तनहुँका १३ जनप्रतिनिधिद्वारा एमाले परित्याग


तनहुँ । तनहुँमा १३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । मंगलबारसम्म निर्वाचन आयोगले पार्टी रोज्ने समय दिएको थियो । जिल्लाका १३ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एकीकृत समाजवादी रोज्ने पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य छन् ।

शुक्लागण्डकी नगरपालिकाका चार र व्यास नगरपालिकाका एक जना वडाध्यक्षले एकीकृत समाजवादीको पक्षमा सनाखात गरेका छन् । शुक्लागण्डकी नगरपालिका–११ मा निर्वाचित पाँच जना जनप्रतिनिधिले एमाले परित्याग गरी समाजवादीमा लागेका छन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने शुक्लागण्डकी–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री, ११ का वडाध्यक्ष दलबहादुर थापा र व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्व न्यौपाने छन् ।

शुक्लागण्डकी–५ का वडा सदस्य थमबहादुर थापा, वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, वडा नम्बर ११ कि दलित महिला सदस्य डोलमाया विक, रिताकुमारी भुजेल थापा, सानुमाया महत र थमन आलेले एमाले परित्याग गरेका छन् ।

यस्तै, व्यास–४ का वडा सदस्य मनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका–६ का वडा सदस्य सञ्जय गुरुङ पनि समाजवादीमा खुलेका छन् । वडा तहबाट एमाले परित्याग गरेका यी जनप्रतिनिधि त्यति प्रभावशाली मानिँदैनन् ।

तनहुँका १० स्थानीय तहमध्ये प्रमुख र उपप्रमुखमा एमालेबाट ३/३ जना निर्वाचित भएका थिए । प्रमुख उपप्रमुख भने मुलघरमै बसेका छन् । यसअघि एमालेमा माधव कुमार नेपाल पक्षधर भनेर चिनिएका घिरिङ गाउँपालिका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल पनि पार्टी विभाजनपछि संस्थापन एमाले नै रोजेकी छन् ।
१० स्थानीय तहका ८५ वडामा एमालेका एक सय ८१ जना निर्वाचित भएर जनप्रतिनिधि बनेका थिए । अब एक सय ६८ जना जनप्रतिनिधि मुल पार्टीमा रहेका छन् ।

गण्डकी प्रदेशसभामा एमालेबाट तनहुँका दुई जना निर्वाचित भएका थिए । दुवै जना संस्थापन पक्षमा अडिग देखिए । गण्डकी प्रदेशमै एकीकृतका सांसद शून्य छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) र समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य कलिला खातुन समाजवादीमा लागेका छन् । केपी ओलीनिकट मानिएका किसान समाजवादीमा लागेकाले उनको प्रभावका कारण जिल्लामा थोरै भए पनि संस्थापन पक्षलाई प्रभाव पार्ने आंकलन हुन थालेको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य केदार सिग्देल भने संस्थापन पक्षमै छन् । १५ भदौदेखि पार्टी सनाखत गर्न निर्वाचन आयोगले समय दिएको थियो । न्युजकारखाना


Loading comments...