वाम इतिहास कोट्याउँदै ईश्वर पोखरेलले भने, ‘त्यसपछि बुढाले मेरो मुखभरी थुके’


‘सीपीको ङ्यारङ्यार ङुरङुर केही चलेन’
…….

औपचारिक विभाजन भएसँगै नेकपा एमालेले आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको छ ।

महाधिवेशन घोषणापछि नेताहरूबीच नीति र नेतृत्वका विषयमा चर्चा र दाबी स्वाभाविक हो । यस पटक महासचिव ईश्वर पोखरेलले अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै एमाले नेतालाई महाधिवेशन लागेको सन्देश दिएका छन् ।

आज (सोमबार) धुम्बाराहीस्थित एउटा पार्टी प्लासेलमा ‘पत्रकारहरूलाई खाजा खुवाउने’ भन्दै बोलाएर पोखरेलले आफू किन अध्यक्षको दाबेदार भन्ने ? विषयमा २१ मिनेट लामो बाम इतिहासको कहानी सुनाए ।

टुटफुटको इतिहास बोकेको नेपालको बाम आन्दोलनमा भएका मूल उतारचढावबारे व्याख्या गर्दै उनले आफूलाई कार्यकर्ताले कसरी मुखैमा थुकिदिए भन्नेसम्मका विषयमा खुलेर बोले ।

यस्तो छ उनले पत्रकारमाझ दिएको अभिव्यक्तिको सार

हामी माओवादी केन्द्रसँग एकता गर्दा अत्यन्तै उत्साहित थियौँ । तर, त्यो एकताले सकारात्मक परिणाम दिन सकेन । त्यो एकता अहिले प्रकट भएको (एमालेको) विग्रहको एउटा आधार र कारण त बनेको होइन ? भन्ने एउटा प्रश्न खडा भएको छ ।

जे भए पनि अब हामी नयाँ ढंगले अघि बढ्नुको विकल्प छैन । म यतिबेला मेरो आफ्नै ‘फ्ल्यासब्याक’ सम्झिरहेको छु ।

संयोग कस्तो पर्‍यो भने म २०३२ सालमा भूमिगत भएको रहेछु । २०३३ सालमा म कोअर्डिनेसन केन्द्रको सदस्य भएको रहेछु ।

२०३५ सालमा ४ देखि ९ साउनसम्म यसको तेस्रो सम्मेलन हामीले गरेछौँ । त्यो सम्मेलनको आयोजक र व्यवस्थापक मै रहेछु । सम्मेलनमा सहभागीचाहिँ नख्खु जेल ब्रेक गरेर निस्किएका सीपी मैनाली, गोपाल शाक्य, वीरबहादुर लामा जस्ता नेताहरू थिए ।

अर्कोतिर मुक्तिमोर्चावाट विद्रोह गरेर आउने मोदनाथ प्रश्रित, जीवराज आश्रितहरू थिए । अचम्म लाग्छ, धनुषाको एउटा गाउँमा गरिब किसानको गाउँमा हामीले कार्यक्रम गर्‍यौँ ।

मैले यो प्रसंग किन उठाएको भने, त्यसबेला भर्खर आन्दोलनका झिल्काहरू निस्कँदै थिए । त्यस्तो बेला कोअर्डिनेसन केन्द्र झापा आन्दोलन र नक्सलवादी आन्दोलनबाट प्रभावित थियो ।

त्यसबेला उग्रबामपन्थको उदय हुँदै थियो । त्यही बेला कोअर्डिनेसन केन्द्रभित्रवाट एउटा समूहले केन्द्र दक्षिणपन्थी भन्यो र अर्कोतर्फबाट यथास्थितिवादी भयो भनेर एउटै समयमा नेतृत्वमाथि हमला भयो ।

एउटा हमलाकर्ताको नायक सीपी मैनाली थिए भने अर्कोतर्फको रामचन्द्र यादव, जो भारतको हुनुहुन्थ्यो । उहाँको दाबी केन्द्रले क्रान्तिकारी धार छाडेर दक्षिणपन्थी भयो भन्ने थियो । अर्को मणिराज राई, जो सिरहाको नेता हुनुहुन्थ्यो, उहाँले पनि यसरी नै उग्रबामपन्थ भएको भन्दै लखेट्नुभयो ।

साझा हमलाको उद्देश्य पार्टी हेडक्वार्टरमाथि थियो । हामी त्यसबेलादेखि नै हमलाको सिकार हुँदै आयौँ । हमला छेउबाट भएन, पार्टीकै हस्तीबाट भयो । हामी विलखबन्दमा पनि भयौँ त्यसबेला । कोअर्डिनेसन केन्द्रमाथि हमला भएको केही महिनापछि हामीले नेकपा (माले) बनायौँ, २०३८ पुस ११ मा ।

माले बनेपछि हामी त्यसबेला नयाँ शक्तिका रूपमा उदायौँ । तेस्रो शक्तिका रूपमा उदायौँ । २०३९ सालमा फेरि समस्यामा पर्‍यौँ । सीपी मैनाली महासचिव हुनुहुन्थ्यो । उहाँ कस्तो भने, कुनै पौराणिक कथाको नायक जस्तो जाज्वल्यमान व्यक्तित्व ।

