ऋषि पञ्चमीको दिन विशेष व्रत कथा बिना पूरा हुनेछैन व्रत, व्रत कथा और मन्त्रबारे थाहा पाउनुहोस्


ऋषि पञ्चमी (Rishi Panchami) कुनै पर्व या त्यहार हैन, यस दिन कुनै देवी-देवताको पूजा गरिदैन । ऋषि पञ्चमीको दिन सप्तऋषिहरुको पूजा-अर्चना (Sapta Rishi) गर्ने गरिन्छ । सप्तऋषि या सप्तर्षिको अर्थ हो सातजना ऋषिहरु । यी सातै ऋषि प्राचीनकालमा सनातन हिन्दु धर्म तथा वैदिक धर्मको प्रवर्तक तथा संरक्षक हुनुकासाथै गुरुहरुका पनि गुरु मानिन्छ । सप्तऋषिहरुबारे वेद तथा अन्य हिन्दू ग्रन्थहरुमा उल्लेख गरेको भेटिन्छ । वैदिक संहितामा यी ऋषिहरुको संख्या बारे कुनै विवरण उल्लेख नभएपनि उपनिषदमा सप्तर्षि सम्बन्धमा विस्तारले ब्याख्या गरिएको छ ।

को हुन वैदिक धर्मको प्रवर्तक तथा संरक्षक ति सातजना ऋषिहरु?
वेदहरुको अध्ययनको क्रममा ति सातैजना ऋषिहरु तथा वहाँहरुको कुलको सम्बन्धमा जानकारी प्राप्त हुन्छ । वहाँहरु सातैजनाको नाम होः वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, अत्रि, वामदेव तथा शौनक । तर पुराणहरुमा भने ऋषिहरुको नाममा केही विविधता भेटिन्छ । विष्णु पुराणमा ‘मन्वन्तर’को भनाई उद्धृत गर्दै सात ऋषिहरुको नाम यसरी उल्लेख गरिएको छः वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र तथा भारद्वाज ।

यसका साथै पुराणमा केही फरक नामसहितको विवरण पनि देख्न सकिन्छ, जसमा केतु, पुलह, पुलस्त्य, अत्रि, अंगिरा, वशिष्ठ तथा मरीचि नाम गरेका ऋषिहरको नाम उल्लेख गरिएको छ । महाभारतमा ऋषिहरुको नामको दुइवटा समूह उल्लेख गरिएक छ । पहिलो समूहमा क्रमशः कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ लगायतको नााम उल्लेख छ भने दोस्रो समूहमा क्रमशः कश्यप, वशिष्ठ, मरीचि, अगिरस, पुलस्त्य, पुलह तथा क्रतु नाम गरेका ऋषिहरुको नाम उल्लख गरिएको छ । केही पुराणमा कश्यप तथा मरीचि भनेको एकै ऋषि हुन भन्ने पनि मानिएको छ भने कश्यप तथा कण्वलाई पनि एकअर्काको पर्यायवाची झै मानिएको छ ।

सातैजना ऋषिहरुको परिचय संक्षेपमा
१) ऋषि वशिष्ठः ऋषि वशिष्ठ मुनि राजा दरशरथका कुल गुरु हुनुहुन्थ्यो । ऋषि वशिष्ठ राजा दशरथका चारजना छोराहरु राम, लक्ष्मण, भरत तथा शत्रुघ्नको गुरु हुनुहुन्थ्यो । ऋषि वशिष्ठकै आग्रहमा राजा दशरथले आफ्ना चारैजना छोरालाई ऋषि विश्वामित्रको आश्रममा आएर दुःख दिरहने असुर/राक्षसहरुको वध गर्नका लागि पठाएका थिए ।

२) ऋषि विश्वामित्रः ऋषि विश्वामित्र मुनि मात्र थिएनन उनी राजा पनि थिए । हिन्दू ग्रन्थहरुमा उनिसँग सम्बन्धीत एउटा कथा धेरै चर्चित छ । त्यस कथामा ऋषि विश्वामित्रले ऋषि वशिष्ठको कामधेनु गाई कब्जा गर्नका लागि युद्ध गरेका थिए । त्यस युद्धमा ऋषि विश्वामित्रले ऋषि वशिष्ठबाट हारको सामना गर्नुपरेको थियो । ऋषि विश्वामित्रले संकल्प लिएको घोर तपस्यालाई मेनका नाम गरेकी अप्सराद्वारा भङ्ग गरेको कथा धेरै प्रचलित छ ।

३) ऋषि कण्वः ऋषि कण्वको बारेमा एउटा विशिष्ठ वैदिक कर्मको सुरुवात गरेको प्रसङ्ग धेरै ठाउँमा उल्लेख भएको पाईन्छ । उनले सनातन वैदिक हिन्दू रीति-रिवाजहरुमा सबैभन्दा महत्वपूर्ण यज्ञ ‘सोमयज्ञ’को शुरुवात गरेका थिए । ऋषि कण्वको आश्रममा नै हस्तिनापुरका ‘राजा दुष्यन्त’की श्रीमति शकुन्तला तथा उनका छोरा भरतको पालन-पोषण भएको थियो ।

