प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा वृक्षरोपण


काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ ।

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा हिमाल अस्पताल कमलपोखरी र वातावरण मैत्री समाज मैतीदेवीको सहकार्यमा वृक्षरोपण कार्यक्रम शुभारम्भ गरी विभिन्न जातका विरुवाहरूको वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण पश्चात प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बगैँचा संरक्षण तथा संवर्द्धनमा नेपाल प्रहरीको सदैव सहकार्य हुने बताउनुभयो । समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्‍वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्र, उक्त सेवा केन्द्रका पदाधिकारीहरू लगायत हिमाल अस्पताल, सानिमा बैंक र नेपाल यूथ फिटनेसका प्रतिनिधिहरूले समेत वृक्षरोपण गर्नुभएको थियो ।

उक्त अवसरमा ज्याकारान्डा, रुद्राक्ष, अम्बा, पैँयु लगायत विभिन्न जातका विरुवाहरू रोपिएको छ ।


Loading comments...