Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

कुरा ठूलो काम थोरै

१६ भाद्र २०७८, बुधबार २२:१४

साँचो कुरा भन्ने हो भने दक्षिण एसियाका नागरिकहरूलाई सरल किसिमले बाँच्न नै आउँदैन। अझै खरो किसिमले भन्ने हो भने बाँच्ने तरिकाहरू नै गलत छन्। कतिपय दक्षिण एसियाली मुलुकका नागरिकहरू आधुनिकता (सरलता) लत्याएर अहिले पनि शिकारी जीवन वा जङ्गली (कष्टकर) जीवन बाँचिरहेका छन्। र त्यसरी बाँचेकोमा औधी खुशी छन्।

जुन क्षेत्रका नागरिकले पोलियो थोपा ख्वाउन जाने स्वास्थकर्मीहरूको हत्या गर्छन्, जुन क्षेत्रका नागरिकहरूले स्कूल जाने बालिकाहरूको ज्यान लिन्छन् त्यस क्षेत्रका नागरिकहरूले जङ्गली जीवन नत्यागेको कसरी मान्ने?

लेखकः विश्वराज अधिकारी

धर्मको नाममा नागरिकहरूको बाँच्ने अधिकार समाप्त पार्नेलाई यो आधुनिक युगको नागरिक कसरी मान्न सकिन्छ? यी प्रसङ्गहरूको उदाहरण खोज्न धेरै पर जानुपर्दैन। पाकिस्तान, अफगानिस्तानका विभिन्न ग्रामीण इलाकाहरूमा भएका घटनाको विश्लेषण गरे पुग्छ। निर्वासनमा रहन बाध्य पारिएकी पाकिस्तानी नागरिक मलाला युसुफजईलाई तालिबानीहरूले सन् २०१२ मा उनको ज्यान लिने गरी उनीमाथि निर्ममतापूर्वक गोली बर्साएका थिए। मलालाको कसुर थियो–पाकिस्तानको स्वात्त उपत्यकाका बालिकाहरूलाई स्कूल जान प्रेरित गर्नु। स्थानीय जनतामा शिक्षाको प्रसार गर्नु। मलालालाई गोली लाग्दा उनको उमेर केवल १५ वर्ष थियो।

अहिलेको युगमा शिक्षालाई जीवनको अत्यावश्यक वस्तु मानिन्छ। किनभने शिक्षाले नै मानिसलाई बाँच्ने ज्ञान दिन्छ। र यो ज्ञानको युगमा बिनाज्ञान बाँच्न कष्टकर हुन्छ। शिक्षालाई गलत देख्नेहरूको चेतनाको स्तर कुन बिन्दुमा रहेको छ भनी मान्ने?

हामी दक्षिण एसियालीहरूको अर्को ठूलो विशेषता के छ भने हामी स्वयंले नै सरल जीवनलाई कष्टकर बनाउँछौं। बाँच्नका लागि सरल कुराहरूको खोजी गर्ने होइन, उल्टो बाँच्नका लागि गार्‍हो हुने कुरा खोजीखोजी लागू गर्छौ। अनि जीवन कष्टकर भयो भन्दै त्यसबाट छुटकारा पाउने कोशिश गर्छौ, कराउँछौं। उदाहरणका लागि बिहे गर्न एकजना स्त्रीलाई एकजना पुरुषको जति आवश्कयता पर्दछ, त्यति नै आवश्यकता पुरुषलाई पनि स्त्रीको पर्दछ। प्रकृतिले दुवैलाई समान किसिमले एक अर्काका लागि आवश्यक हुनेगरी सृजना गरेको छ। तर स्त्रीका लागि पति खरिद गर्नुपर्ने सामाजिक व्यवस्था हाम्रो यो समाज आफैंले बनाएको छ। एउटी स्त्रीको विवाह गर्नका लागि उनको परिवारले लाखौं रुपियाँ दहेज वा तिलकको रूपमा हुनेवाला पतिको परिवारलाई अनिवार्य दिनुपर्छ। दहेज नदिने हो भने युवतीहरूको विवाह नहुने स्थिति उत्पन्न हुन्छ। अहिलेको यो आधुनिक युगमा पनि के पति खरिद गर्नुपर्ने मूल्यवान वस्तु हो र युवती काम नलाग्ने चीज?

