चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसिसी उपाध्यक्ष


काठमाण्डौ । अमेरिकी सहायता परियोजना (एमसिसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन् ।

नेपालमा एमसिसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन् ।

चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् । भेटमा एमसिसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन ।

काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन् । ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले धारणा सार्वजनिक गर्ने भन्दै एमसिसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए । यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसिसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए ।

सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन् । सुमारले प्रचण्डलाई शुक्रबार भेटेकी थिइन् । प्रचण्डले ‘एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीच सहमति बनाएर अगाडि बढ्न सकिने’ जवाफ फर्काएका थिए ।

एमसिसीबारे कांग्रेसभित्र त्यतिधेरै मतभेद छैन । सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलहरुबीच सहमति गरेर एमसिसी सदनबाट पारित गराउने बचन दिएका छन् ।

सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी छन् । उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन । न्युजकारखाना


Loading comments...