४) ऋषि भारद्वाजः ऋषिहरुमा ऋषि भारद्वाजलाई सबैभन्दा श्रेष्ठ स्थानमा राखिएको छ । अथर्ववेदमा भारद्वाजको २३ वटा विशिष्ठ मन्त्रहरु भेटिन्छ । भारद्वाज स्मृति तथा भारद्वाज संहिताको रचयिता ऋषि भारद्वाज नै थिए । ऋषि भारद्वाजले ‘यन्त्र सर्वस्व’ नाम गरेको ग्रन्थको रचना गरेका थिए ।

५) ऋषि अत्रिः ऋषि अत्रि ब्रह्माका छोरा, सोमको पिता, कर्दम प्रजापति तथा देवहूतिकी सुपुत्री अनुसूयाका श्रीमान् हुन् । कृषिको विकासका लागि ऋषि अत्रिको योगदान सबैभन्दा विशिष्ट छ । ऋषि अत्रिको बारेमा एउटा जनविश्वास छ, तयो के हो भने उनी लगायत उनका सन्तती सिन्धु नदि पारगरेर उतिबेलाको ‘पारस’ अर्थात वर्तमानमा परिचित ‘ईरान’ गएका थिए । जहाँ उनले हिन्दू यज्ञहरुको प्रचार गरेका थिए । ऋषि ऋषिकै कारण नै ‘पारसी धर्म’को सूत्रपात भएको हो ।

६) ऋषि वामदेवः ऋषि वामदेवलाई सङ्गीतको सूत्रपात गर्ने व्यक्तित्वको रुपमा जान्ने गरिन्छ । ऋषि वामदेव ‘गौतम ऋषि’ का छोरा थिए । ऋषि वामदेवलाई ‘जन्मत्रयी’को तत्ववेत्ता मानिएको छ ।

७) ऋषि शौनकः ऋषि शौनकले दस हजार विद्यार्थिहरुका लागि गुरुकुल संचालन गरेका थिए । उक्त विशाल गुरुकुल व्यवस्थाका लागि उनलाई कुलपतिको सम्मान दिइएको छ । वैदिक सनातन हिन्दू धर्ममा ऋषि शौनक बाहेक अन्य सकैलाई पनि यो सम्मान दिइएको छैन ।

ऋषि पञ्चमीको कथा (Rishi Panchami Story)
‘भविष्यपुराण’को अनुसार, एकजना उत्तक नाम गरेका ब्राह्मण आफ्नी श्रीमति सुशीलाका साथ बस्दथे । दुवैका एक छोरा तथा एक छोरी थिए । दुवै विवाहयोग्य थिए । ब्राह्मण उत्तकले छोरीको विवाह सुयोग्य वरका साथ गरेका थिए, तर केही दिनपछि उनको श्रीमानको अकालमृत्यु भयो यसपछि ब्राह्मण उत्तककी छोरी माइती आइपुगिन् । एकदिन विधुवा छोरी सुतीरहेको स्थानमा माता सुशीला पुगिन र देखिन की छोरीको शरीरबाट कीरा उत्पन्न भईरहेको छ । छोरीको यस्तो अवस्था देखेर ब्राह्मण उत्तकको श्रीमति सुशीला व्यथित भइन् । छोरीलाई उत्तक भएको स्थानमा लिएर आइन् र छोरीको हालत बयान गर्दै भनिन, “हे प्राणनाथ! मेरी यो साध्वी छोरीको यस्तो गति कसरी भयो?”

ब्राह्मण उत्तकले ध्यानदृष्टि लगाए पश्चात पत्ता लगाए कि पूर्वजन्ममा उनको छोरीले ब्राह्मणकै घरमा जन्म लिएकी थिइन्, तर राजस्वलाको समयमा उसले पूजाभाडा छोएकी थिइन् । त्यस दोषबाट मुक्ति पाउनका लागि उनले ऋषि पञ्चमीको व्रत पनि गरेकी थिइनन् । यस कारण उनलाई यस जन्ममा शरीरमा कीरा पर्यो । फेरी बुवाले बताए अनुसार छोरीले यस जन्ममा यि कष्टहरुबाट मुक्ति पाउनका लागि पञ्चमीको व्रत गरिन् । यो व्रत राख्नाले ब्राह्मण उत्तककी छोरीलाई अटल सौभाग्य प्राप्त हुनुका साथै कष्टहरुबाट पनि निदान मिलेको थियो ।

ऋषि पञ्चमीमा वाचन गरिने मन्त्र
कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोय गौतम:।
जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:।।
गृह्णन्त्वर्ध्य मया दत्तं तुष्टा भवत मे सदा।।

ऋषि पञ्चमीमा पूजाका दौरान यो मन्त्रको उच्चारण शुभ मानिन्छ । व्रतको दिन जति हुन सक्छ त्यति भगवानलाई सम्झिनुपर्छ । साथै ऋषि मुनिहरुको मन्त्रको जाप, ध्यान इत्यादि गर्नाले पनि विभिन्न दोष तथा कष्टहरुबाट मुक्ति प्राप्त गर्न सकिन्छ ।


Loading comments...