पतिको घरमा राम्रो दहेज नल्याएको कारण भारत, पाकिस्तान, ब·लादेशमा बर्सेनि हजारौं युवतीको मृत्यु हुन्छ। यस्ता केही घटना नेपालमा पनि सुनिएको छ। पतिका परिवारले हजारौं नवविवाहिता युवतीलाई प्रत्येक वर्ष जलाउँछन्, जलाउने कारण हुन्छ, दहेजमा कुरा नमिल्नु। पतिको घर पुगेका युवतीहरूलाई आत्महत्या गर्न बाध्य पार्छन्, त्यहाँ पनि कारण हुन्छ वधूको माइतिबाट भेनजति दहेज नपाउनु।

सन् २०१० मा दाइजो नल्याइएको कारण भारतमा ८ हजार ३२१ महिलाको हत्या भएको थियो। सन् २०११ मा यो सङ्ख्या बढेर ८ हजार ३३१ पुगेको थियो। सन् २०१२ मा भने १८ हजार २३३ पुगेको थियो। भारतमा हरेक ९० मिनेटमा एक महिलाको हत्या भनिए अनुसारको दाइजो नल्याएको कारण हुने गर्दछ। भारतमा दहेजको कारण महिलाहरूको हत्या हुने घटना दक्षिण एसिया मात्र होइन, विश्वमा नै उच्च छ। स्मरण रहोस्, दहेज प्रथाले भारतलाई सर्वाधिक सताएको छ। भारतीय समाजमा दहेज एउटा त्यस्तो गम्भीर बिमारी हुन पुगेको छ, जसले समाजलाई निरन्तर कमजोर बनाइरहेको छ। तर अचम्म! नागरिकहरू यस किसिमको नियम बनाउने सामाजिक व्यवस्थाप्रति गर्व गर्छन् र हाम्रो संस्कृति भन्दै त्यसको पालनामा जोड दिन्छन्।

पूर्वीय समाज र खासगरी दक्षिण एसियाली समाज विभिन्न जातजाति र समुदायमा बाँडिएको छ। तल्लो र माथिल्लो जाति छ, यो समाजमा। तथाकथित तल्लो जातिलाई तथाकथित मथिल्लो जातिले आफू सरह मान्दैन र उसले छोएको खाँदैन। एउटा तल्लो जातिले पनि अर्को तल्लो जातिले छोएको खाँदैन। माथिल्लो जातिले तल्लो जातिको आर्थिक, बौद्धिक, सामाजिक र धार्मिक शोषण गर्दछ। कस्तो अचम्म! समाजलाई विभिन्न जातजातिमा विभक्त पारेर, जीवनलाई कष्टकर तुल्याउने जातीय–विभाजन प्रथाप्रति हामी गर्व गर्छौ। गर्व गर्ने मात्र होइन, फलानो जातीय समाज, चिलानो जातीय समाजको स्थापना गरेर सामाजिक विकासमा संलग्न छौं भनी अति हर्षितसमेत हुन्छौं। जातीय आधारमा अनेक कार्यक्रमहरूको आयोजना गर्छौं। तर यो सोच्दैनौं कि पश्चिमी समाजले जाति-विहीन समाजको निर्माण गरेर जीवनलाई सरल तुल्यायो, उच्च आर्थिक प्रगति हासिल गर्‍यो। आर्थिक र सामाजिक विकास गर्ने के हामी पूर्वीयहरूले पनि जाति-विहीन समाज निर्माण गर्न सक्तैनौं? हामी कति निर्दयी छौ, हेरौं त! डुम जातीहरूलाई भोज भतेरमा आफूले खाएर छाडेको जूठो खान बाध्य पार्छौ।

सन्दर्भ जोडौं पश्चिमी समाजमा प्रचलित नियमहरूको। पश्चिमी समाजसँगै बसिरहेको क्रममा एकपटक मैले आफ्ना एकजना मित्र डेभिडलाई सडकमा देखें। उनीहरू बाबु र छोरा अलगअलग मोटर गुड्ने सडकमा साइकल चलाइरहेका थिए। छोराको उमेर केवल पाँच–सात वर्षको थियो। मैले डेभिडलाई प्रश्न गरें–बाबु र छोरा एउटै साइकलमा चढेको भए हुन्थ्यो नि? सानो बालकलाई त्यसरी सडकमा साइकल चलाउन दिंदा दुर्घटना हुन सक्छ। डेभिडले भने– मैले छोरालाई आफूसँग साइकलमा राख्दा साइकल चलाउँदा सावधान रहनुपर्दछ र सडकमा साइकल चलाउनु जोखिमपूर्ण हुन्छ भन्ने कुरा उसले सिक्न पाउँदैन। ऊ परावलम्बी भएर जान्छ। तर उसले यो जीवन स्वावलम्बी भएर बाँच्नुछ। जीवन जोखिम र सङ्घर्षपूर्ण छ भन्ने कुरा उसले बालककालदेखि नै सिक्नु पर्छ। उसमा यस किसिमको बानीको विकास भएमा मात्र ठूलो भएर उसले स्वतन्त्र किसिमले निर्णय लिन सक्छ।

