कैलालीका ६५ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)


मोहन जोशी, धनगढी । कैलालीबाट तीन जना उपप्रमुख, १२ जना वडा अध्यक्ष, नौ जना कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिका उपाध्यक्षसहित ६५ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । दल रोज्न पाउने अन्तिम दिन मंगलबारसम्म कैलालीका ६५ जनाले नेकपा (एस) रोजेका हुन् ।

कैलालीका १३ वटा स्थानीय तहमध्ये आठ स्थानमा एमालेले प्रमुख पद जितेको थियो । आठमध्ये छ स्थानमा प्रमुख, उपप्रमुख एमालेले जितेको थियो । एमालेबाट निर्वाचितमध्ये कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमाकुमारी थापा र मोहन्याल गाउँपालिकाकी उपप्रमुख पूजादेवी बुढा मगरले नेकपा (एस)मा सनाखत गरेका छन् ।

कैलालीमा एमालेबाट निर्वाचित आठमध्ये सातवटा स्थानीय तहका प्रमुख एमालेमै रहेका छन् । एमालेबाट निर्वाचित मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।

कैलालीको चुरे गाउँपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा एमालेले प्रमु र उपप्रमुख पद जितेको थियो । टीकापुर नगरपालिका र भजनी नगरपालिकामा एमालेले प्रमुख पद मात्र जितेको थियो ।

एमाले फुटेपछि गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकाका उपप्रमुख नेकपा (एस)मा लागेका हुन् ।

नेकपा (एस) रोज्ने वडा अध्यक्षहरूमा गौरीगंगा नगरपालिका- २ का वडा अध्यक्ष जनक साउँद, वडा नम्बर- ५ का अध्यक्ष जंग बिक, वडा नम्बर- ७ का अध्यक्ष दलबहादुर कुमाल रहेका छन् ।

यसैगरी घोडाघोडी नगरपालिकाबाट वडा नम्बर- ४ का अध्यक्ष टेकबहादुर बुढा, वडा नम्बर- ७ का अध्यक्ष धनबहादुर बम, वडा नम्बर- १० का अध्यक्ष भीम बमले नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

लम्कीचुहा नगरपालिकाबाट वडा नम्बर- ८ का अध्यक्ष पूर्ण विष्टले मात्र दल त्याग गरेका छन् भने टीकापुर नगरपालिका- १ का अध्यक्ष गंगाराम आचार्य, गोदावरी नगरपालिका- ५ का अध्यक्ष कर्णसिंह बोहरा र वडा नम्बर- ११ का अध्यक्ष शिव बिकले नेकपा (एस) रोजेका छन् । यसैगरी मोहन्याल गाउँपालिका- ४ का अध्यक्ष टेकेन्द्र बोगटी र धनगढी उपमहानगरपालिका- १४ का अध्यक्ष राम बजारी चौधरीले पनि एमाले परित्याग गरी नेकपा (एस) रोजेका छन् । कैलालीमा एमालेबाट ३८ जना वडा अध्यक्ष विजयी भएका थिए ।

यसैगरी जिल्ला समन्वय समिति कैलालीकी उपाध्यक्ष सुन्दरीदेवी चौधरीले पनि नेकपा (एस) रोजेकी छन् । एमालेबाट निर्वाचित कैलालीका ४९ जना वडा सदस्यले नेकपा एस रोजेका छन् । न्युजकारखाना


Loading comments...