कुश बिना अधूरो पितृ पूजा – कसरी उखेल्ने कुश? कुशको धार्मिक, आध्यात्मिक तथा वैज्ञानिक पक्ष के हो?


पण्डित पुरुषोत्तम अधिकारी । हिन्दू धर्ममा औंसीको दिन महत्वपूर्ण छ । भाद्रपद महिनामा पर्ने औंसीलाई कुशग्रहणी, पिठोरी औंसी, कुशे औंसी, बुवाको मुख हेर्ने दिन भन्ने गरिन्छ । भाद्र २२, सेप्टेम्बर महिनाको ७ तारिख कुशेऔंसी हो । यस दिन पिता भएकाहरुले बिहान सबेरै नित्यकर्म पछि पिता (बुवा)लाई मनपर्ने खानेकुरा, कपडा उपहार दिएर बुवाको आशिर्वाद ग्रहण गरी बुवाको मुख हेर्ने विधि सम्पन्न गरिन्छ भने बैकुण्ठ वासमा रहनुहुने पिताको सम्झनामा यस दिन पूजा गर्नाले पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ । शास्त्रानुसार, औंसीको दिन पितृलाई तपर्ण गर्ने गरिन्छ तथा पितृको सम्झनामा यस दिन गरिने दान पुण्यको विशेष महत्व छ । यस औंसीको दिन चमत्कारिक वनस्पती कुशसहितको पूजाको महत्व विशेष छ ।

हुन त कुशको प्रयोग हरेक पूजा अनुष्ठानमा हुनेगर्दछ । कुश बिनाको हरेक पूजालाई अधूरो मानिने मान्यता पनि छ । कुशग्रहणी अर्थात कुशे औंसीको दिन वर्षभर हुने पर्व, पूजा, अनुष्ठान, श्राद्ध तथा पूजाका लागि आवश्यक यस चमत्कारिक वनस्पती कुशलाई उखेलेर (कुशोत्पाटन) घर ल्याउने गरिन्छ । आजको दिन उखेलेर ल्याइएको कुश वर्षभरीका लागि पवित्र मान्ने गरिन्छ । वैदिक सनातन हिन्दू धर्ममा यसलाई अत्यन्तै विशिष्ठ तथा पवित्र मानिएको छ, यसकारण यसलाई ‘पवित्री’ पनि भन्ने गरिन्छ ।

पण्डित पुरुषोत्तम अधिकारी

वैदिक विधी अनुसार कुश कसरी उखाल्ने (कुशोत्पाटन कसरी गर्ने)?
कुशलाई उखाल्ने प्रकृयालाई कुशोत्पाटन भन्ने गरिन्छ । यसका लागि बिहान नित्यकर्म तथा स्नान गरिसकेपछि सेतो धोती धारण गरेर कुशोत्पाटनका लागि प्रस्थान गर्नुहोस् ।

कुशोत्पाटन गर्ने बेला (कुश उखाल्ने बखत) पूर्व या उत्तर दिशातर्फ फर्किनुहोस् र “ॐ” उच्चारण गरेर कुशको स्पर्श गर्नुहोस् र तल उल्लेखित मन्त्रको उच्चारण गरेर प्रार्थना गर्नुहोस्ः

“विरन्चिना सहोत्पन्न परमेष्ठिनिसर्जन ।
नुद सर्वाणि
पापानि दर्भ स्वस्तिकरो भव ॥

यो मन्त्रोचारण पछि ‘हुँ फट्’ भन्दै कुशलाई उखेल्नुहोस् ।

कस्तो कुश उखाल्ने?
कुश उखाल्नु पूर्व यो ध्यान रहोस कि जुन कुश तपाईं उखाल्दै हुनुहुन्छ त्यो उपयोग गर्न योग्य होस् । यस्तो कुश जुन फोहर भएको स्थानमा छ, जुन जलेको छ, जुन कुनै बाटोमा छ या जसको अग्रभाग चुँडिएको या काटिएको छ, यस प्रकारका कुश ग्रहण गर्न योग्य हुँदैनन ।

किन हुन्छ वैदिक सनातन हिन्दू संस्कारमा कुशको प्रयोग?
वेद तथा पुराणमा कुश घाँसलाई पवित्र मानिएको छ । यतिमात्र होइन अथर्ववेद, मत्सय पुराण तथा महाभारतमा समेत यसको महत्व बारे चर्चा भएको छ । कुश धारण गरि पूजा-पाठ, अनुष्ठान, ध्यान इत्यादि गर्दा शरीरमा अतिरिक्त उर्जाको विकास हुन्छ । पूजा-पाठका दौरान अनामिका औंला (साहिली औंला)मा कुशबाट बनाइएको औंठी धारण गर्ने गरिन्छ । धार्मिक शास्त्रमा अनामिका औंलालाई सूर्यको औंला मानिएको छ । सूर्यबाट हामीलाई तेज तथा यशको प्राप्ती हुन्छ ।

