प्रदेश संसदका सभामुखले बदलेनन् दल, दल रोज्ने विषयमा अध्यादेश मौन


काठमाण्डौ । राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रावधानअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आज साँझ ५ बजेसम्ममा दल रोजिसक्नपर्ने थियो । ७७ जिल्ला र सातवटै प्रदेशमा एमाले र जसपाबाट प्रतिनिधित्व गर्ने दलले कुन दलमा जाने भनेर निर्वाचन कार्यालय पुगेर सनाखत गरिसकेका छन् ।

तर, प्रदेशसभाका सभामुखहरुले भने दल रोज्ने विषयमा चासो नै दिएनन् । सभामुखमा निर्वाचित भएपछि दलीय सदस्यता त्याग गर्नुपर्ने व्यवस्था भएपनि निर्वाचन आयोगको रेकर्डमा भने निर्वाचित भएको दलकै सदस्यता कायम रहन्छ ।

सभामुखहरुले दल नरोजेपछि अब सातमध्ये एमालेका चारजना र जसपाका एकजना सभामुखको दलीय हैसियत साविककै कायम हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ का सभामुख प्रदीप भण्डारी, बाग्मतीका सानुकुमार श्रेष्ठ, कर्णालीका राजबहादुर शाही र सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापा एमालेबाट निर्वाचित भएका हुन् । उनीहरू नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन कार्यालय पुगेनन् ।

प्रदेश २ का सभामुख सरोज यादव तत्कालीन राजपाबाट निर्वाचित हुन् । उनीपनि सनाखतका लागि निर्वाचन कार्यालय गएनन् ।

सभामुखहरूले स्वतन्त्र हैसियतमा रहेकाले सनाखत गर्न नपर्ने बताएपनि निर्वाचन आयोगले भने सनाखत नभए निर्वाचित हुँदाको दल नै निर्वाचन आयोगको रेकर्डमा रहने बताएको छ ।

यो विषयमा सभामुख र आयोगको फरक फरक धारणा आएपनि सरकारले ल्याएको अध्यादेश भने मौन छ । न्युजकारखाना


Loading comments...