नेपाल-भारत दोस्रो मैत्रीपूर्ण : नेपाललाई घरेलु मैदानमा जित्ने अवसर


रमेश सुवेदी, काठमाडौं । ‘हामीलाई नेपालको काउण्टर खेलसँगै मैदानलेसमेत दवाव दियो । नियमित पानीका कारण हामीले राम्रो खेल्न सकेनौं’ बिहीबार दशरथ रंगशालामा नेपालसँग बराबरीमा रोकिएपछि भारतीय टोलीका प्रशिक्षक इगोर स्टिम्याकले भनेका थिए ।

पहिलो खेलमा नेपालसँग १–१ गोल अन्तरमा रोकिएको भारत दोस्रो मैत्रीपूर्ण खेलमा सोही मैदानमा आइतबार खेल्दै छ । खेल साँझ ५:३० मा हुनेछ ।

शुक्रबार पनि वर्षा भएपछि सो मैदानमा दुबै टोलीलाई अभ्यास गर्न दिइएको छैन । आयोजक जतिसक्दो मैदानलाई चुस्त राख्न लागिपरेको छ ।

यस्तै अवस्थामा दुवै टोली अन्तिम मैत्रिपूर्ण खेल जित्न चाहन्छन् । पहिलो खेल बराबरी भएकाले दुबै टोलीलाई अग्रता लिने अवसर छ । अझ घरेलु दर्शकमाझ नेपाललाई त्यो अवसर बढी छ ।

५ हजार १ सय दर्शक माझ नेपालले पहिलो खेलमा भारतलाई ठूलै चुनौती दिएको थियो । पहिलो हाफमा कुनै पनि समय भारतले नेपाललाई दवावमा राख्न सकेन । उल्टै नेपालले भारतलाई बारम्बर बल ‘पोसेसन’ राख्दै काउण्टर तनाब दिरहेको थियो ।

दोस्रो हाफमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले भनेझै भारतले जम्मा १० मिनेटमा नेपाललाई हरायो । बाँकी समय नेपालले भारतलाई दवावमा राखेको थियो ।

अनिरुद्ध थापाले ६० मिनेटमा गोल गर्दा मात्रै नेपाल भारतसँग पूर्ण रूपमा दवावमा रह्यो । पहिलो हाफको ३६ मिनेटमा नेपालका अन्जन बिष्टले सुरुवाती गोल गरेपछि नेपाल पूर्ण रूपमा हाबी रहेको थियो ।

भारतीय प्रशिक्षक इगोरले आइतबार नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् । उनले पहिलो दिनको पहिलो हाफमा आफ्नो खेलाडी चल्न नसकेपछि ४६ मिनेटमै ३ खेलाडी परिवर्तन गरेका थिए ।

नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यू गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका छन् ।

नेपाल र भारतले अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रिपूर्ण खेल खेलेका हुन् ।

नेपाली टोली भारतसँगको मैत्रिपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ । न्युजकारखाना


Loading comments...