दोस्रो मैत्रीपूर्ण खेल: नेपाल भारतसँग पराजित


रमेश सुवेदी/काठमाण्डौ । दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे ।

चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे ।

यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् ।

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।

खेल हेर्न गृहमन्त्री बालकृष्ण खाण र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मैदानमा उपस्थित थिए ।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

नेपाली टिम यस्तो थियो :

गोलरक्षक : किरण चेम्जोङ
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, पुजन राजवंशी
मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनीष डाँगी, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ


Loading comments...