नेपालगञ्जमा यसवर्ष पनि रामलिला मञ्चन नहुने


नेपालगञ्ज । कोरोना संक्रमणका कारण १५२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलिला यो वर्ष पनि नेपालगञ्जमा मञ्चन नहुने भएको हो । गतवर्ष झै यसपाली पनि रामलिला सञ्चालन नहुने आयोजनकले जनाएको छ ।

१५२औं श्रृंखलासम्म अनवरत रूपमा प्रत्येक वर्ष विजयादशमीको अवसरमा नेपालगञ्ज–१३ स्थित रामलिला मैदानमा रामायणमा आधारित रामलिला मञ्चन गरिँदै आइएको पनि कोरोना संक्रमण फैलन सक्ने त्रासले गत वर्षदेखि भौतिक रूपमा रामलिला मञ्चन हुनसकेको छैन ।

भारतको वनारसबाट आएका कलाकारले विजया दशमीको घस्टस्थापनादेखि रामायणमा आधारित रहेर रामलिला मञ्चन गर्ने प्रचलन थियो ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलिलामा प्रतिकात्मक रूपमा भने केही कार्यक्रम गर्ने तयारी आयोजकले गरेको छ । शनिबार बसेको रामलिला सञ्चालक समितिको बैठकले कस्तो स्वरुपमा मनाउने भन्ने विषयमा छलफल गर्न उपसमिति बनाएको छ ।

रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाको अध्यक्षतामा बसेको बैठकले नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिमार्फत आएको सुझावका आधारमा कार्यक्रम तय गरिने आयोजकले जनाएको छ ।


Loading comments...