स्वचालित पेस्तोलसहित दाङबाट एक जना पक्राउ


दाङ । दाङ प्रहरीले गोली लोड गरेको अवस्थामा स्वचालित पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । रोल्पा रुन्टिगढी गाउँपालिका–९ सखी घर भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्दै आएका २५ वर्षीय इन्द्रकमल बुढामगरलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध हातहतियार बोकी सर्वसाधारणलाई त्रसित पार्ने काम गर्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । घरमा खानतलासी गर्दा रा ५ प ८७६२ नम्बरको स्कुटरमुनि रातो प्लाष्टिकभित्र लुकाइछिपाई राखेको अवस्थामा एक राउण्ड गोली र पेस्तोलसहित बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।

‘अवैध हातहतियार बोकी सर्वसाधारणलाई त्रसित बनाउने गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो,’ प्रहरी प्रमुख काफ्लेले भने, ‘सोही सूचनाका आधारमा अभियुक्तलाई शुक्रबार पेस्तोलसहित पक्राउ गर्न सफल भएका हौं।’ बुढामगरलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रमुख काफ्लेकाअनुसार पक्राउ परेका बुढामगर विगतमा पनि ज्यान मार्ने उद्योगमा साढे दुई वर्ष कैद सजाय भोगेका व्यक्ति हुन् । २५ वैशाख २०७० मा साने घर्तीलाई ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा दुई वर्ष ६ महिना कैद सजाय भुक्तान गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।


Loading comments...