पीडा अन्तर


हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने काम पनि उसैको हो। सा’ब भित्र पसे की बाहिर निस्के, हर्षबहादुरले ध्यानपूर्वक हेर्नुपर्दछ अनि “भित्र/बाहिर” को साइनबोर्ड त्यसै अनुसार मिलाइदिनुपर्दछ। यसबाहेक रजिष्टरहरु यो टेबुलबाट त्यो टेबुलमा राखिदिनु पनि उसैको दायित्वभित्रको कार्य हो।

तोकिएका कार्यहरु गरिरहेकै क्रममा थकाइ लागेपछि हर्षबहादुर भर्याङ् मुनी बस्छ। चुरोटको लामो सर्को तान्छ अनि धूवाँ आकाशतिर फाल्दै केही सोच्नमा तल्लिनझैँ देखिने गर्दछ प्राय: सधैजसो। कसैले ऊतिर हेर्दा ऊ मुसुक्क हाँस्छ। सन्तुष्टिको मुहानबाट निस्केको उसको मुस्कानमा कुनै ग्लानी वा पीडा लुकेको लाग्दैन। दस ठाउँमा च्यातिएको कोट लगाउँदा देख्नेहरुलाई लाज लागे पनि उसलाई लाजमात्रै होइन असजिलो पनि लाग्दैन र कुनै पीडाले पनि छुदैन। ऊ जुनबेला पनि हाँसिरहेको हुनाले त्यस्तो अनुमान गर्न सकिन्छ।

लेखकः विश्वराज अधिकारी

को कति छिटै धनी भयो अनि कोसँग कति कस्ता सम्पत्ति छन् जस्ता डाहा र महत्वाकांक्षा मिश्रित कर्मचारीहरुको बकमफूसे गफमा उसको कुनै दिलचस्पी रहँदैन। आफ्ना अति दयनीय आर्थिक स्थितिलाई सार्वजनिक हुन दिएको छैन। बिहे भएकै महिनामा बाबुआमाले घरबाट निकालिएदिएपछि पाटीमा बस्दै आएको कुरा हाकिमबाहेक अरुलाई सुनाएको छैन उसले। हाकिमलाई पनि ‘अरुलाई नभनीदिनू’ भन्ने शर्तमा भनेको छ।

हिजो बिहानै हाकिमले व्यङ्ग गरेका थिए ‘हर्षे तिमीहरुले बच्चा उत्पादन गर्ने कारखान नै चलाएका छौ कि क्या हो? अस्ति जन्मेको बच्चा कतिऔ हो नि’?

हाकिमको प्रश्नको उसले लाज मान्दै उत्तर दिएको थियो ‘पाँचौ सर’।

हाकिमले फेरि प्रश्न गरेका थिए ‘होइन, ए हर्षे, कसरी चलाउँछस् तँ घर खर्च यति थोरै आम्दानीले?’

हर्षबहादुरले हाँस्दै उत्तर थियो ‘भगवान् ले मुख भने एउटा हातचाहिँ दुई ओटा, सँगसँगै दिएर पठाएका हुन्छन्। कुनै उपाय त निस्किहाल्छ नि, सर’।

हाकिम, यो बैंकमा कार्यालय प्रमुख भइ सरुवा भएर आएको पाँच बर्ष भयो। यो पाँच बर्षमा, आफ्नो सामु पर्दा हाकिमले विभिन्न किसिमले हेरे हर्षबहादुरलाई।

कहिले, अति दु:खमा पनि हाँस्न सक्ने महामूर्ख, कहिले दु:ख अनुभूत गर्न नसक्ने यन्त्रमानव, कहिले, जसरी भए पनि कमाएर सुखी जीवन बिताउने चाहना नभएको स्वाँठ।

हर्षबहादुरको व्यक्तित्वको निष्कर्ष हाकिमले यस प्रकार निकालेका थिए- नालीको किरा, नालीमै जन्म हुन्छ, नालीमै हुर्किन्छ अनि नालीमै मृत्यु। सुख र दु:खबीचको अन्तर बोध नभएको। अर्थहीन जीवन।

यस बैंकमा, बिहान नौ-दस बजेदेखि नै खैलाबैला मच्चिएको थियो। कार्यालय प्रमुख अर्थात् हाकिम साहेबलाई बाहिरबाट आएका अधिकारीहरुले कार्यालय भित्र नै घुस लिँदै गर्दा समातेका थिए। र, यो खबर बैंकभरि एकै छिनमा फैलिएको थियो, जङ्गलमा लागेको आगोझैँ।

हाकिमले घुस खाएका प्रमाणहरु सङ्कलन भएपछि एघार बजेतिर उनलाई अघि लगाउँदै ती अधिकारीहरु भवन बाहिर निस्कन लम्के। हाकिमले देखे हर्षबहादुर पूर्ववत् ठाउँमा बसेर चुरोट तान्दै थियो। मुहारमा उसको कुनै किसिमको चिन्ता, फिक्री अनि डाहा थिएन सदाझैँ। त्यो दिन, त्यतिखेर भने हाकिमलाई हर्षबहादुरको हँसिलो मुहार र चिन्तामुक्त स्थिति अर्थहीन लागेन। अनि जीवन नै पनि।


Loading comments...