साैर्या सिमेन्ट उद्योग हाताभित्र चालकको शंकास्पद मृत्यु, परिवारले लगायो हत्याको आरोप


सिरहा । सिरहाको मिर्चैयास्थित साैर्या सिमेन्ट फ्याक्ट्रीका एक सवारी चालकको शंकास्पद मृत्यु भएको छ । मिर्चैया नगरपालिका-२ मा रहेको साैर्या सिमेन्ट उद्योग हाताभित्र बुधबार अपराह्न गर्मीको समयमा ट्रकको तल सुतिरहेको अवस्थामा चालक मिर्चैया-३ का २४ वर्षीय सन्तोष उराउको ट्रकले किचेर मृत्यु भएको भनिए पनि परिवारले हत्या भएको आरोप लगाएका छन् ।

गर्मी छल्न ट्रक तल सुतिरहेका बेला ट्रक चलाएपछि किचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले बताए । अरुले चलाउने ट्रकको तल गर्मी छल्न सुतिरहेको बेला चालकले ट्रक चलाएपछि किचेर घाइते भएपछि उपचारको क्रममा स्थानीय मंगलम हेल्थ केयर सेन्टरमा मृत्यु भएको डिएसपी श्रेष्ठकाे भनाइ छ । प्रहरीले घटनामा संलग्न चालक र ट्रकको विवरण खोजीकार्य भइरहेको जनाएको छ ।

मंगलम अस्पतालका सञ्चालक चन्देश्वर साहकै ट्रकले किचेर घाइते भएकाले अस्पतालले नियतवश आफ्नो भतिजाको हत्या गरेको मृतकका काकी सूफलदेवी उराउले आरोप लगाइन् ।परिवारले उपचारमा धेरै खर्च लाग्न सक्ने डरका कारण हत्या गरेको आरोप लगाएका छन् । मृतक चालक दुई महिनाअघिदेखि उनकै अर्को ट्रक चलाउँदै आएका थिए ।

सन्तोषका परिवारले छातीमा टायरको डाम देखिए पनि पिडुँलामा धारिलो हतियारले काटिएको जस्तो देखिएको भन्दै घटना रहस्यमय भएको बताएको छ ।

अस्पतालमा ल्याइसकेपछि कुन कुन औषधि चलाए, कुन चिकित्सकले उपचार गरेको हो सोको लिखित जानकारी नदिएसम्म शव बाहिर निकाल्न नदिने भन्दै आफन्तहरू अस्पताल अगाडि धर्ना बसेका छन् । अस्पतालले घटनाबारे अझै आधिकारीक जानकारी गराएको छैन । शव पोष्टमार्टमका लागि लहान पठाएको प्रहरीले जानकारी दिएको छ । न्युजकारखाना


Loading comments...