्कालको समस्या टार्नका लागि नगदै राहत उपलब्ध गराएको बताए । उनले भने, ‘यो राहत तत्कालको गर्जो टार्नका लागि हो । तपाईंहरूको सुरक्षित बसोबासका लागि हामी प्रयास गर्नेछौँ ।’

प्रमुख जिल्ला अधिकारी गेलालले तत्कालका लागि उनीहरूको व्यवस्थापन सुरक्षित स्थानमा गरिएको र दीर्घकालीन रूपमा बाढी कटानको समस्या समाधानका लागि पहल गरिने जानकारी दिए ।

फाईल तस्वीर


Loading comments...