त्यस्तो सीपी मैनाली पार्टीभित्र पूरै एक्लो बन्नुभयो । केही गर्न नसक्ने हुनुभयो ।

हामी विचित्रको अन्योलमा पनि पर्‍यौँ ।

पार्टीभित्र सीपी स्खलित भएर पार्टीमै नरहने अवस्था भयो । त्यसबेला मालेको सातौँ केन्द्रीय कमिटीको बैठक बस्यौँ । तपाईंहरूलाई याद होस्, त्यसको व्यवस्थापन र आयोजना पनि मैले नै गरेँ, जुन महोत्तरी र सिन्धुलीको बीचमा भएको थियो ।

त्यो बैठकमा मदन भण्डारीसहतिको मनस्थिति सीपीपछि नेता को हो भन्ने भयो । ठूलो अन्योल थियो । एउटालाई धकेलेर ‘महासचिव हुनु न’ भन्दा ‘नाइँ नाइँ, म हुन्नँ’ भन्थे साथीहरू । यस्तो अवस्थामा पनि पुग्यो पार्टी ।

१ जेठ २०३७ मा हामीले मालेसँग चिनियाँ कम्युनिस्ट पार्टीबीच सहकार्य गर्नुपर्छ भन्ने भयो । सीपी र म नै यो काममा लाग्यौँ ।

हिमाल क्रस गरेर चनि पुगियो । बाटो खोज्नै तीन महिना लाग्यो । दोलखा र सिन्धुपाल्चोककको बीचवाट हामी बिनाभिसा चीन पुगेर त्यहाँका कम्युनिस्ट नेतासँग सम्बन्ध बनाएर फर्कियौँ । त्यसपछि मात्र हो हामीसँग चिनियाँ अनुभव ।

२०३९ सालमा आइपुग्दा त सीपी मैनाली पूर्ण रूपमा एक्लो बन्नुभयो । उहाँ गुटबन्दीको स्रोत बन्नुभयो । माले पार्टी बचाउन हामीलाई ठूलो सकस नै भयो ।

२०४६ सालमा मालेको चौथो महाधिवेशन भयो । त्यो महाधिवेशन पनि सिरहामै गरियो र त्यसको आयोजक र व्यवस्थापक पनि म थिएँ, जसले मदन भण्डारीलाई महासचिव चुन्यो । सीपीको ङ्यारङ्यार ङुरङुर केही चलेन ।

मदन भण्डारीको त्यसपछिको यात्रा त तपाईंहरूलाई थाहै छ ।

तर, ‘इन्साइड स्टोरी’ तपाईंहरूलाई सुनाउँछु । मदन भण्डारी जस्तो लोकप्रिय महासचिवलाई हटाउनुपर्छ भन्नेहरू अहिले पनि नेता पंक्तिमा छन् ।

पछि एमाले माले र एमालेमा विभाजित भयो, २०५४ सालमा । तर, केही समयपछि नै विभाजनको औचित्य छैन भन्ने पुष्टि भयो ।

एक सिट पनि जित्न नसक्ने भइयो । त्यसपछि संगठन विस्तारको चुनौती आइलाग्यो (जर्ज बर्नार्ड शाको सुन्दरी र विद्वान्को कथा सुनाउँदै) । माओवादीसँगको एकतासम्ममा आइपुग्दा अनुहार र बुद्धि नमिलेकाको बीचको मिलन जस्तो भयो ।

हामीले पार्टी जीवनको लोकतान्त्रीकरणको अभ्यासका नाममा त्यसपछि पार्टीभित्र प्यानलहरू खडा गर्‍यौँ । त्यो माथिदेखि तलसम्म पुग्यो ।

संयोग कस्तो भयो भने, पछिल्लो पटक त्यो गुटबन्दीको प्रवृत्ति माधव नेपालमा देखापर्‍यो । नेपालसँग म नै ४५ वर्ष एउटै संगठनमा बसेर काम गरेको मान्छे । उहाँ कहिल्यै प्रतिस्पर्धा गरेर नेता बन्नुभएन । एक पटक नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभयो, त्यहाँ पनि पराजित हुनुभयो ।

पार्टी पुटेपछि अब खत्तम भयो भन्नुहुन्छ साथीहरू । म एउटा दृश्य सम्झन्छु । त्यसबेला पार्टी विभाजन भएपछि म संगठन विस्तारको काममा काठमाडौंमा खटिएँ । त्यसबेला बिहानदेखि बेलुकासम्म भेला गर्दै हिँडिन्थ्यो ।

एउटा भेलामा म बोलिरहेको थिएँ । एक जना पाका मान्छे झोक्राउँदै बसेका थिए । बूढामान्छेले त ख्वाक्क गरेर मेरो मुखमा थुकिदिए ।

म अहिले पनि सम्झन्छु, मेरो मुखभरीको थुक पुछेको छु । ती बूढामान्छेले पार्टी फुटेकामा पीडा पोखेका हुन् ।

हामी त्यस्तो स्थिति सामना गरेर आएका छौँ । अहिले पार्टीमा निर्लज्ज अभ्यास भएको छ । माधव नेपालबाट निर्वाचित अध्यक्ष र प्रधानमन्त्री हटाउने, मुद्दा हाल्नेजस्ता घृणित र लज्जास्पद अभ्यास भए । तर, जनताले धेरै कुरा बुझेका छन् । त्यही भएर विभाजनको पक्षमा धेरै साथी जानुभएन ।

चिया खान बोलाएर गफ दियो भन्ने चैँ नठान्नुहोला ।

न्यूजकारखाना


Loading comments...