अब पूर्वीय समाजलाई हेरौं, पूर्वीय समाजमा हामी बालबलिकाहरूलाई सानैदेखि स्वतन्त्र किसिमले बाँच्न सिकाउँदैनौं। हरेक कुरामा नियन्त्रण गर्छौ। यहाँसम्म कि ऊ वयस्क भएर बिहे गर्ने उमेरमा पुगे पछि पनि बाबुआमा आफैं उसका लागि वर वा वधू खोज्न थाल्छौ। आफूले भने अनुसारको वर वा वधू स्वीकार गर्न आफ्ना सन्तानलाई बाध्य पार्छौं। वयस्क सन्तानलाई समेत उनीहरूको इच्छा अनुसार वर वा वधू रोज्न दिंदैनौ। यति मात्र होइन, बाबु आमाले आर्जन गरेको धन–सम्पत्ति र सामाजिक हैसियतमा बालबालिकहरूलाई गर्व गर्न सिकाउँछौं। स्वतन्त्र किसिमले धन–सम्पत्ति र सामाजिक प्रतिष्ठा आर्जन गर्न बालबालिकाहरूलाई सानैदेखि उत्प्रेरित गर्दैनौं। बरु यस्तो गर्ने पश्चिमी समाजको खिसी, उपहास र आलोचना गर्छौं। तर अर्को अचम्म! हामी पूर्वीयहरू पूर्वमा जीवन दुष्कर भयो भन्दै सरल जीवनयापनका लागि विभिन्न पश्चिमी मुलुक पुग्छौं। पश्चिमी मुलुकहरूमा ठूलो सङ्ख्यामा दक्षिण एसियालीहरूको बसोवास छ। यस्तो किन भयो होला? उत्तर सजिलो छ। हामी पूर्वीयहरू कुरा भने ठूल्ठूला गर्छौ, तर हाम्रो काम त्यस अनुरूप हुँदैन, सानो हुन्छ। हामी कुरा ठूलो, काम सानो गर्छौं वा काम थोरै गर्छौं।

हामी पूर्वीयहरू जीवनलाई सरल बनाउनेतिर पटक्कै ध्यान दिंदैनौं। जीवन यापन गर्न कठिन पार्ने सामाजिक नियम पालना गर्दै त्यसलाई निरन्तरता दिन्छौं।

हामी पूर्वीयहरूको सामाजिक, सांस्कृतिक र धार्मिक प्रचलनहरूमा अनेक र धेरै समस्या छन्। यी समस्याहरूले गर्दा नै पूर्वीय र खासगरी दक्षिण एसियाका राष्ट्रहरूले आर्थिक प्रगति गर्न सकिरहेका छैनन्। केहीले प्रगति गरे तापनि त्यो प्रगति गरिबहरूसम्म पुग्न सकिरहेको छैन, उदाहरण हो भारत।

दक्षिण एसियाली राष्ट्रहरूको सामाजिक व्यवस्था अनेकौं समस्याले ग्रस्त भएको हुनाले नै यहाँको राजनैतिक व्यवस्था पनि बिरामी परेको हो। अनि अचम्म! बिरामी राजनैतिक व्यवस्थाबाट स्वस्थ नेताहरू जन्मिने अपेक्षा राख्छौं। बिरामी राजनैतिक व्यवस्थाबाट बिरामी नेताहरूको नै जन्म हुन्छ। स्वस्थ नेता जन्मन सक्तैन। अनि बिरामी नेताहरूले शक्तिको दुरुपयोग गरेमा, भ्रष्ट्राचार गरेमा, स्वार्थी भएमा किन अचम्म मान्नु, किन रुनु–कराउनु? माटोजस्तो हुन्छ बाली पनि त्यस्तै लाग्छ। होइन र?

हामी दक्षिण एसियालीहरूसँग ज्ञान नभएको होइन। प्रशस्त ज्ञान छ, तर त्यसलाई व्यवहारमा लागू गर्दैनौं। श्रीमद् भागवत् गीतालाई केवल धार्मिक पुस्तक मानेर पूजा मात्र गर्‍यौं, त्यसमा भएका ज्ञानहरूलाई व्यवहारमा लागू गरेनौं। गङ्गा नदीलाई ‘माता’ भन्दै पूजा गर्‍यौं तर गङ्गा माताले बिजुली दिन सक्ने कुरा कहिले सोचेनौं। पश्चिमकाहरूले नदीको पानीबाट बिजुली निकालेपछि मात्र पानीबाट बिजुली निस्कन्छ भन्ने हामीलाई थाहा भयो । यस्तो किन?

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।