अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए


एजेन्सी, काबुल । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए । महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिवान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए । महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिवानले आरोप लगाएको छ ।

प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए । महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए । उनीहरुले काम गर्न पाउने अधिकार र तालिवान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए ।

तालिवानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन् । तालिवानले महिलालाई सरकारका बिभिन्न अंगमा सहभागीताको अवसर दिने बताए पनि महिलामन्त्री नबनाउने बताउदै आएका छन् ।

यसअघि सन् १९६६ मा तालिवान सत्तामा हँुदा महिलाहरुलाई विभिन्न अधिकारबाट बञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारबादीहरुको छ । त्यतिबेला महिलालाई सम्पूर्ण शरिर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे । त्यस्तै, तालिवानले १२ वर्ष माथिका बालिकालाई बिद्यालय जान प्रतिबन्ध लगाएका थिए ।

‘२५ वर्षअघि तालिवानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ बर्ष मिहिनेत गरेर अध्ययन गरे । महिलाले त्यस्तो दिन फेरी भोग्नु नपरोस । ’


Loading comments...