सामूहिक हत्या प्रकरण: प्रदेश प्रहरी प्रमुख र सीआईबीको टोली घटनास्थलमै


भविन कार्की/संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण रहस्यमयी बन्दै गएको छ । घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।

हत्या प्रकरण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए ।

प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।

हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।

अनुसन्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घटनास्थल आइपुगेको हो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।


Loading comments...