दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको सहज जित


एजेन्सि काठमाण्डौ । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालको छ । शुक्रबार बिहान भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले १० खेलाडीमा सिमित भेनेजुयलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिनाले घरेलु टोली भेनेजुयलाविरुद्ध पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप दुई गोल गरेको थियो । दोस्रो हाफमा दुबै परिवर्तित खेलाडीले गोल गरेका हुन् ।

पहिलो हाफको थपिएको दुई मिनेटमा गोल गर्दै लौटारो मार्टिनेजले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले जिओभानी लि सेल्सोको पास सदुपयोग गरे ।

दोस्रो गोल ७१ मिनेटमा सम्भव भयो । ६२ मिनेटमा मैदान प्रवेश गरेका जोआक्विन कोरियाले गोल गरे । उनले लौटारो मार्टिनेजको पास सदुपयोग गरे ।

तेस्रो गोल ६३ मिनेटमा मैदान प्रवेश गरेका एन्जल कोरियाले गरे । उनले ७४ मिनेटमा गोल गरेका हुन् । ९० मिनेटपछि थपिएको चार मिनेटमा पेनाल्टी गोलगर्दै यफर्सन सोटेल्दोले अंक दूरी ३-१ मा झारेपनि टोलीको हार भने टार्न सकेनन् ।

यसअघि भेनेजुयलाका एड्रियन मार्टिनेजले खेलको ३२ मिनेटमा सीधैँ रातो कार्ड ब्यहोर्दै मैदान बाहिरिएका थिए ।

कोपा अमेरिकी कप जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो । मैदानमा पूरा समय रहेका लियोनल मेस्सी र ८० मिनेटमा मैदान प्रवेश गरेका युवा स्ट्रार पाउलो ड्यवालले भने कुनै गोल गर्न सकेनन् ।

जितसँगै अर्जेन्टिनाले सात खेलबाट १५ अंक बनाएको छ । अर्जेन्टिना ब्राजिलपछि दोस्रो स्थानमा छ ।


Loading comments...