जाडोमा ज्वानोको फाइदा


जाडोमा चिसोले बिभिन्न प्रकारले सताउँदछ । बिशेषत चिसो पस्नाले पेट दुख्ने, डकार आउने, वान्ता लगायत अन्य बिभिन्न समस्याहरु हुन्छ । कसैकसैलाई चिसोको बखत धेरै गरिष्ट भोजनका कारणले छाती पोले झैं हुने, वाकवाकी लाग्ने र पेट फुल्ने जस्ता समस्या पनि देखिन्छ ।

यस्ता समस्याहरु जाडोले मात्र नहुने र अन्य मौसममा पनि हुने गर्दछ । हरेक उपचार ओखती या अस्पतालमा मात्र हुन्न, हाम्रो भान्सामा पाउने सरल अनि सुलभ कुराहरुले पनि अचुक ओखतीको काम गर्दछन् । आज हामी हाम्रो नेपाली भान्साको शदियौं देखिको सहयात्रि ज्वानोको बिषयमा कुरा गर्दैछौं ।

आजभोली पेटको समस्या लगभग हरेक घरका सदस्यहरुमा पेट अनि पाचनको समस्या देखिने गर्दछ । हाम्रो खानामा जंक फुडको बढ्दो प्रयोग, पोषणयुक्त खानाको कमी र तनावपूर्ण जिन्दगीले गर्दा पनि हामी यस्तो समस्याहरुको शिकार बनेका छौँ वा बन्दै गइरहेका छौँ । यस्ता समस्याको दिर्घकालिन समस्याबाट पार पाउनका लागि हाम्रो भान्सामै पाइने जडिबुटि ज्वानोको दैनिक सेवनले फाइदा पुग्छ भनेर आफू पनि जानौँ र आफ्नालाई पनि भनौँ ।

ज्वानो पोलेको धुवाँले मात्र पनि हाम्रो सासप्रश्वासलाई सहज बनाइदिने र ज्वानोको दैनिक सेवनले रोगसँग लड्ने क्षमता पनि बढाउँछ । यति मात्र होइन । तौल घटाउन खोज्नेहरुको लागि पनि यो फाइदाजनक छ । ज्यादा तौल बढ्न नदिनका लागि हामीले खाएका खानेकुराहरु राम्रोसँग पच्न र हाम्रो पाचन प्रक्रिया राम्रो हुन अति जरुरी छ । पाचनमा सहयोग गर्ने हुनाले ज्वानोले तौल बढ्न नदिन सहयोगी भूमिका खेल्दछ । यसको प्रयोगकै लागि भनेर छुट्टै समय छुटाउन पर्दैन । दुई चम्चा भुटेको ज्वानो एक कप पानीमा एक रात ढडाएर राख्ने, बिहान यसलाई उमालेर, ज्वानो छानेर, सेलाएर वा नउमालीकन छानेर मात्र पनि खाली पेटमा पिउन सकिन्छ ।

सानामा चिसोमा आमाले ज्वानो हालेको जाउलो या ज्वानोको झोल बनाएर दिनुहुदा हामीमध्य धेरैले नाक खुम्च्याएर थाल छेउ लगाएको पनि छौं होला । आधूनिक परिवारको भान्सा त झनै ज्वानो बिना नै तयार हुन्छ । सामान्यतया नेपाली भान्सामा तरकारी पकाउनुपूर्व तेलमा झ्वाँई पार्ने कुराहरुमा मेथी, ज्वानो आदि धेरै कुराहरु पर्दछ ।

पेटको समस्याबाट पार पाउनका लागि यो त हाम्रो खानामा दैनिक प्रयोगमा ल्याउनै पर्ने देखिन्छ । ज्वानोको प्रयोगले शरीरभित्रको फोहोर निकाल्न, किटाणुविरुद्ध लड्न, घाउहरुबाट जोगाउन, भाइरसँग लड्न, दुखाई कम गर्न, पेटभित्रको हावाबाट मुक्ति दिनजस्ता अनेक फाइदाहरु प्रदान गर्न सक्छ । सानो देखिएपनि ज्वानोका गेडाहरुको फाइदा भनें धेरै नै छ, तराईमा भनें यसलाई अजमाईन भनिन्छ । बहुउपयोगी ज्वानोको शक्तिलाई कम भने नआकौँ ।

वैद्यहरुका अनुसार पातलो कपडामा ज्वानो धुलो राखेर बेलाबेलामा सुँघ्ने गर्दा बन्द भएको नाक, दमका बिरामी, ब्रोन्काइटिस तथा माइग्रेनका कारण टाउको दुख्नेहरुलाई पनि यसले आराम दिन्छ । यसमा रासायनिक थाइमोल ज्यादा हुने भएकाले यसले खाना पचाउन चाहिने जुस प्रशस्त मात्रामा उत्पादन गर्दछ र खानेकुरा सोस्न मद्दत गर्छ । खानेकुरा पेटमा गएपछि हामीले खाएको खानेकुरा पेटमा पिसिन्छ, यसमा भएको रसायनले पिस्नकालागि पेटलाई सजिलो बनाइदिने काम पनि ज्वानोले गर्छ र कबजियत हुन दिनबाट रोक्छ । ज्वानो सुत्केरी हुंदाको अवस्थामा अनिवार्य झोल बनाएर खुवाईन्छ ।

साना बच्चाहरुलाई कबजियत हुँदा, खाना नपच्दा, चिसो वा खोकी लाग्दा पनि ज्वानो खुवाउने गरिन्छ । यसले पेटलाई बलियो राख्न सहयोग गर्छ, पेटमा हुने कुनै पनि असहजता जस्तैः अपच, पेट दुखाई, पेट पोल्ने, हावा भर्ने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याबाट राहत प्रदान गर्छ । ग्यास्ट्रिकले छातीसम्म पोलेको जस्तो अनुभूति हुँदा एक चम्चा जिरा, एक चम्चा ज्वानो, आधा चम्चा अदुवाको धुलोलाई पानीमा मिलाएर दुखाई कम नभएसम्म खाँदा निको हुन्छ ।

बच्चालाई मात्र होइन चिसो लाग्दा ज्वानोले ठूलाहरुका लागि पनि औषधिको काम गर्छ । १५ देखि २० दिनसम्म हरेक दिन भुटेको ज्वानो दुई ग्राम खाए चिसोबाट बच्न सकिन्छ । अथवा, ज्वानोको चिया बनाएर पनि खान सकिन्छ । पानीमा चियापत्ति वा ग्रीन टी, ज्वानो, अदुवा र अलैँची राखेर उमाल्ने । यसमा दूध हालेर कम्तिमा तीन मिनेटसम्म उमालेर यसरी चिया पिउँदा पनि चिसो लागेको हराउँछ ।

यस्तो बहुउपयोगी ज्वानोलाई आजैबाट भान्सामा आत्मसाथ गरौं । ज्वानोको नियमित प्रयोग गरेमा पेटका धेरै समस्याहरु निको हुने र दिर्घरोगबाट बचौं ।


Loading comments...