केपी ओलीको आरोप : हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो । बहुत दुःखको कुरा हो यो । हाम्रो पार्टीभन्दा बाहिरबाट मात्रै त्यो सम्भव थिएन,’ उनले भने, ‘हाम्रै पार्टीभित्र घुसपैठ गरे । हाम्रै पार्टीभित्रका हरिया साँपहरुलाई प्रयोग गरेर हामीलाई डस्ने काम भयो । त्यसकारण आज हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं ।’

माधव नेपाल कुहिएका फर्सी हुन्
एमालेका पूर्ववरिष्ठ नेता माधव कुमार नेपालकै कारण ठाउँठाउँमा एमाले सरकार ढालेर प्रतिक्रियावादीको हातमा सत्ता सुम्पिने काम भएको उनको टिप्पणी छ । ‘एमाले कहीँ छ भने त्यसलाई हटाउने काममा माधव नेपाल लागेका छन् । प्रदेश १ को सरकार ढाल्न माधव नेपाल लागेका छन् । बाग्मतिको सरकार ढाल्न माधव लागेका छन्,’ उनले भने, जताततै नेपालले पार्टी सिध्याउने काम गरे । उनी त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके । एउटा कुपात्रले कुलको नास गर्छ । उनी एमालेका कुपात्र हुन् ।’

मंगलबार पोखरामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेसँग चुनाव लड्न सबै पार्टी एकजुट भएर आउन चेतावनी दिए । ‘माधव नेपाल पार्टीमा अडिनै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफोरी नसक्ने । जिल्लाजिल्ला र पालिका पालिकामा पुगेर हाम्रा जनप्रतिनिधिलाई कसरी बिर्गान सकिन्छ ? यो दिउँला, उ दिउँला भनेको छ । मेयरको उम्मेदवार दिउँला भनेको छ । मेयरको उम्मेदवार भएर के गर्ने ? जित्ने त एमालेले मात्रै हो,’ उनी भन्छन्, ‘कांग्रेस हामीसँग लड्न आँट गरिरहेको छैन । अब माधव नेपाल प्युसो, उम्रिन पाएको छैन, एमालेसँग मुक्काबिला गर्ने शोख ? नेकपा एमाले संकल्प बोकेको पार्टी हो ।’

माधव नेपाल र प्रचण्ड मिलेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै ओलीले त्यसलाई एमालेभित्रका युवापंक्तिले मसाल आन्दोलनबाट जोगाएको बताए ।‘त्यही पार्टीमा बस्ने, त्यही पार्टीको अध्यक्षविरुद्ध पुत्ला जलाउने । त्यहि पार्टीलाई ध्वंस गर्ने । त्यही घरमा बस्ने, त्यही घरमा आगो लगाउने । एकीकरणको बाटो छोडेर गुटबन्दी गरियो । पार्टी कब्जा गर्ने र प्रतिक्रियावादीहरुको पाउमा लगेर पार्टीलाई चढाउन खोजियो,’ उनी भन्छन्, ‘प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गरे । पार्टी कार्यकर्तालाई धन्यवाद, उनीहरुले पार्टी कब्जा गर्दा पनि एमाले कब्जा हुँदैन भनेर देशलाई सन्देश दिनुभयो । त्यस्तो परिस्थितिमा पनि आन्दोलन गरेर पार्टी जोगाउनुभयो ।’

उनले अमेरिकालेसमेत आफ्ना नागरिक जोगाउन नसकेको अवस्थामा आफ्नो सरकारले कोरोनाबाट नागरिकको सुरक्षा गरेको दावी गरे । ‘अमेरिकाजस्तो देशले नागरिक बचाउन सकेन । भुसुक्कै भए त्यहाँ कति लाख मान्छे,’ उनले भने, ‘नेपालमा महामारीले त्यतिसारो लपेट्न पाएन । हामीले अनेक उपचार विधि र पद्धति अपनायौं । घरेलु औषधिको प्रयोग गर्न भन्यौं ।’
ओलीले सर्वोच्च अदालतको गलत फैसलाले अस्थिरता निम्तिएको संकेत गरे । ‘अदालतले जे पनि फैसला गर्छ, मान्नु पर्छ । मान्नपर्ने भएपछि अदालतले संसद पुनःस्थापना गर्दियो,’ उनले भने, ‘एउटा साधारण नियम छ, अदालतको । संविधानमा जेसुकै लेखोस्, कांग्रेसले विघटन गरे सदर, एमालेले गरे बदर ।’ संसारमा अदालतले प्रधानमन्त्री नियुक्त गरेको कुनै रेकर्ड नभएको भन्दै नेपालमा अचम्म भएको तर्क गरे ।

उनले वर्तमान सरकारले नेपालको सार्वभौमसत्ता र नागरिकको सुरक्षा गर्न नसकेको आरोप लगाए । ‘दिनदिनै विदेशी हेलिकोप्टर नेपालको आकाशमा उड्छ । के कारण हो ? तुइन चुँडाएर नेपाली मारेका छन्, सरकार किन बोल्दैन ?,’ उनले भने, ‘अफगानिस्तानमा आफ्ना नागरिकहरु अलपत्र छन् । उद्धारको प्रयास किन भएन ? एकचोटी तालिवानसँग फोन गरेर आफ्ना नागरिक ल्याउन जहाज पठाउनुपर्दैन ?’


Loading comments...