अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको जित, पपुवा न्युगिनी २ विकेटले पराजित


रमेश सुवेदी/न्युजकारखाना । काठमाण्डौ । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानको मस्कटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए ।

पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए । नोसाइना पोकनाले एक विकेट लिए ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो । २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे ।

यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो । ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए ।

नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो ।

पीएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए । उनले ३८ बल खेले । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन जोडे । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगा र सेसे बाउले समान १४/१४ रन जोडे ।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै कुशल मल्ल र डेब्यु खेलाडी विक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए । यस्तै डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडनसहित २ विकेट लिए । यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे । ७ ओभर बलिङ गरेका सोमपालले ३७ रन खर्चेर १ विकेट लिएका थिए ।

यसअघि दोस्रो ओभरको पहिलो बलमै विक्रमले पीएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गरेका थिए ।

पीएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी र करण केसीलाई आराम दिएको छ ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो ।

नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।


Loading comments...