कर्णालीमा एकीकृत समाजवादी रोज्नेको संख्या २८९


दैलेख । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।

यहाँका ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधिले एमाले छाडेर समाजवादी रोजेका छन् । दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको तथ्यांकले यस्तो देखाएको हो ।

नेकपा एमाले छाडेर एकीकृत समाजवादी रोज्नेहरूको संख्या यस प्रदेशमा २८९ जना पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ११ वटा स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । १८ भदौमा २७ जनाले सनाखत गरेका थिए भने २० भदौमा ३३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

मंगलबार अपराह्नसम्म ६३ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

त्यस्तै, सुर्खेत जिल्लामा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन अधिकृत निर्मला रेग्मीले अहिलेसम्म पालिकाका प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष कसैले पनि सनाखत नगरेको बताइन् । तर, वडा अध्यक्ष र वडा सदस्यहरूले भने एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कालीकोटमा ६५ जना जनप्रतिनिधिहरूले एकीकृत समाजवादीमा सनाखत गरेको बताइएको छ भने हुम्लामा चार जना वडा सदस्य र एक जना जिल्ला समन्वय समिति सदस्य गरी पाँच जनाले एकीकृत समाजवादी रोजेको बताइएका छ ।

उता, मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारीअनुसार सो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन, जसमा एक जना उपाध्यक्ष, पाँच जना वडा अध्यक्ष, १९ जना सदस्य रहेका छन् ।

जुम्लामा मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ भने सल्यानमा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, १७ जना वडा अध्यक्ष र ५३ जना सदस्यहरूलगायत ७५ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको छन् ।


Loading comments...