चलन हराउँदै गएपनि के तपाईंलाई थाहा छ वैदिक सनातन हिन्दु धर्मका कर्मकाण्ड, पूजा-पाठ, अनुष्ठान इत्यादिमा कुशबाट बनेको आसन ओछ्याउने गरिन्छ । यसरी कुशबाट तयार पारिएको आसनलाई कुशा, दर्भ अथवा डाभ पनि भन्ने गरिन्छ ।

धार्मिक महत्व: कुशलाई किन पवित्र मानिन्छ, धर्मग्रन्थहरुमा कुशको महत्व बारे कस्तो चर्चा छ?
बराह अवतारः मत्सय पुराणका अनुसार जब भगवान विष्णुले वराह अवतार लिएर हिरण्याक्ष नामको राक्षसको वध गरी पृथ्वीलाई पुनरस्थापित गर्नुभयो, त्यसपछि उनले आफ्नो शरीरमा लागेको पानीलाई झार्न शरीरलाई झट्कार्दा वहाँको शरीरको कपाल पृथ्वीमा खस्यो । यसरी उक्त कपाल धर्तीको सम्पर्कमा पर्ने बित्तिकै कुशको रुपमा परिवर्तन भयो । यसको उत्पतीबारे धार्मिक मान्यताका कारण यसलाई पवित्र मानिदैआएको छ ।

देवी माता सीताः यसको उत्पतीबारे अर्को एउटा धार्मिक, पौराणिक मान्यता पनि छ । पौराणिक कथाका अनुसार जब देवी माता सीता पृथ्वीको गर्भमा समाहित हुनुभएको थियो त्यसबखत भगवान श्रीरामले माता सीतालाई रोक्ने प्रयास गर्नुभएको थियो । उक्त प्रयासका क्रममा माता सीताको केश भगवान श्रीरामको हातमा अल्झिएको थियो । हातमा अल्झिएको उक्त केशराशि नै कुशको रुपमा परिवर्तन भएको थियो ।

महाभारत प्रसङ्ग १ः एकपटक जब गरुडदेव स्वर्गबाट अमृत कलश लिएर आउँदै हुनुहुन्थ्यो त्यस बखत केही समयका लागि वहाँले उक्त अमृत कलश केही समयका लागि जमीनमा राख्नुभएको थियो र संयोगवश त्यो कुश घासमाथी थियो । कुशमा अमृत कलश राखिएको कारण त्यही बेला देखि यसलाई पवित्र मानिन थालिएको हो ।

महाभारत प्रसङ्ग २ः महाभारतमा जब कर्णले आफ्नो पितृलाई सम्झिएर तर्पण गर्नुभयो त्यस प्रक्रियामा वहाँले कुशको उपयोग गर्नुभएको थियो । त्यही समयबाट यो मान्यता छ कि कुश पहिरिएर जसले आफ्नो पितृको श्राद्ध गर्नेछ उसबाट पितृदेव तृप्त हुनेछन् ।

आध्यात्मिक महत्व
कुशको उपयोगबाट कैंयन किसिमका सकारात्मक ऊर्जाहरु हामीले प्राप्त गर्दछौं । यस्तो मान्यता छ की जब हामी कुशको आसनमाथी बसेर पूजा-पाठ, अनुष्ठान तथा ध्यान गर्दछौं त्यस बखत हाम्रो शरीरबाट लगातार सकारात्मक ऊर्जा निस्किरहन्छ । यस्तोमा उक्त ऊर्जा कुश भएको कारण खुट्टाको माध्यमबाट जमीनसम्म पुग्न पाउँदैन ।

त्यस्तै कुशको औंठीलाई अनामिका औंला (साईंली औंला) मा पहिरिनु पछाडी पनि यसको आध्यात्मिक महत्व छ । धार्मिक अनुष्ठानहरुमा कुशको औंठीलाई हातको तेस्रो अर्थात् साईंली औंलामा पहिरिने गरिन्छ । जसलाई अनामिका औंला पनि भन्ने गरिन्छ । धार्मिक शास्त्रमा अनामिका औंलालाई सूर्यको औंला मानिन्छ । सूर्यबाट हामीलाई तेज तथा यशको प्राप्ती हुन्छ । ज्योतिष शास्त्रमा सूर्यलाई तेज तथा यशको प्रतीक मानिएको छ, यस्तोमा यसबाट प्राप्त हुने ऊर्जा धरतीमा जान पाउँदैन ।

वैज्ञानिक महत्व: कुशले ब्याक्टिरियालाई रोक्न मद्दत गर्छ
वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ । पूजा-पाठ तथा धार्मिक अनुष्ठानहरुमा कुश घासको प्रयोगको पछाडी पनि वैज्ञानिक कारण छ । खासगरी यस कुश घासमा एक किसिमको प्राकृतिक प्यूरिफिकेशनको गुण रहेको छ । यसको उपयोग वस्तुहरुलाई शुद्ध गर्ने ओखतीको रूपमा पनि गर्ने गरिएको छ । अध्ययन अनुसार कुशमा एन्टी ओबेसिटी, एन्टी अक्सीडेन्ट तथा एनालजेसिक कन्टेन्ट रहेको हुन्छ ।


Loading comments...